अधियाँ कृषकको पीडा : ‘तिहारमा नयाँ चामल खाउँला भनेको उल्टो ऋण पो लाग्ने भो'

अधियाँ कृषकको पीडा : ‘तिहारमा नयाँ चामल खाउँला भनेको उल्टो ऋण पो लाग्ने भो'

यो वर्ष पनि उनले १५ कट्ठा जग्गामा करिब २४ हजार खर्च गरेर धान लगाएका थिए। धान पनि राम्रै उत्पादन भयो। तिहार अगाडि घरमा धान भित्र्याइसक्ने योजना बनाएर असोज ३० गते धान काटे। तर, आइतबारदेखि परेको अविरल वर्षाले बारिभरी सुकाएको धान उठाउन नसक्ने गरी सोतर बनायो।

घरमा भोकमरी पर्ने चिन्ता त छँदै छ। पानीबाट जोगिएको अलि-अलि बचेको धान पनि साहुलाई दिने कि आफूले खाने भन्ने पिरलोमा छन् उनी।

अझ धान दिउँला भनेर रोप्न र काट्न लगाएका कामदारले दाइँ हाल्ने बाटो कुरिरहेका छन्।

‘१८ वर्षदेखि अधिया गरेर जहान केटाकेटी पाल्दै आएको छु। अरू आम्दानीको स्रोत छैन। दुःख सुख गरेर धान लगाएर स्याहार्ने बेला वर्षाले नास गरिदियो,’ कविरामले भने ‘वर्षाबाट बचाएको अलिअलि मानो मुठो के साहुलाई दिने, के आफू खाने? अझ धान दिउँला भने काम लगाएकाहरू त छुट्टै छन्। यो वर्ष त धान रोप्ने बेलाको ऋणले नै ठाडो उठ्न नदिने भयो।’

सोही ठाउँकी स्थानीय पार्वती न्यौपानेले पनि २५ कट्ठा जग्गामा अधिया धान लगाएकी थिइन्। उनी पनि १२ वर्षदेखि अधियाँमा खेती गर्दै आएकी छिन्।

सधैँ उनले आफू र आफ्नो मालिकलाई पुग्ने गरी धान उत्पादन गर्थिन्। तर, यो वर्षको वर्षाले उनको बारिभरी झुलेको धान सत्यानाश गरिदियो। अलिअलि बचेका धान पनि भिजेर उम्रन लागेका छन्। आफ्नो दुःख खेर गएकोमा खिन्न छिन् उनी।

‘वर्षभरि खाउँला भनेर घामपानी नभनी अधिया धान रोपेँ। वर्षाले झन् वर्षभरि भोकै बस्नुपर्ने पो बनायो,’पार्वतीले भनिन् ‘दुई पाथी भए पनि साहुलाई आधा बुझाउनै पर्यो। नभए त अर्को सालबाट खेती लाउनै दिन्नन्। बाहिरबाट आएको बस्ती एउटा घडेरीले मात्रै खान पुग्दैन के गर्ने? हामीलाई बरु सरकारले केही राहतको व्यवस्था गरिदिए खुसी हुने थियौँ।’

त्यही धान बेचेर जहान केटाकेटीसँग रमाइलो तरिकाले तिहार मनाउने सोच राखेको अर्का कृषक सूर्य चौधरीको सपना पनि वर्षाले चकनाचुर बनायो। उनले १२ कट्ठा खेतमा रोपेको धान पानीले भिजाएर बिगारिदियो। पानीमा भिजेको धानलाई पनि उनले सुख्खा ठाउँमा राखेर सुकाउने प्रयास गरेका छन्।

 ‘दसैँमा धान काट्नै चटारो भयो, धान भित्र्याएर रमाइलो तरिकाले तिहार मनाउने सोचेको थिएँ। सबै काटेको धान वर्षाले बिगारिदियो,’उनले भने‘तिहारमा नयाँ धानको चामल खाउँला भनेको त दोकानबाट साहुसँग उधारो चामल माग्नुपर्ने स्थिति आयो।’

रहरपुरमा बाहिरबाट आएका बस्ती र न्यून आर्थिकस्तका यहाँका ७५ प्रतिशतभन्दा बढी नागरिकहरू अधिया खेती गरेर जीविका चलाउने गरेका छन्।

पीडित किसान सरकारले केही हेरिदेला कि भन्ने आसमा छन्। तर स्थानीय होस् या प्रदेश र केन्द्र केवल आश्वासन मात्र दिइरहेका छन्।

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कूर्मराज शाही पीडित किसानहरूका लागि तत्कालै राहतको कुनै व्यवस्था नरहे पनि क्षतिको विवरण सङ्कलन भइरहेकोले सबै तथ्याङ्क आइसकेपछि ‘क्याबिनेट’ले निर्णय गर्ने बताए।

‘अहिले नै पीडित किसानहरूका लागि भनेर केही राहतको व्यवस्था छैन। पहिला हामीले क्षतिको विवरण सङ्कलन गर्छौ,’मन्त्री शाहले भने‘त्यसपछि मात्रै राहतको प्याकेजका लागि क्याबिनेटले निर्णय गर्छ।’

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयले २० देखि २५ प्रतिशत धान बालीमा क्षति पुर्याएको अनुमान गरेको छ। निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकायका अनुसार कर्णालीमा करिब ४८ हेक्टर जमिन क्षेत्रफलमा  धान खेती हुने गरे पनि २५ प्रतिशत धान काटिएको अनुमान गरेको छ।

कात्तिक ४, २०७८ बिहीबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।