हिजोका कुरामा नायिका शर्मिला मल्ल : वर्षौंदेखि मनमा सजाएको हिरो एकाएक भिलेन बनेपछि...
शर्मिला शाहको नामबाट नेपाली रजतपटमा प्रवेश गरेकी उनी चलचित्र ‘कान्छी’ पछि त कान्छीकै नामले समेत परिचित भइन्।
०००
पाल्पाको तानसेनमा जन्मिएकी शर्मिलाले पाँच वर्षको उमेरसम्म मात्रै जन्मस्थानमा बस्ने मौका पाइन्। उनका बुबा आर्मी भएकोले कहिले कहाँ त कहिले कहाँ सरुवा भइरहने। त्यही सिलसिलामा उनको परिवार पाल्पाबाट बुटवल झर्यो। तानसेनको अलिअलि मात्र सम्झना मात्रै छ उनलाई।
नर्सरी, केजी पढ्दादेखि नै स्कुलबाट स्टेजहरुमा नाँच्न पुग्ने शर्मिलालाई बाल्यकालमा प्राप्त गरेको शिल्ड र पदकहरुको थोरै सम्झना छ।
पाल्पाबाट बुटवल झरेपछि कक्षा चारसम्म त्यहीँ पढेकी उनी पढाइमा भन्दा अतिरिक्त क्रियाकलापमा बढी सक्रिय थिइन्। बुटवलमा सुनिता श्रेष्ठ नामकी मितिनी थिइन् शर्मिलाको। चार कक्षामा पढ्दा शर्मिलालाई एक जना केटाले जिस्काएको मात्र के थियो, मितिनीले त्यो केटालाई बेस्सरी पिटेको सम्झिन्छिन् उनी।
शर्मिलाका बुबाको दुई श्रीमती थिए। पहिली श्रीमती मगर समुदायकी भएकोले घरबाट ठकुरी समुदायबाटै विवाह गर्नुपर्छ भन्ने दबाब आएकाले बुबाले उनकी आमासँग विहे गरेका थिए।
ठूली आमाबाट दुई दिदी र दुई दाजु र उनको आमाबाट शर्मिला र एक दाजु थिए। कान्छी छोरी भएकोले उनी सबैकी प्यारी थिइन्। बुबाको त सबैभन्दा प्यारी छोरी नै उनै हुन्। ठूली आमाले पनि अरु सन्तानको तुलनामा बढी नै माया गर्थिन्।
०००
केही वर्ष बुटवल बसेपछि शर्मिलाको स–परिवार काठमाडौं, डिल्लीबजारमा घर बनाएर बस्न थाले। शर्मिलाले कक्षा ५ देखि डिल्लीबजारको कन्या स्कुलमा पढिन्। पढाइमा भन्दा उनको ध्यान साहित्य र नाटकहरुतिर बढी थियो। उनी औसत विद्यार्थीमा पर्थिन्। स्कुलमा पढाइमा खासै राम्रो नभए पनि सफा–सुग्घरको पुरस्कार भने उनैको हातमा पर्थ्यो। पहिलेदेखि नै उनी सफा–सुग्घर भएर चिटिक्कै परेर हिँड्न मन पराउँथिइन्।
काठमाडौं आएदेखि नै शर्मिलालाई रेडियो नेपालबाट शनिबार साढे एक बजे प्रसारण हुने नाटक सुन्ने बानी बस्यो। त्यो नाटक सुन्नको लागि उनी हप्ता दिनसम्म केरेर बस्थिन्। नाटकमा सुनिने कृष्ण मल्लको आवाजबाट शर्मिला निकै प्रभावित थिइन्।
शर्मिला हरेक शुक्रबार साथीहरुसँग हिँड्दै रेडियो नेपाल पुग्थिन्। त्यहाँ उनी बाल कविता, बाल गीत, रुपक वाचन गर्थिन्। तत्कालीन बडामहारानीको जन्मत्सोवमा बाल गीत गाएर पुरस्कार पनि पाएकी थिइन् उनले। ‘रेडियोको बाल कार्यक्रममा भाग लिन जाँदा आमाले साह्रै गाली गर्नुहुन्थ्यो,’ उनी पुराना कुरा सम्झिन्छिन्, ‘तर मलाई कुनै काम मन परेपछि पछाडि फर्केने बानी थिएन। जति गाली गरे पनि शुक्रबार रेडियोमा जान छोडिनँ।’
