आकाङ्क्षीबीच कुरा नमिल्दा तीन महिनामा निजी सचिवालय पनि बनाउन सकेनन् प्रधानमन्त्री देउवाले

आकाङ्क्षीबीच कुरा नमिल्दा तीन महिनामा निजी सचिवालय पनि बनाउन सकेनन् प्रधानमन्त्री देउवाले

असार २९ मा उनले शपथ खाएका थिए। उनलाई मन्त्रिपरिषद् पूर्ण बनाउनै ८८ दिन लागेको थियो। प्रधानमन्त्री देउवाले शपथ लिएको तीन साता बित्दा औपचारिकरुपमा महान्यायाधिवक्ता खमबहादुर खातीलाई मात्र नियुक्ति दिए। प्रधानमन्त्री भएको पाँचौँ हप्तामा स्वकीय सचिवको रूपमा भतिज भानु देउवालाई नियुक्त गरेका छन्। भानु उनको पुरानै सहयोगी हुन्।

देउवा पहिले प्रधानमन्त्री हुँदा पनि भानु नै स्वकीय सचिव थिए भने काँग्रेसका सभापतिसमेत रहेका देउवाको निजी सचिवमा पनि भानुले नै काम गर्दै आएका थिए। आर्थिक प्रशासन सल्लाहकारमा जनार्दन नेपाल नियुक्त भएका छन्।

प्रेस संयोजक, परराष्ट्र सल्लाहकार, राजनीतिक सल्लाहकार, जस्ता पदमा उनले कसैलाई औपचारिक रूपमा नियुक्ति दिइसकेका छैनन्। प्रधानमन्त्री देउवा निकट काँग्रेसका एक नेताका अनुसार तिहारसम्ममा सचिवालय बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा छन्।  

‘पार्टीगत रूपमा उहाँलाई यथाशीघ्र सचिवालयलाई पूर्णता दिन सुझाव दिएका छौँ, दसैँ तिहारको बिचमा पूर्णता दिनुहुन्छ होला,’ देउवा निकट एक नेताले उकेरासँग भने।

औपचारिक रूपमा नतोके पनि देउवाको अघिल्लो कार्यकालको प्रेस सल्लाहकार गोविन्द परियारले अहिले उनलाई प्रेसमा सघाइरहेका छन्। प्रधानमन्त्रीको सामाजिक सञ्जाल लगायतका व्यवस्थापन परियारले नै गर्दै आएका छन्। तर उनले औपचारिक नियुक्ति भने पाएका छैनन्।

सामाजिक सञ्जाल मार्फत देउवाले गरेका गतिविधि आम नागरिकसम्म पुर्याउनेभन्दै सुरु गरेको भिडियो प्रचार अभियान निकै विवादित भएपछि बन्द गरियो। भाइवर समूह बनाएर परियारले अहिले देउवाका शुभकामना लगायतका सामाग्री राख्दै आएका छन्।

गोरखापत्र संस्थानका निवर्तमान महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाह, प्रेस युनियनको वर्तमान अध्यक्ष बद्री सिग्देल, सुरेश आचार्य पनि प्रेस संयोजकको लाइनमा छन्।

परियार देउवा पत्नी आरजुको छनौटमा नियुक्त नभए पनि बालुवाटारमा सक्रिय छन्। प्रेस संयोजककै लागि परियारले आफू आबद्ध काठमाडौँ प्रेस अनलाइनबाट राजीनामा दिएका छन्। औपचारिक निर्णय आउँदा परियारले नै नियुक्त पाउने सम्भावना बलियो छ। 

सिग्देल यो पटक कुनै हालतमा पनि नियुक्त लिइछाड्न कस्सिएका छन्। जानकार स्रोतका अनुसार शाह भने सफ्ट छन्। सचिवालयमा नपाए उनी नेपाल टेलिभिजनको अध्यक्ष हुने दाउँमा छन्। आचार्य र उपाध्यय दिए लिने मुडमा छन्।

भूराजनीति तथा छिमेकी देशहरूसँग सौहार्दपूर्ण र सन्तुलित सम्बन्धको वातावरण सृजना गर्न र सन्तुलित कूटनीतिक सम्बन्धका लागि परराष्ट्र सल्लाहकारको अहम् भूमिका रहन्छ। परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराई र गेजा शर्माको नाम चर्चामा थियो। यस अघि काम गरिसकेका भट्टराइले फेरि दोहोरिने इच्छा देखाएका छन्। भट्टराई यसअघि पनि देउवाको चौथो कार्यकालमा र सुशील कोइरालाको कार्यकालमा पनि परराष्ट्र सल्लाहकार बनिसकेका व्यक्ति र पूर्व राजदूत पनि हुन्।

‘कुरा भएको हो तर औपचारिक प्रस्ताव आएको छैन,’ डा भट्टराईले उकेरासँग भने ।

राजनीति सल्लाहकार कसलाई बनाउने भन्नेमा पनि प्रधानमन्त्री देउवा अलमलमा देखिन्छन्। उनी निकट पार्टीका सह-महामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश लेखक, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता मीन विश्वकर्माको नाम राजनीतिक सल्लाहकारको रूपमा चर्चामा छ।

