घुर्की र असन्तुष्टिले घेरिएको सत्ता गठबन्धनको सहयात्रा निर्वाचनसम्म सम्भव छ ?
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बागमती प्रदेशस्तरको कार्यक्रममा सत्ता गठबन्धमा रहेका दलहरूप्रति लक्षित गर्दै भने 'यति बेहाल र यस्ता मान्छे कहिल्यै देखिनँ। सरकारमा रहेकाहरूको ध्यान चुनावसम्म साँठगाँठ गर्नेमा मात्र छ।'
उनले सरकारमा रहेका दलहरूप्रति जनताको विश्वास नरहेको भन्दै साँठगाँठ नगरे वडा सदस्यसमेत जित्न नसक्ने दाबी गरे। उनी यतिमै रोकिएनन्। उनी सरकारको नेतृत्त्व गरिरहेको नेपाली कांग्रेसतिर केन्द्रीत भए।
कांग्रेसका कार्यकर्ताप्रति सहानुभूति देखाउँदै उनले कटाक्ष गरे- 'कांग्रेसकाहरू भोट केमा हाल्ने भन्नेमै अलमलमा छन्। विचराहरू कलममा हाल्ने कि डटपेनमा हाल्ने, छातामा हाल्ने कि लौरोमा। गोलाकारभित्रको हँसिया हथौडामा हाल्ने कि रुखमा भन्ने नै अलमल छ।'
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्त्वमा सरकार बनेको सय दिन पूरा भएकै दिन ओलीले गठबन्धन दलमाथि कटाक्ष गर्नुको कारण गठबन्धको भविष्यबारे चलिरहेको बहस नै मुख्य कारण देखिन्छ। झट्ट सुन्दा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा ओलीले सत्तामा रहेका दलमाथि कटाक्ष गरे जस्तै सुनिए पनि सत्ताधारी दलका मतदातामाझ रहेको अन्यौल भने यही हो।
सत्ता सहयात्रामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छ।
फागुन-चैतमा सरकारले स्थानीय तहको निर्वाचन गर्नैपर्छ। अर्को मंसिरभित्र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नैपर्छ। यी सबै निर्वाचनमा सरकारमा रहेका दलहरू एकल रूपमा सहभागी हुने हुन् या एमाले नेतृत्त्वको सरकारविरुद्ध जसरी एकीकृत भएका थिए त्यसरी नै गठबन्धन बनाएर संयुक्त रूपमा जाने हुन्, निश्चित छैन।
गठबन्धनको उदेश्य सरकार बनाउने मात्र हो कि आगामी निर्वाचनसम्म पनि हो, प्रष्ट छैन। दलका नेताहरूको प्राथमिकता पनि आ-आफ्नै छन्। एमालेले आफ्नै तरिकाले चुनावी अभियान सुरु गरिसकेको छ। तर सत्ता गठबन्धनमा रहेका नेताहरूले भने गठबन्धनबारे नै निर्णय गर्न सकेका छैनन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिलेको सत्ताधारी गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजान चाहन्छन्। उनले पार्टीको बैठकमै यो अजेण्डाको रूपमा प्रवेश गराइसकेका छन्।
अर्को पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केन्द्रीय कमिटी बैठकमा पाँच दलीय सत्ता गठबन्धनको सहकार्य आगामी निर्वाचनसम्मै गराउन छिट्टै संरचना निर्माणको तयारी भएको दाबी गरेका थिए। उनले बैठकमा दस्ताबेज निर्माण एवम् पास हुने तयारी भइरहेको र सो दस्ताबेजको आधारमा प्रदेश, जिल्ला र पालिका सबै स्तरमा पाँच दलबीचमा समन्वय समितिहरू बन्ने जानकारी गराएको एकीकृत समाजवादीका एक नेताले उकेरालाई बताए।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाले गठबन्धनको आयुबारे बोलेका छैनन्। यसबारे सार्वजनिक अभिव्यक्ति दिने पार्टीका नेताहरू एक्लै निर्वाचनमा जाने दाबी गरिरहेका छन्। जसपाका नेतामा पनि गठबन्धनको आयुबारे अलमल देखिन्छ।
कांग्रेस उपसभापति विमलेन्द्र निधि चुनावसम्म गठबन्धन मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने आशंका उब्जिएको बताउँछन्। कांग्रेसका नेता गगन थापाले सार्वजनिक कार्यक्रममै आगामी निर्वाचनमा कांग्रेसले एक्लै बहुमत ल्याउने दाबी गरिसकेका छन्।
माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहसम्मै सत्तारुढ गठबन्धनको संयन्त्र बनाएर चुनावमा भाग लिने दाबी गरिरहेको बेला प्रचण्डको संसदीय क्षेत्र रहेको चितवनका कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले त्यस्तो गठबन्धन बने प्रतिवाद गर्ने र रुखबाहेक अन्त भोट नहाल्ने चेतावनी दिइसकेका छन्।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाए गठबन्धन छोड्ने राष्ट्रिय जनमोर्चाले चेतावनी दिइसकेको छ।
देउवाले डा नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेपछि जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनबाट रुष्ट छन्। सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनसम्म नै गठबन्धन जान्छ कि जाँदैन भन्न नसकिने बताएका छन्।