७/८ कक्षामा पुगेपछि शर्मिला नाटक, भिडियो र चलचित्र हेर्न थालिन्। त्यतिबेला ठमेल, बौद्घका भिडियो पार्लरमा गएर भिडियो हेर्ने, भक्तपुर तथा पाटनसम्म पुगेर हलमा चलचित्र हेर्ने गर्छन्। कहिलेकाहीँ एउटै भिडियो पार्लर र हलमा दाइसँग भेट हुन्थ्यो। दाइले आमालाई कुरा लगाएर बेस्सरी पिटाइ पनि खान्थिन्।
तर, उनलाई पिटेको वा गाली गरेको बुबाले थाहा पाए भने घरमा जात्रै हुन्थ्यो। शर्मिला रोएपछि बुबाले ५ देखि १०/१५ रुपैयाँसम्म दिएर फकाउनुपथ्र्यो। त्यही रोएवापत पाएको पैसाले उनी साथीहरु बटुलेर चलचित्र हेर्न पुग्थिन्। कति पटक त स्कुलबाटै भागेर हलतिर पुग्थिन् शर्मिला।
‘कयौं पटक स्कुलको झोलामा कपडा हालेर लैजान्थें र साथीको घरमा गएर फेरेर हलमा पुग्थें,’ उनी हौसिँदै सुनाउँछिन्, ‘चलचित्र र नाटक हेर्ने नशाले मलाई मज्जाले छोएको थियो।’
त्यतिबेला एउटै चलचित्र महिनौं चल्थ्यो। शर्मिला एउटै चलचित्र धेरै पटक हेर्थिन्। उनी भन्छिन्, ‘चलचित्र ‘सिन्दुर’ त धेरै पटक हेरेको छु। चलचित्रका हरेक डाइलग कण्ठ हुन्थे। चलचित्र हेर्दा कलाकार सँगसँगै म पनि डाइलग बोल्थें। त्यसरी डाइलग बोल्दा अरु दर्शक रिसाएर चुप लाग्न भन्थे।’
०००
शर्मिला १२ वर्षको हुँदा बुबा बिते। त्यसको केही समय उनलाई धेरै गाह्रो भयो, मन सम्हाल्न। ‘एक त सबैभन्दा माया गर्ने अभिभावक त्यसमाथि मेरो हरेक काममा सपोर्ट गर्ने बुबा हुनुहुन्थ्यो,’ उनी भावुक हुन्छिन्, ‘तर पनि सत्यलाई स्वीकार्नुभन्दा अर्को विकल्प पनि त थिएन। चलचित्रका डाइलगहरु सम्झेर आफूलाई सम्हाल्थें।’
१३ वर्षको उमेरमा उनी एक दिन फोटो कन्सर्नमा फोटो खिच्न पुगिन्। त्यो फोटो नै उनको टर्निङ प्वाइन्ट बन्यो। फोटो कन्सर्नका डिबी थापाले शर्मिलालाई देखेपछि तत्काल एभरेस्ट टुथपेस्टको विज्ञापनको लागि अफर गरे। उनले अभिनय गरेको टुथपेस्टको सो विज्ञापन हलमा चलचित्र सुरु हुनुअघि सधैं बज्थ्यो। त्यतिबेलासम्म उनी धेरैले चिन्ने फिगर बनिसकेकी रहिछिन्। तर उनलाई यसको अत्तोपत्तो थिएन।
०००
रेडियो नेपालको बाल कार्यक्रममा जाँदा अगाडि–पछाडि ‘कान्छी’ चलचित्रको लागि इनोसेन्स, गाउँले छवि भएकी नयाँ कलाकारको आवश्यकता भएको विज्ञापन बज्दोरहेछ। अभिनय गर्ने कुरा सोच्दै नसोचेकी शर्मिलालाई वासुदेव मुनाल, पाण्डव सुनुवारहरुले ‘तिम्रो लागि ठ्याक्कै मिल्छ जाऊ’ भन्थे। तर उनी ‘नजाने गाउँको बाटो नसोध्नु’ भन्दै पन्छिन्थिन्।
एक दिन शर्मिलालाई खोज्दै कलाकार जयनन्द ठाकुर रेडियो नेपाल आइपुगे। तर उनले आफूलाई फिल्ममा अभिनय गर्ने रुचि नभएको र घरबाट पनि नमान्ने बताएर जयनन्दलाई फर्काइदिइन्। केही दिनपछि उनको घरै खोज्दै घरमै आइपुगे जयनन्द। उनकी आमा र दाइसँग कुरा गरे। छोरीलाई चलचित्रमा अभिनय गराउने पक्षमा आमा हुनुहुन्नथ्यो।
