११ लाखको लेनदेनपछि उठ्यो सीता भण्डारीको शव
बुटवल : माइती पक्ष र घर पक्षका बीच ११ लाखको लेनदेनपछि रुपन्देहीको मणिग्रामको बहुचर्चित सीता भण्डारी पौडेलको शव माइती पक्षले उठाएको छ।
गत भदौ २० गते बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामकी सीताले आत्महत्या गरेको हो या हत्या भन्ने विवाद लम्बिँदा डेढ महिनादेखि अन्त्येष्ट हुन सकेको थिएन।ि हुन सकेको थिएन।
मृतक सीता भण्डारीका माइती पक्षले पौडेल परिवारबाट मङ्गलबार अपराह्न ११ लाख रुपैयाँको चेक बुझेपछि अन्त्येष्टि गर्न सहमति दिएका थिए।
तिलोत्तमा नगरपालिका र बुटवल नगरपालिकाको सीमा क्षेत्रमा रहेको मगरघाटमा माइती पक्ष समेतको सहभागितामा बुधबार उनको अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ गंगोलियामा रहेको मध्यस्थकर्ताको घरमा भएको लिखित सहमतिअनुसार मृतक सीताका ससुरा देवी पौडेलले सीताका भाइले भिनाजु (टीका पौडेल)लाई दिएको सापटी एक लाख रुपैयाँ र विवाह गर्दा लागेको खर्च बापतको १० लाख रुपैयाँको चेक दिएका थिए।
मङ्गलबार गरिएको लिखित सहमतिमा भण्डारी परिवारले विवाह गर्दा लागेको खर्च बापतको १० लाख र सापटी दिएको एक लाख गरी ११ लाख रुपैयाँ बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आन्दोलन नगर्ने सहमति गरिएको श्रोतले बताएको छ।
भदौ २० गते बिहान आफ्नै कोठामा मृत भेटिएकी २७ वर्षीया सीता पौडेलका आफन्तले सीताको हत्या भएको दाबी गर्दै आएका थिए। मृतकका माइती पक्षले श्रीमान् टीका पौडेल, जेठाजू हरि पौडेल र अमाजू विष्णु पौडेलले आत्महत्याका गर्न बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा हालेका थिए। यी तीनै जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
प्रहरीले पोस्टमार्टम रिपोर्टका आधारमा आत्महत्या भने पनि पौड्यालका माइती पक्ष यसलाई स्वीकार्न तयार छैनन्। मृत्यु शङ्कास्पद भएकाले उनको हत्या गरिएको भन्दै माइती पक्षले प्रहरीविरुद्ध दैनिकजसो प्रदर्शन गरिरहेका थिए।
सीता प्रकरणका समाचारहरु
कात्तिक ३, २०७८ बुधबार १४:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।