तर निर्वाचन गर्नेबेलासम्म यो गठबन्धन रहनुपर्छ भन्ने उनको मत देखिन्छ।
नेताहरू नै अलमलमा
अहिलेको अवस्थामा एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेसलाई सहज देखिन्छ। तर ऊ ढुक्क भने छैन। एमाले सकेसम्म अहिलेको गठबन्धनलाई निर्वाचनमा पनि सँगै नजाओस् भन्ने नै चाहन्छ। पार्टी विभाजित भएकाले जसपालाई निर्वाचनमा एक्लै जान सहज छैन।
एकीकृत समाजवादीको सांगठनिक संरचना तल्लोतहसम्म नगएको र निर्वाचनमा मत विभाजित हुँदा आफ्नो दलको मतदाताको भरमा राष्ट्रिय दलको हैसियतमा पुग्न कठिन छ नै। जनमोर्चाको एकल संगठन कमजोर छ। यसले निर्वाचनपछि पनि सरकार गठनका लागि सत्ताधारी दलबीच सहकार्य सम्भव देखिन्छ।
तर दलका नेताहरू ढुक्क भने छैनन्।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा सत्ता गठबन्धन आगामी चुनावसम्म रहने दाबी गर्छन्। ‘राजनीतिक स्थिरताको लागि, संविधानको रक्षाको लागि र संसद्को रक्षाको लागि यो गठबन्धन बनेको हो,' उनले भने।
यी तीन वटै उपलब्धि हासिल गरेको र संयुक्त सरकारमा रहेकाले गठबन्धन तलमाथि गर्ने बित्तिकै सरकार नचल्ने, राजनीतिक अस्थिरता सुरु हुने भएकाले स्थिरता र शान्तिपूर्ण निर्वाचनको लागि सहकार्य जरुरी रहेको उनको मत छ।
कांग्रेस नेता गोपालमान श्रेष्ठ नयाँ चुनाव गराउने दायित्व वर्तमान सरकारको भएकाले चुनावसँग गठबन्धन रहने बताउँछन्।
‘चुनाव पछि पनि यो गठबन्धन निरन्तर हुन सक्छ, चुनाव पछि कसले कति सिट ल्याउँछन् त्यसको आधारमा नयाँ सरकार पनि यहि गठबन्धनको हुन सक्छ,’ श्रेष्ठले उकेरासँग भने, ‘यही गठबन्धनसँग तालमेल हुन्छ कि अरू नै दलसँग हुन्छ भनेर पार्टीले निर्णय गर्छ।’
माओवादी केन्द्रका नेता राम कार्की गठबन्धन सरकारले चुनाव गराउने भएकाले यो गठबन्धन नै चुनावमा होमिन सक्ने बताउँछन्। तर उनले यकिनका साथ गठबन्धन कायम रहने भने भन्न सकेनन्।
‘कम्युनिष्टहरूसँग रणनीतिक रूपमा सहकार्य हुन पनि सक्छ। त्यो रणनीतिक सहकार्य कांग्रेस र एमालेसँग हुँदैन। एकीकृत समाजवादीसँग हुनसक्छ,’ कार्कीले उकेरासँग भने, 'सत्ता गठबन्धन नै चुनावी गठबन्धन हुन सक्ने सम्भावना पनि नकार्न सकिँदैन।'
गठबन्धनमा विश्लेषकलाई विश्वास छैन
राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटर गठबन्धन सिद्धान्तको राजनीतिभन्दा सुविधाको राजनीतिका लागि बनेको बताउँछन्।
‘जुन–जुन ट्रेडमार्ककबाट उहाँहरूले राजनीति गरिरहनुभएको छ, तत्कालीन अवस्थालाई कसरी सम्बोधन गर्ने, त्यसै अनुसारको नीति र विधि ल्याउनुहुन्छ,’ उनी भन्छन्, ‘न कांग्रेस, न कम्युनिष्ट कुनै पनि पार्टी परम्परागत अभ्यासमा चलेको पाइँदैन। समानता भनेको सबैले सुविधाको राजनीति गर्न चाहिरहेका छन्,’ उनले भने।
प्रतिपक्षी दलको सक्रियता र विदेशी शक्तिको चासोसँग गठबन्धनको आयु निर्भर गर्ने देखिने राजनीतिक विश्लेषक पिटर बताउछन्। नेताको स्वार्थको गठबन्धन भएकाले सहकार्य टुट्न सक्ने उनको मत छ।
‘एकताको आधार के अहिलेसम्म स्पष्ट भएको छैन। अस्पष्ट भिजनका कारण गठबन्धनमा समस्या आउनसक्छ,’ उनी भन्छन्, ‘प्रतिपक्षी ओली र विदेशी शक्तिहरूको सक्रियताले गठबन्धनको आयु निर्धारण गर्छ।’
गठबन्धन पदकै लागि बनेको राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईंको भनाइ छ। सैद्धान्तिक, वैचारिक आस्था र आदर्शका लागि भन्दा पनि सत्ता प्राप्तिका लागि अहिलेको गठबन्धन बनेको उनको बुझाइ छ।
अहिलेसम्म बनेका गठबन्धनमा पद, हिस्सा र राजनीतिक सक्रियताका लागि भएको र अहिले बनेको गठबन्धनले पनि सोही ट्रयाक समातेको बताउँदै उनले गठबन्धनको आयु निर्वाचन गराउने बेलासम्म टिक्न सक्ने अनुमान गर्छन्।
‘छुट्नको लागि राष्ट्रिय विषयबस्तु नै चाहिँदैन, दुई शीर्ष नेताबीच स्वार्थ मिलेन भने भोलि नै पनि छुट्न सक्छन्’, डा. चापागाइले उकेरासँग भने, 'स्वार्थमा रहेर राजनीतिज्ञको बहादुरी नै गठबन्धन भत्काउने अनि स्वार्थ केन्द्रीत नयाँ–नयाँ गठबन्धन बनाउनेमै रहेकाले अहिलेको सत्ता गठबन्धनको आयु कति लामो हुन्छ भन्न सकिने स्थिति छैन।'
कात्तिक ४, २०७८ बिहीबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।