प्रदेश १ मा बाढीको वितण्डा : गाउँमा पहिरो, सहरमा डुबान, राजमार्ग अवरुद्ध

प्रदेश १ मा बाढीको वितण्डा : गाउँमा पहिरो, सहरमा डुबान, राजमार्ग अवरुद्ध

इटहरी : मङ्गलवार बिहानदेखिको अविरल वर्षाको कारण आएको बाढी र डुबानबाट प्रदेश १ का प्रमुख सहरहरू प्रभावित भएका छन्। गाउँमा पहिरो र सहरमा डुबानले जनजीवन प्रभावित भएको हो।

त्यसमा पनि सुनसरीको इटहरी र मोरङको विराटनगर सबैभन्दा धेरै डुबान प्रभावित क्षेत्र बनेको छ। स्थानीयका घर चौपाया र व्यापारिक गोदामहरू बाढीमा डुबेको छ। अविरल वर्षाको कारण घर पुरिदा धरान १३ मा दुई बच्चाको मृत्यु भएको भएको छ।

धरान १३ नागेश्वरी मार्गका निसान राईको ८ बर्षीया छोरी निसु राई र ४ वर्षीय छोरा निहान राईको पहिरोले पुरिएर मङ्गलवार ज्यान गयो। निरन्तरको वर्षासँगै पौने २ बजे घर माथिबाट पहिरो झर्दा १ तले टिनको छाना भएको घर पुरिएको थियो। त्यस बेला घर भित्र रहेका दुई बच्चा समेत पुरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीका अनुसार बुधवार दिउँसो एक वृद्धको शव फेला परेको छ। इटहरीको आर्मी क्याम्प नजिकै एक वृद्धको शव फेला परेको हो। योसँगै प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ।

मृत्यु हुनेमा ७ जना पुरुष, ९ महिला, ७ बालक र २ बालिका रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। राईका अनुसार बाढी–पहिरोमा परेर इलाममा ९, पाँचथरमा ६, उदयपुरमा १, धनकुटामा ६, सुनसरीमा ३ जनाको मृत्यु भएको छ।

प्रदेशमा ७ जना अझै बेपत्ता छन्। मङ्गलवार राति प्रदेश भरीमा ८ सय बढीको उद्धार गरिएको उनको भनाई छ।

त्यस्तै कोसी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडक अवरुद्ध भएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ फेदीमा लेउती खोलामा आएको बाढीले करिब ५० मिटर सडक बगाएको छ।

सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईका अनुसार मङ्गलवार दिउँसो ४ बजेतिर कोसी राजमार्गमा क्षति पुगेको थियो। सडकमा क्षति पुगेसँगै कोसी राजमार्ग अवरुद्ध भएको छ।

मङ्गलवारको निरन्तर वर्षाका कारण मर्मत कार्य पनि प्रभावित भएको थियो। बुधवार बिहान देखिनै बर्षातमा कमी आएसँगै सडक मर्मत सुरु गरिएको उनले बताइन्। राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधनहरू पुरानै गन्तव्यमा फर्किएका छन्।

धनकुटा, तेह्रथुममा उत्पादित तरकारी बजार ल्याउन नपाएपछि इटहरी धरान लगायत सहरमा तरकारीको अभाव सुरु भएको छ। 

सुनसरीको दुहबी ग्रिडमा पानी पसेपछि बिद्युत् प्रसारणमा समस्या देखा परेको छ। मङ्गलवार राती ११ बजे बिद्युत् गृहमा ४ फिटसम्म पानी पसेको सुपरभाइजर रितेश झाले बताए।

पानीको सतह घटाउने प्रयास भइरहे पनि विद्युत् सुचारु हुन कति समय भन्ने एकिन नभएको उनले जानकारी दिए। बुधवार साँझ वा बिहीबार दिउँसोसम्ममा बिद्युत् सुचारु गरिने उनले बताए।

प्रदेश १ का अधिकांश स्थानमा प्रसारण जोडिएको दुहबी ग्रिड अवरुद्ध हुँदा सुनसरी, मोरङ, धनकुटा तेह्रथुम, सङ्खुवासभा लगायत जिल्लामा बिद्युत् अवरुद्ध छ।

त्यस्तै पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा एकतर्फी मात्र सडक सञ्चालन भएको छ। बाढीको कारण सडक भासिने र भत्किने समस्या देखिएकोले मर्मतको काम भइरहेको छ।

कात्तिक ३, २०७८ बुधबार १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।