नेताका गलामा मालाको भारी : बक्सिसको लोभमा चाकडी
बुटवल : प्राकृतिक विपत्ति, सीता भण्डारी प्रकरण, चार जनाको मृत्यु हुने गरी भएको मोतिपुर गोली काण्ड जस्ता घटनामा चुइँक्क नबोलेका गृहमन्त्री बालकृष्ण खाँणलाई गत सोमबार १५ किलोको माला पहिर्याएर गृहजिल्ला रुपन्देहीमा स्वागत गरियो।
गृहमन्त्री भएको तीन महिनासम्म पनि जिल्ला नफर्केकोमा चर्को आलोचना खेपेका खाँण गृहजिल्लाको एक दिने भ्रमण सकेर काठमाडौं फर्केसँगै १५ किलोको माला प्रकरणले पुनः आलोचित बनेका छन्।
सोमबार रुपन्देही भ्रमणको अन्तिम कार्यसूचिमा रहेको आफ्नै निवासमा बधाई तथा स्वागत कार्यक्रममा सरिक हुने क्रममा १५ किलोको माला पहिरिएसँगै अहिले उनको आलोचना भइरहेको छ।
नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले स्वागत गर्ने क्रममा उनलाई १५ किलोको माला पहिर्याएको थियो। गृहमन्त्री खाँणले माला पहिरिएको तस्बिरको आलोचना रुपन्देहीमा मात्र होइन, सामाजिक सञ्जालहरुबाट पनि भइरहेको छ।
कतिपयले त ‘मोतिपुरमा गोली हानेर जनता मार्न दिएको आदेश स्वरुप माला पहिर्याइदिएको' टिप्पणी समेत गरेका छन्। कांग्रेस समर्थकहरुले भने आफ्ना नेताहरुलाई खुसीका साथ माला लगाइदिएको भन्दै टिप्पणीको खासै अर्थ नभएको बताएका छन्।
त्यसो त बालकृष्ण खाँण यसरी ठूलो माला पहिरिएर आलोचित हुने पहिलो पात्र भने होइनन्। नेताको चाकरीमा यसअघि पनि नेतालाई ठूला माला लगाइदिने होड नै चलेको थियो। त्यसको पछिल्लो प्रतिबिम्व मात्रै हो, गत सोमबार गृहमन्त्री बालकृष्ण खाँणले लगाएको १५ केजीको माला।
‘नेताका चाकडीबाज पञ्चायतकाल तथा राणा–राजाको शासनमा पनि थियो। तर चाकडीको शैली मात्र फरक भयो। प्रजातन्त्रपछि राजाको चाकडी गरेरै धेरै नेता प्रधानमन्त्री बने, शक्ति र सत्ताको स्वाद लुटिरहे,’ राजनीतिका जानकार झपेन्द्र जिसी भन्छन्, ‘क्षमतालाई भुलेर चाकडी र चाप्लुसीले मात्र शक्ति केन्द्रको वरपर हुन पाइन्छ, लाभ लिन सकिन्छ भन्ने ध्यान कार्यकर्तामा छ। ठूला माला लगाइदिएर चाकडी गरेमै बक्सिस पाइन्छ भन्ने सोच्नु कार्यकर्ताको कमजोरी हो।’
माला लगाएर सम्मान गर्नु मौलिक संस्कृति भए पनि नेताहरुमा ठूला माला लगाइदिएर सम्मान र स्वागत पनि भद्दा मजाकको विषय बन्दै गएको उनले बताए।
‘अरु देशमा साना पुष्पले सम्मान गर्ने गरिन्छ। तर यहाँ कसले बढी तौलको माला पहिरिने चाकडीको प्रतिस्पर्धा चलेको छ,’ उनले प्रश्न गरे, ‘हामीले कस्तो संस्कृतिलाई आत्मसात गरिरहेका छौं?’
नेपालमा माला लगाउने सौभाग्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पाएका छन्। २०७५ वैशाख २५ गते २ नम्बर प्रदेशमा आउँदा मोदीलाई एकै दिन ३६३ किलोको माला नेपालीले लगाइदिएका थिए।
प्रदेश २ को मुख्यमन्त्री बनेपछि लालबाबु राउतलाई गृहजिल्लामा १११ किलोको माला भिराइयो। तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनलाई रौतहटका स्थानीयले २०२ किलोको माला भिराए।
२०७५ फागुन ४ मा वीरगन्जमा कांग्रेस महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र गिरिजापुत्री सुजाता कोइरालालाई १२१ किलोको माला लगाइदिए। प्रधानमन्त्री शेरबहादुर देउवालाई बारामा स्थानीय नेता–कार्यकर्ताले सिमरास्थित पार्टी कार्यालयमा १५१ किलोको मालाले सुशोभित गरे।
त्यो बेला कांग्रेस नेता विश्वप्रकाश शर्माले टिप्पणी गर्दै ‘केवल एक फूल दिनोस् या केवल एक मुस्कानसाथ हृदयले स्वागत गर्नुस्, आलोचनामा गालीको भारी या सम्मानमा फूलको भारी दुवै गलत छन्’ भनेका थिए।
२०७५ फागुन ७ गते डोटीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको काँधमा कार्यकर्ताले ५१ किलोको माला लगाइदिएका थिए।
चाकडीमा संस्कृतिलाई नै मजाक बनाइनु दुखद रहेको वाम विश्लेषक ऋषि आजाद बताउँछन्।
‘भजन गर्ने, स्तुति गाउने चलन पौराणिक कालदेखि हो। माला लगाउने पुरानो चलन हो। तर अहिले यसलाई भद्दा बनाइएको छ। यसलाई निरुसाहित गर्नुपर्छ। तर यसको अर्थ अतिथि सत्कार गर्नु हुँदैन भन्ने चाहिँ होइन,’ उनले भने।
उनले पार्टीका नेताहरु केन्द्रीकृत भएको र नेताको आर्शिवादले बढुवा हुने, जागिर पाउने आशा, चाहेको बजेट प्राप्त हुने, रोजगार आदिको आशमा कार्यकर्ताले कीर्तन गाउने, ठूला माला लगाएर चाकडी गर्ने गरेको बताए।
‘माओवादी अध्यक्ष प्रचण्ड खुला राजनीतिमा आउनासाथ ठूला माला लगाउने चलन सुरु भयो। अहिले यसलाई भद्दा बनाइयो,’ उनले भने।
कात्तिक ३, २०७८ बुधबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।