बैङ्क अध्यक्ष इच्छाराजको ठगी रकम चार अर्ब नाघेपछि नयाँ अध्यक्ष खोज्दै सिभिल बैङ्क

बैङ्क अध्यक्ष इच्छाराजको ठगी रकम चार अर्ब नाघेपछि नयाँ अध्यक्ष खोज्दै सिभिल बैङ्क

सिभिल सहकारीका २ हजार बढी वचतकतर्ताको ७ अर्ब बढी ठगी गरेको आरोपमा तामाङ असोज १८ देखि सिआइबीको हिरासतमा छन्। उनी विरुद्ध एक हजार बढी वचतकतर्ताले जाहेरी दिइसकेका छन् भने जाहेरी अनुसारको ठगीको बिगो चार अर्ब नाघी सकेको छ।

बैङ्कको अध्यक्ष ठगी अभियोगमा हिरासतमा पुगे पनि बैङ्क सञ्चालक मौन बसेपछि राष्ट्र बैङ्कले नै नयाँ अध्यक्ष छान्न निर्देशन दिएको स्रोतले बतायो। स्रोतका अनुसार बैङ्कको अध्यक्ष ठगी अभियोगमा प्रहरी हिरासतमा रहँदा बैङ्कका बचतकर्ताहरूले असुरक्षित महसुस गरेर रकम निकाल्न सक्ने भन्दै तत्काल नयाँ अध्यक्ष चयनको गर्न मौखिक निर्देशन दिएको थियो।

'अध्यक्ष पक्राउ परेको आधारमा बैङ्कको अध्यक्ष बस्न नसक्ने नियम छैन। तर यसले बैङ्कको साखमा धक्का परेकाले बैङ्कको जोखिम कम गर्न अध्यक्ष परिवर्तन गर्न भनेका छौँ,' राष्ट्र बैङ्क स्रोतले भन्यो' हामीले बैङ्क सङ्कटमा नपरेसम्म र कानुन अनुसार बदमासी भएको नदेखिएसम्म हस्तक्षेप गर्न मिल्दैन। त्यसैले मौखिक रूपमा अध्यक्ष नयाँ बनाउन भनेका छौँ।'

राष्ट्र बैंक स्रोतका अनुसार बैङ्क सञ्चालकहरूबाट नयाँ अध्यक्ष चयनको प्रयास भइरहेको र सँगै तामाङको बैङ्कमा रहेको सेयरको व्यवस्थापनबारे समेत छलफल भइरहेको जानकारी दिएका छन्।

गत वर्षको वार्षिक वित्तीय विवरण अनुसार सिभिल बैङ्कमा तामाङको नाममा २६ लाख ३४ हजार ९०८ कित्ता संस्थापक र ४ लाख ४८ हजार ६ सय साधारण गरी जम्मा ३० लाख ८३ हजार ५०७ कित्ता सेयर छ। यो बैङ्कको कुल सेयरको ३.८५ प्रतिशत हो।

स्रोतका अनुसार तामाङको यी दुवै सेयर विक्री गरेर सहकारीको बचतकर्ताहरूको रकम फिर्ता गराउने प्रयास समेत भइरहेको छ।

को बन्ला अध्यक्ष

अहिले बैङ्कमा अध्यक्ष तामाङ सहित अमिर बोगटी, प्रकाश तायल, प्रतापजङग पाण्डे, भीमानन्द ढुङ्गाना,  युगेश बहादुर मल्ल र शम्भु प्रसाद पन्त सञ्चालक छन्। यीमध्ये बोगटी र पाण्डेबिच अध्यक्षको प्रतिस्पर्धा रहेको छ।

यदि तामाङको सेयर विक्री भएमा सञ्चालकमध्ये जसले उनको सेयर किन्छ उही अध्यक्ष बन्ने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार पाण्डे तामाङको सेयर किन्न इच्छुक छन्।

बैङ्कमा उनको ९ हजार ४८३ कित्ता संस्थापक र ११० कित्ता साधारण सेयर छ। बैङ्कमा उनको बुबा प्रदीपजंग पाण्डेको नाममा ३५ लाख ४ हजार ८६८ कित्ता सेयर छ। यी दुवै जोड्दा बैङ्कको कुल सेयरमा ४.३८ प्रतिशत पाण्डेको हुन्छ।

बोगटीको नाममा १ लाख ७० हजार ४९१ कित्ता संस्थापक र ३९ हजार ५०२ कित्ता साधारण सेयर छ।

बढ्दै छ उजुरी

तामाङसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको सिआइबीको कार्यालयमा दैनिक उजुरीकर्ताको सङ्ख्या बढिरहेको छ। प्रारम्भमा ३७ जनाले उजुरी दिएका छन्। बिहीबारसम्म उजुरीकर्ताको सङ्ख्या एक हजार नाघिसकेको छ।

प्रारम्भमा ७० करोड ठगीको बिगो देखिएकोमा उजुरीकर्ताको सङ्ख्या बढेसँगै बिगो पनि बढेर चार अर्ब ४५ करोड पुगेको सिआइबीका अधिकारीले बताएका छन्। सहकारीमा २ हजार बढी बचतकर्ता रहेकाले उजुरीको सङ्ख्या र ठगीको बिगो अझैँ बढ्ने देखिन्छ। प्रारम्भिक अनुसन्धानमा उनले सहकारीबाट ८ अर्ब बढी ऋण निकालेर अन्यत्र लगानी गरेको खुलेको छ।

कात्तिक ४, २०७८ बिहीबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।