भैरहवा विमानस्थलमा राख्न लागिएको साढे २ अर्बको बुद्धको मूर्तिमा के छ खास ?

भैरहवा विमानस्थलमा राख्न लागिएको साढे २ अर्बको बुद्धको मूर्तिमा के छ खास ?

बुटवलः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्ब रुपैयाँभन्दा बढीको मूर्ति राखिने तयारी छ। विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ। 

बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो।

लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा ल्याइएको यो मूर्ति एक हजार ८ सय किलोग्राम छ। 

शान्तिका प्रतीक सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार विश्वभर होस् भन्ने उदेश्यले चार वर्ष पहिले स्पेनमा स्थापना गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनको सहयोगमा यो मूर्ति भैरहवा विमानस्थलमा राख्न लागिएको हो। 

मूर्तिको मूल्य दुई करोड १६ लाख अमेरिकी डलर पर्छ। हङकङमै पनि एक ग्राम ‘ह्वाइट जेड स्टोन’ को मूल्य १२ अमेरिकी डलर पर्छ। 
मूर्ति म्यानमारका खानी उद्योगीले उपलब्ध गराएकाले फाउन्डेसन वा नेपाल सरकार कसैको नगद लगानी भने नभएको फाउन्डेसनका महासचिव एकराज गिरीले बताए। 

उनका अनुसार म्यान्मारबाट नेपाल ल्याउँदा लाग्ने ढुवानी खर्च भने फाउन्डेसनले व्यहोरेको हो। मूर्ति १२ हजार अमेरिकी डलर ढुवानी चार्ज तिरेर म्यान्मारबाट नेपाल ल्याइएको हो। भन्सार शुल्क भने नेपाल सरकारले छुट दिएको छ।

बुद्धमूर्ति यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम छ। त्यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित शान्तिको कामना गर्न स्पेनको एक्स्ट्रेमादुरा प्रदेश सभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र अन्य दुई जना मन्त्रीसहितको विशेष प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम छ। 

मूर्ति राख्नका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले टर्मिनल बिल्डिङ अगाडिको बगैंचामा बेस निर्माण गर्न सुरू गरेको छ। 

बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले बनाएको हो। यो एक दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ।

कात्तिक ५, २०७८ शुक्रबार १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।