दाइले आमालाई नसोधी शर्मिलालाई ओम प्रोडक्सन लगे। उनलाई भन्दा दाइलाई सो चलचित्रको कथा मन परेको थियो। त्यहाँ निर्देशक बिएस थापाले शर्मिलालाई तलदेखि माथिसम्म नियालेर केही डाइलग बोल्न लगाए। त्यहाँ भारतबाट चलचित्रका लागि आएको ठूलै टिमै थियो। उनलाई कलाकार टीका पहाडीलाई हेरेर केही डाइलग बोल्न भनिएको थियो। शर्मिलाले रेडियोको रुपकमा भनेको डाइलग सम्झेर त्यही डाइलग भनिन्। उनले डाइलग सक्नासाथ कोठाभरिबाट तालीको फोहोरा छुट्यो। निर्देशक थापाले ‘तिमी छानियौ, साइन गर’ भनेको शर्मिलालाई हिजो जस्तै लाग्छ।
‘दाइले आमालाई सम्झाउने जिम्मा लिएपछि आठ हजार रुपैयाँमा साइन गरेर कान्छी चलचित्रमा अनुबन्ध भएँ,’ उनले चलचित्रमा डेब्यु गर्दाको क्षण सम्झिइन्, ‘म त्यतिबेला जम्मा १४ वर्षकी थिएँ। त्यतिबेलासम्म मलाई केही थाहा नै थिएन। मलाई कान्छीका कलाकार शिव श्रेष्ठ र सुषमा शाहीले धेरै सहयोग गर्नुभयो।’
कान्छीको सुटिङको समय सम्झेर उनलाई अहिले पनि रमाइलो लाग्छ। सबैभन्दा सानी भएर सबैले धेरै नै माया गर्थे। उनको छिटो सुटिङ सकाएर सुत्न पठाइहाल्थे। गला लाग्छ भनेर भात सकभर खुवाँदैनथे। ‘राति रोटी खान दिन्थे। तर मलाई भातै चाहिने,’ उनी सुनाउँछिन्, ‘भान्सामा लुकेर भात खान जान्थें।’
शर्मिलाका लागि बिहानै मौसमी फलफूलहरु आइपुग्थे। तर उनलार्ई फलफूल पटक्कै मन नपर्ने। लुर्काएर सबै फलफूलहरु स्पट ब्वाईहरुलाई दिन्थिन्। उनी जहाँ पनि थचक्कै बसिदिन्थिन्। त्यसरी बसेको देख्यो कि कुर्सी र पंखा बोक्दै दगुरेर सहयोगीहरु आइपुग्थे। ‘मलाई टिममा महारानी जस्तै राखेका थिए,’ उनी भन्छिन्।
शिव श्रेष्ठ, सुषमा शाहीहरुको राति अबेरसमम सुटिङ हुन्थ्यो। सुटिङ सकेर टिम नै नाचगान गरेर रमाइलो गरिबस्थे। शर्मिला भने झ्याल र कौसीमा लुकेर हेरिरहन्थिन्। कसैले देख्यो भने सुत्न पठाइहाल्थे।
०००
बलिउडका चलचित्रमा निर्देशन गरेर नाम कमाइसकेका र नेपाली चलचित्र ‘माइतीघर’ को पनि निर्देशन गरेका बिएस थापासँग काम गर्ने मौका पाएकी शर्मिलालाई उमेरले होला खासै त्यसको महत्व थिएन। कान्छीको टिम नै भारतबाट झिकाइएका थिए।
टिममा दुई जना मेकअप म्यान थिए। सबै दादा–दादा भनेर मेकअप गराउँथे, केही बोल्दैनथे।
शर्मिलालाई मेकअपम्यानले मेकअप गर्दै थिए। ओठ रातै बनाइदिए। उनले पुछिन्। फेरि लगाइदियो, फेरि पुछिन्। धेरै पटक मेकअपम्यानले लिपिस्टिक लगाइदिने र शर्मिलाले पुछ्ने गरिरहिन्। त्यसपछि मेकअपम्यानले बिएस थापाकी श्रीमतीलाई शर्मिला मात्तिइन्, जति पटक लगाए पनि पुछिहाल्छिन् भनेर गुनासो गरेछ। श्रीमती थापाले पनि मेकअपम्यानको गुनोसो श्रीमान् सामु गरिछन्। त्यसपछि शर्मिला झनै रिसाइन्। निर्देशकलाई भाउजुले कुरा लगाउन मिल्छ? भन्दा निर्देशक थापाले टाउको समातेर बसेको क्षण सम्झँदा अहिले आफैंलाई नराम्रो लाग्छ। उनी भन्छिन्, ‘मलाई अहिले आएर छ्या, के गरेको होला जस्तो लाग्छ। बचपन नै थियो मेरो।’
०००
