लुम्बिनी प्रदेश: वर्षाले ३६ हजार हेक्टरभन्दा बढीको धानबाली नष्ट
बुटवलः लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका १२ जिल्लामा काट्न तयार रहेको र काटेर उठाउन राखिएको धानबालीमा ठूलो क्षति पुगेको छ। बेमौसमी वर्षाका कारण किसानको धानबालीमा ठूलो क्षति पुगेको हो।
लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ। त्यस्तै काट्न बाँकी रहेको ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान ढलेको लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बताए।
प्रदेशभर कूल खेती भएको ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमध्ये किसानले ५५ हजार ५४ हेक्टर क्षेत्रफको धान भित्र्याएको उनको भनाइ छ।
कुन जिल्लामा कति क्षति
देवकोटाका अनुसार सबैभन्दा बढी क्षति बर्दियामा भएको छ। त्यहाँ काटेर खेतमै राखिएको १० हजार हेक्टर जमिनको धानमा क्षति भएको छ। यसैगरी २५ हजार २ सय हेक्टर जमिनको काट्न बाँकी रहेको धान ढलेर नष्ट भएको छ।
दाङमा काटेर खेतमै राखिएको ३ हजार ४ सय हेक्टर जमिनको धानमा नोक्सानी पुगेको छ। यसैगरी काट्न बाँकी ४ हजार ३ सय हेक्टर जमिनको धान वर्षाले ढालेर क्षति पुगेको छ। बाँकेमा काटेर खेतमै रहेको ७ हजार ५ सय हेक्टर जमिनको धान पानीले क्षति भएको छ।
कपिलवस्तुमा काटेर खेतमै राखिएको ८ हजार ८ हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ। यस्तै काट्न बाँकी २७ हजार ४ सय ५५ हेक्टर जमिनको धानमा क्षति पुगेको छ। यस्तै रुपन्देहीमा काटिएको ३ हजार ४ सय ६८ हेक्टर जमिनको धानमा क्षति पुगेको छ भने २० हजार ७ सय ९३ हेक्टर जमिनमा रहेको काट्न बाँकी धानमा वर्षाले क्षति पुर्याएको छ।
यस्तै प्यूठानमा काटेर खेतमै रहेको ३ हजार ७ हेक्टर जमिनको धानमा क्षति पुगेको छ भने काट्न बाँकी ७ सय ८८ हेक्टर जमिनको धान पनि वर्षा अनि हावाहुरीले ढालेको छ।
यस्तै नवरपरासी (पश्चिम)मा काटेर खेतमै रहेको ४ सय १० हेक्टर जमिनको धानमा क्षति भएको छ भने ४ हजार १ सय हेक्टर जमिनमा काट्न बाँकी धानमा क्षति पुगेको उनले बताए।
यसैगरी रुकुम पूर्वमा ४ सय १२ हेक्टर जमिनमा काटेर राखिएको धान नष्ट भएको छ। यस्तै गुल्मीमा काटेर खेतमै रहेको ८ हेक्टर जमिनको धान वर्षाले क्षति पुर्या एको छ भने पाल्पामा काटेर खेतमै रहेको २ सय ७० हेक्टर जमिनको धानमा क्षति पुगेको छ।
यता रोल्पामा मकै र तरकारी बालीमा वर्षाले क्षति पुगेको छ। निर्देशनालयका अनुसार अर्घाखाँचीमा भने क्षति पुराएको छैन।
निर्देशनालयका प्रमुख देवकोटाले वर्षाले धान भिजाएका कारण केही क्षति हुने निश्चित भए पनि कति क्षति हुने भन्ने विषयमा अहिले यकिन गर्न नसकिने बताए।
कात्तिक ३, २०७८ बुधबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।