हुम्लामा पहिरोले घर पुरिँदा एकै घरका ६ जनाको मृत्यु

हुम्लामा पहिरोले घर पुरिँदा एकै घरका ६ जनाको मृत्यु
सांकेतिक तस्बिर

सुर्खेतः पहिरोले घर पुरिँदा हुम्लामा एकै घरका ६ जनाको मृत्यु भएको छ। गए राति करिब ९ बजे खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँ स्थित स्थानीय धनवीरे शाहीको घर पहिराेले पुरिँदा ६ जनाको मृत्यु भएको हो।

शाहीकाे घरदेखि करिब २० मिटर माथिबाट पहिराे खसेकाे थियाे। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले दिएको जानकारी अनुसार पहिरोमा परेर ७० वर्षीय धनवीरे शाहीसहित परिवारका ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनवीरेकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, कलबहादुरका तीन जना छोरा १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र ३ वर्षीय जसबहादुर शाही रहेकाे श्रेष्ठले जानकारी दिए। उनका अनुसार ज्वाइँ कलबहादुर ससुराली घरमा बस्दै आएका थिए।

घटनामा मृत्यु भएकाहरूकाे शव निकाली आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रवक्ता श्रेष्ठको भनाइ छ।

कात्तिक ३, २०७८ बुधबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।