‘यी ओठ तिम्रो, मुस्कान मेरो’ गीतको बाँकी भागको सुटिङका लागि नक्सालमा सेट बनाइएको थियो। सबैलाई साँझ बोलाइएको थियो। तर शर्मिला भने आमासँग ३ बजेको सो चलचित्र हेर्न पुगिन्। चलचित्र सकेर सेटमा पुग्दा ढिला भइसकेको थियो। सबै जना शर्मिलालाई नै पर्खेर बसेका थिए।
निर्देशक थापाले शर्मिलालाई रिसाउँदै ‘चलचित्र रिलिज नै भएको छैन, आफूलाई सुपरस्टार सम्झेको?’ मात्रै के भनेका थिए, उनी ३ घण्टा बाथरुममा रोएर बसिन्। त्यसपछि निर्देशक थापाले ‘यो केटीलाई गाली गरेर केही काम गराउन नसकिने रहेछ’ भनेर पछि हटेको उनी सुनाउँछिन्।
०००
एक दिन शर्मिला साथीसँग नाचघरमा नाटक हेर्न गएकी थिइन्। नाटकमा आफूले हरेक शनिबार सुन्ने स्वर गुञ्जिरहेको थियो। रेडियोमा सुनिने कृष्ण मल्ल नै नाटकको मुख्य पात्र रहेछन्। नाटक सकिएपछि स्टेजबाटै कृष्ण मल्लले एभरेस्ट टुथपेस्टले दाँत माझ्यौ? भने भनेर उनलाई जिस्क्याए। शर्मिलाको मनमा वर्षौंदेखि हिरोको छवि बोकेका कृष्ण मल्ल एकाएक भिलेन छविमा बदलिए। जुरुक्क उठेर अबदेखि शनिबार नाटक नै सुन्दिनँ भनेर फटाफटी घर हिँडिन्। पछि प्रज्ञा भवनमा नाटक हेर्न जाँदा कृष्ण मल्लले ‘सरी है, अस्ति जिस्क्याउँदा रिसाउनुभयो कि’ भनेपछि उनीहरुबीचको मित्रता गाढा बन्दै गयो।
कृष्ण मल्लको टिमसँग ‘अँध्यारो उज्यालो’ नाटकको लागि पूरै रिहर्लसल गरेकी शर्मिलाले चलचित्र कान्छीको कामले अन्तिममा सो नाटकमा अभिनय गर्न पाइनन्। जसमा पछि चन्द्रमाला शर्माले अभिनय गरिन्।
रिहर्लसलपछि टिममै घुम्न जाने, चलचित्र हेर्न जाने क्रम चल्न थाल्यो। एक दिन सिनियर क्यामेराम्यान रत्नहजुर शेन लगायतका व्यक्तिहरु पशुपति घुम्न गएका थिए। कृष्ण मल्लले शर्मिलाले ‘तिमी मसँग विहे गर्छौ?’ भन्दा उनले स्वीकृति दिंदै ‘ठकुरीको छोरी बन्दुकको गोली, बोलेपछि फिर्ता हुन्न’ भनेर त्यही फूलमाला, अबीर, सिन्दुर किन्न लगाएर विहे गरे। आजदेखि हामी श्रीमान्–श्रीमती भनेर आफ्नो घर गए। शर्मिला स्कुल पढ्दादेखि नै कृष्ण मल्लको स्वरको जादुले लठ्ठ थिइन्। मन पर्ने मान्छेको विहेको प्रस्ताव उनले सहजै स्वीकारेकी थिइन्।
०००
कलाकार मीना श्रेष्ठ शर्मिलाको घरमा आइरहन्थिन्। त्यो दिन पनि शर्मिलाको घर जाँदै गर्दा बाटैमा भेटिन्। उनको सिउँदोमा सिन्दुर, घाँटीमा माला पनि थियो। मीनाले छाँटकाँट राम्रो छैन नि तिम्रो भन्दा उल्टै गाली गरेर पठाइदिएकी थिइन् शर्मिलाले। घर पुगेपछि पनि पूरै नुहाएर मात्रै आमाको अगाडि परेकी थिइन्।
वीरगञ्ज र हेटौंडामा नाटक देखाउन जानुपर्ने थियो। शर्मिलालाई एक्लै कहीँ नपठाउने। उनी लुगा पोको पारेर कसैलाई नभनी गाडीसम्म आइन्। बीच बाटोबाट आमालाई आफूले कृष्ण मल्लसँग विहे गरेको र नाटक प्रदर्शन सकेपछि घर आउने बताएर फोन काटेकी थिइन्। उनले यतिबेलासम्म आफूले विहे गरेको कुरा घरमा पनि भनेकी थिइनन्। ‘अहिले सम्झँदा साह्रै नमज्जा लाग्छ। सबैभन्दा माया गरेकी छोरी, यस्तो कदम उठाउँदा आमा र दाइलाई कस्तो भयो होला?,’ उनी पश्चाताप गर्छिन्।
