प्रदेश १: बाढी पहिरोबाट ५७ जनाको मृत्यु, सरकारले एक लाख राहत दिने

प्रदेश १: बाढी पहिरोबाट ५७ जनाको मृत्यु, सरकारले एक लाख राहत दिने

इटहरीः प्रदेश नम्बर १ मा बाढी तथा पहिरोबाट ज्यान गुमाएका मृतकका परिवारलाई प्रदेश सरकारले जनही एक लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री भीम आचार्यको अध्यक्षता बुधबार बसेको प्रदेश दैविप्रकोप उद्धार समितिको बैठकले राहतको प्याकेज ल्याउने निर्णय गरेको हो। 
 

बाढी पहिरोले पूर्णक्षति पुर्याएको परिवारलाई भने ३ लाख राहत उपलब्ध गराउने पनि निर्णय प्रदेश सरकारले गरेको छ। 

मुख्यमन्त्री आचार्यले विराटनगरको हवाई सेवा सुचारु गर्न, दुहबीमा विजुलीको सव स्टेशनमा भएको समस्या तत्काल समाधान गर्न पनि निर्देशन दिएका छन्। बाढी पहिरोमा फसेकाको उद्धार र राहतको लागि विवरण संकलन गर्न पनि मातहतका विभागहरूलाई मुख्यमन्त्री आचार्यले निर्देशन दिएका छन्।

स्थानीय तहहरूसँग समन्वय गरी भएका सबै अवरोधहरू हटाउन सरकारका सबै संयन्त्र परिचालित गरिने उनले बताएका छन्। यस्तै हजारौं हेक्टर जमिनमा लगाइएको धानबालीमा भएको क्षतिको विवरण संकलन गरी कृषकका लागि राहत प्याकेज ल्याउन भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएको उनको भनाइ छ। 

बुधबारको बैँठकमा विभागका प्रमुखहरूले बाढी पहिरोको क्षतिबारे रिपोर्टिङ गरेका थिए। प्रदेश नं १ मा ४९ हजार ९ सय ४४ हेक्टर जमिनमा लगाएको धानबालीमा क्षति पुगेको बताइएको छ।  

प्रदेशभर मृतकको सङ्ख्या ५७
बिहिबार बिहानसम्म प्रदेश १ भरि मृत्यु हुनेको संख्या ५७ पुगेको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी नवीनराज राईका अनुसार पाँचथरमा २६, इलामा १३, धनकुटा ७, सुनसरीमा ७, उदयपुरमा २, भोजपुर र मोरङमा १/ १ जनाको मृत्यु भएको हो। 

प्रदेशभरि हालसम्म १३ जना बेपत्ता रहेको उनले बताएका छन्। पाँचथरमा र सुनसरीमा ४/४ जना, मोरङमा ३ र इलाममा २ जना बेपत्ता रहेको उनले बताए। 

स्थानीय तहले पनि राहत दिने 
इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले बाढीबाट मृत्यु भएकाहरूको परिवारलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले शिक्षक, कर्मचारी र जनप्रतिनिधिले ७ दिनको तलब विपत् राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ। 
यस्तै पीडितको लागि लत्ताकपडा र खानाको मेस चलाउने गरी सबै वडालाई १/१ लाख रुपैयाँ पेस्की दिने निर्णय पनि गरिएको छ। यस्तै भत्केका बाटोघाटो तत्काल मर्मत गर्नेसमेत निर्णय गरिएको छ।

मोरङको सुन्दरहरैचा नगरपालिकाले कृषकको बाली नष्ट भएको विषयमा तथ्याङ्क संकलनलाई तीव्रता दिएको छ। आफ्नो बाली नष्ट भएको विवरण नगरपालिकामा पेश गर्न कृषकलाई आग्रह गरिएको हो। 

सोही विवरणका आधारमा मुल्याङ्कन गरी राहतको प्याकेज ल्याइने मेयर शिवप्रसाद ढकालले बताए। 

त्यस्तै धरान, विर्तामोड, विराटनगर, दमकलगायतका स्थानीय तहहरूले पनि कृषक तथा पीडितको लागि राहत प्याकेज ल्याउने गरी काम थालेका छन्।

मङ्गलबारको वर्षाका कारण प्रदेश १ का अधिकांश स्थानको धानबाली नष्ट भएको छ।

कात्तिक ४, २०७८ बिहीबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।