तर कसैलाई जिम्मेवारी तोकिएको छैन। पार्टी प्रवक्ता शर्माले भने १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारीको तयारी गरिरहेका छन्। उनले आफू सल्लाहकारको दौडमा नरहेको बताए।

‘मैले प्रधानमन्त्रीको सल्लाहकारको रूपमा तत्काल काम गर्ने इच्छा नभएको प्रस्ट पारिसकेको छु, छिट्टै नै उहाँले आफ्नो सचिवालयलाई पूर्णता दिनुहुन्छ,’ प्रवक्ता शर्माले उकेरासँग भने। सह महामन्त्री डा. महतले पनि आफू राजनीतिक सल्लाहकारमा जाने तयारीमा नरहेको दाबी गरे।

'उहाँले आवश्यक पर्दा कहिले कसलाई, कहिले कसलाई बोलाइरहनुभएको हुन्छ। मलाई पनि भन्नुभएको हो। तर औपचारिक प्रस्ताव आएको छैन,’ काँग्रेस नेता मीन विश्वकर्माले उकेरासँग भने ।

आर्थिक सल्लाहकारमा विश्व पौडेलको नाम चर्चामा थियो। आर्थिक मामिलामा देउवालाई सहजीकरण गरिरहेका उनी योजना आयोगको उपाध्यक्ष नियुक्त भए। यस अघि योजना आयोगमा सदस्य भइसकेका डा. प्रभु बुढाथोकी आर्थिक सल्लाहकारको दौडमा रहेको स्रोतले बतायो। यस अगाडि उनले योजना आयोगको उपाध्यक्षमा चासो राखेका थिए।

विभिन्न सल्लाहकारमा दाबेदारहरूको दाबेदार भए पनि निजी सचिवालयमा कसलाई के जिम्मेवारी दिने भन्ने निर्णय भने भइसकेको छैन। उनी अझै आन्तरिक छलफलमै देखिए।

‘अहिले पनि उहाँ आन्तरिक छलफलमै हुनुहुन्छ, औपचारिक प्रस्ताव कसैलाई गरिएको छैन। सबै सल्लाहकारको टुङ्गो लागेपछि एकै पटक सचिवालय विस्तार हुन्छ,’ देउवा निकट एक नेताले उकेरासँग भने।

क-कसको प्रभाव पर्छ देउवामा 

देउवा निकट बीमलेन्द्र निधी आफैँ पार्टी सभापतिको उम्मेदवारीको दौडमा लाग्दा समूहबाट बाहिरिइसकेका छन्। उनी निकट ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण मन्त्री बने। महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू रमेश लेखक, एनपी साउद, मीन विश्वकर्मा देउवाको हरेक निर्णयमा प्रभाव राख्न सक्ने नेताका रूपमा चिनिन्छन्।

सचिवालयमा देउवा पत्नी आरजु राणाको चाहना निर्णायक भूमिका रहने गरेको देखिन्छ नै। अहिले प्रधानमन्त्री कार्यालयमा तानिएको राज्यमन्त्री उमेश श्रेष्ठ राणाकै इच्छामा मन्त्री बनेका थिए ।

निजी सचिवालयले के गर्छ ?

-प्रधानमन्त्रीसँग मन्त्री, पदाधिकारी, कूटनीतिज्ञ तथा विभिन्न व्यक्तिको सम्पर्क तथा भेटघाटको प्रबन्ध मिलाउने र सोको अभिलेख व्यवस्थापन

-सल्लाहकारसँगको समन्वयमा प्रधानमन्त्रीको दैनिक कार्य तालिका तयार

-प्रधानमन्त्रीको भ्रमण कार्यक्रम, कार्यसूची तथा समय व्यवस्थापन र सुरक्षासम्बन्धी समन्वय

-प्रधानमन्त्रीबाट निर्देशन भएका राष्ट्रिय महत्वको विषयमा श्रव्य दृश्य कार्यक्रम उत्पादन र प्रसारणसम्बन्धी कार्यमा समन्वय

-प्रधानमन्त्रीसमक्ष प्राप्त हुने गुनासो, सुझाव तथा अन्य जनसम्पर्कसम्बन्धी व्यवस्थापकीय कार्य

-प्रधानमन्त्रीसमक्ष पेस गर्नुपर्ने निवेदन, प्रतिवेदन, ज्ञापन पत्र, फाइललगायतका कागजात पेस र सोको अभिलेखीकरण

-प्रधानमन्त्रीबाट भएको निर्णय तथा निर्देशन कार्यान्वयनका लागि सम्बन्धित महाशाखामार्फत मन्त्रालयहरूमा पठाउने

-प्रधानमन्त्रीका तर्फबाट हुने निर्देशन, सन्देश, शुभकामना तथा वक्तव्यको मस्यौदासम्बन्धी कार्य

-प्रधानमन्त्रीको अध्यक्षता वा संयोजकत्वमा हुने विभिन्न बैठकको समन्वय र सहजीकरण

-नेपाल सरकारका मन्त्रीहरूको आन्तरिक भ्रमणसम्बन्धी कार्यको सहजीकरण 

कात्तिक २, २०७८ मंगलबार १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।