नाटक प्रदर्शन गरेर उनीहरु घर फर्किए। कृष्ण मल्ल ‘कोठा नमिलुञ्जेल शर्मिला यहीँ बस्छिन्, पछि लिन आउँछु भनेर फर्केका थिए। पछि माइती नजिकै डेरा लिएपछि बल्ल उनीहरु सँगै बस्न थालेका हुन्।
कान्छी चलचित्र प्रदर्शन नहुँदै शर्मिलाले के घर के डेरा र बासुदेवमा अभिनय गर्ने मौका पाइन्। उनले त्यसपछि चिनो, मायाप्रीति, चेलीबेटी, संकल्प, विजय पराजय, लगनगाँठो, गोठालो, बादल, कर्म, कस्तो सम्झौता, भाग्यले जुरायो आदि चलचित्रमा काम गरिन्। साथमा नाटक र टेलिसिरियलमा पनि उनको सक्रियता त्यत्तिकै रह्यो। उनले अभिनय गरेका टेलिसिरियलहरुमा चक्रब्युह, टाढाको बस्ती, रात, लक्ष्मी, पन्ध्र गते, भञ्ज्याङ्ग चौतारी, श्रीमती जिन्दावाद आदि हुन्।
चलचित्रमा प्रवेश गर्दा कान्छीमा सँगै काम गरेकी सिनियर सुषमा शाहीसँग शर्मिलाको निकटता बढ्यो। एकअर्काको घरमा आवातजावत हुने र चलचित्रका लागि धेरै सल्लाह र सुझाव पनि दिन्थिन् सुषमाले।
मनको बाँधमा अभिनय गरेर यस क्षेत्रमा आएकी सुषमा शाही पछि पाकिस्तानी चलचित्रमा अभिनय गर्न थालिन् र पाकिस्तानीसँग विहे गरेर उतै बस्न थालिन्। शर्मिलाका समकालीन नायिकाहरुमा कृष्टि मैनाली, मौसमी मल्ल हुन्। करिष्मा मानन्धर र गौरी मल्ल उनीभन्दा पछि मात्रै चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्।
०००
प्रत्येक वर्षको जाडो मौसममा शर्मिला मल्ल दम्पती मुम्बई जान्थ्यो। त्यहाँ पहलाज निहलानी, शत्रुघन सिन्हा र विनोद प्रधानसँग पारिवारीक सम्बन्ध जस्तै छ। त्यहाँ आउने–जाने क्रममा बलिउडका धेरै कलाकारसँग शर्मिलाले राम्रो सम्बन्ध बनाएकी छिन्।
केही वर्षअघि उनले गोविन्दासँग लिएको अन्तर्वार्ता कान्तिपुर, अन्नपूर्ण पोस्ट, कामना लगायत पत्रिपत्रिकाहरुमा छापिएको पनि थियो। होम प्रोडक्सनमा लगनगाँठो, बादल, गोठालो बनाएको मल्ल दम्पतीसँग केही चलचित्रको स्क्रिप्ट तयार छ। समय राम्रो भएपछि बनाउने उनीहरुको प्लान छ।
उनले अभिनय गर्दा वर्षमा मुस्किलले २/३ वटा चलचित्र बन्थे। कथा, पटकथा, गीत सबै राम्रो हुन्थ्यो। दर्शकले दोहोर्याई-तहर्याई हेर्थें। ‘अहिले वर्षमा सयौं चलचित्र बन्छन् तर मुस्किलले २/३ वटा मात्र चल्छन्,’ उनी भन्छिन्, ‘पहिले हरेक कलाकारबीच सुमधुर सम्बन्ध हुन्थ्यो। टिमवर्कमा रमाउँथे। तर अहिले सबै व्यावसायिक रुपमा मात्रै अघि बढिरहेको देखिन्छ।’
कसैले कसैलाई नगन्ने संस्कार बढ्दै गएकोमा चिन्तित छिन् शर्मिला। ‘जबसम्म एक–अर्काको सम्मान गर्ने परिपाटी बस्दैन, त्यसको परिणाम राम्रो हुन सक्दैन। अहिले मिहिनेतभन्दा देखावटीले बजार पिटिरहेको छ,’ उनको गुनासो छ।’
थप हिजोका कुरा
कात्तिक ४, २०७८ बिहीबार १७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।