पापिनी माइजू जसले १३ वर्षकी भान्जीलाई भारतको कोठीमा बेचिन्
अन्य दिदीबहिनी पनि बिहे गरेर आ–आफ्नो घर गए। एक मात्रै दाइ पनि बिहे गरेर छुट्टिए। घरमा वृद्ध आमा र उनी मात्रै। अभावै अभाव। न आफ्नो घर न जग्गा जमिन नै।
गाउँकै स्कुलमा कक्षा सात पढ्दै थिइन् पहाड। घरको आर्थिक अभावले उनको पढाई पनि छुट्ने अवस्था आयो। यो सबै थाहा थियो पहाडकी आफ्नै कान्छी माइजू नस्पतीलाई। उनकी छोरी तारा र ममता दिल्लीमा नै काम गर्थे। उनीहरू भारतमा गएर बेलाबखत गाउँमा फर्कन्थे।
सात वर्ष अगाडी पहाडकी कान्छी माइजू र उनकी छोरी ममताले दिल्लीमा आफूहरूले चिनेको सेठको कागज कम्पनी रहेको र त्यहाँ काम गर्दा महिनामा पाँच हजार रुपैयाँ घर पठाउने पहाडकी आमालाई सुनाइन्। उनकी आमाले बालक छोरीलाई भारत नपठाउने निर्णय गरिन्। तर उनीहरूले निरन्तर पहाड र उनकी आमालाई फकाइरहे।
‘म बहिनीलाई राम्रो काममा लगाउँछु, तपाईँका दुःख पनि कम हुन्छ भन्दै मेरी आमालाई माइजू र दिदीहरूले फकाइन्,’ पहाडले भनिन्, ‘आमाले सानै उमेरकी छोरीलाई अर्काको देश पठाउन्न भन्दा पनि माइजू र दिदी बारम्बार घरमा आउँथे। आमा नभएको बेला मलाई फकाएर लगिन्।’
पहाडलाई उनकी माइजू नस्पतीले आधा बाटोसम्म पुर्याइदिइन। त्यसपछि ममताले दिल्ली पुर्याइन्। नस्पतीकी अर्की छोरी तारा दिल्लीमै बस्थिन्।
राम्रोसँग वीरेन्द्रनगर बजार नदेखेकी पहाडलाई भारतका विभिन्न स्थानहरू देख्दा धेरै खुसी लाग्यो।
दिल्ली पुगेपछि पहाडलाई उनकी मामाकी छोरी ताराले एक दुई दिनमा काममा लाग्नुपर्ने भन्दै बजारमा सपिङ गर्न लगिन्। पहाडलाई कागज उद्योगमा काम गर्न हतार थियो। छिटो छिटो काम गरेर घरमा सहाराविहीन बुढी आमालाई पहिलो महिनाको तलब समयमा नै पठाउनु थियो उनलाई।
एक दुई दिनपछि उनलाई कोठीमा ग्राहकहरूसँग बस्नुपर्ने भने तारा र ममताले। उनी भर्खर १३ वर्षकी थिइन्। उनी छाँगाबाट खसेजस्तै भइन्। त्यति बेला रजस्वला समेत भएको थिएन उनको। त्यो कुरा सुनेपछि मात्रै पहाडले बुझिन् ममता र ताराले उनलाई कागज कारखानामा काम गर्ने भनेर कोठीमा पुर्याएको।
तारा र ममताले दिल्लीको जिपी रोडमा सञ्चालन गरेको कोठीमा यातना दिएर उनलाई जबरजस्ती यौन व्यवसायमा लगाए। १३ वर्षको कलिलै उमेरमा उनले दैनिक १५ देखि ४० जनासम्म ग्राहकसँग बिना साधन यौन सम्बन्ध राख्नुपर्यो। महिनावारी भएको बेलामा ग्राहक आउँथे।
उनको शारीरिक विकास चाँडो गराउन हर्मोन बढाउने औषधीहरू खुवाउँथे।
कोठीमा पुगेको सात महिनामा उनको रजस्वला भयो। तीन महिनामै उनको गर्भ बस्यो। त्यो कुरा उनले चालै पाइनन्। ग्राहकसँग यौन सम्बन्ध राख्दा अलिअलि रगत देखिन्थ्यो। एक दिन ग्राहकसँग सम्पर्क गर्दा एक्कासि तल्लो आङ खसेजस्तै भयो। उनलाई धेरै पीडा भयो। त्यसको दुई दिनसम्म उनी धेरै बिरामी भइन्। खाना नै खान छोडिन्।
बल्ल उनलाई अस्पताल लगियो। अस्पतालमा भिडियो एक्स-रे र अन्य जाँच गर्दा पहाड गर्भवती भएको कुरा थाहा भयो। डाक्टरले सोधिखोजी गरे। तारा र ममताले नक्कली श्रीमान् खडा गरेर डाक्टरका आँखा छले।
भित्र पाठेघरमा ब्लड सर्कुलेसन बन्द भएकोले उनको अप्रेसन गरेर बच्चा र पाठेघर निकालेर फाल्नुपर्ने अवस्था अवस्था आयो।
‘मलाई दैनिक १५ देखि ४० जनासम्मलाई यौन सम्पर्क गराउन लगाइन्थ्यो। ग्राहकसँग जान नमाने पिटिन्थ्यो। एक दिन त्यहीको लोकल ग्राहकसँग यौन सम्पर्क गरिरहेका बेला मेरो तल्लो आङ नै खस्ला जस्तो भयो, एक दुई दिन त खाना खानै सकिन। अनि तारा र ममता दिदीले अस्पताल लैजानुभयो,’ पहाडले भनिन् ‘अस्पताल गएपछि मात्रै थाहा भयो म गर्भवती भएकी रहेछु । मेरो अप्रेसन गर्नुपर्ने भएपछि दिदीहरूले अर्को मान्छेलाई आफ्नी श्रीमती हो भनेर सही गर्न पठाए।’
उनको अप्रेसन सकिएपछि ममता र ताराले उनलाई भन्नुसम्म भने । पाठेघर फालिसकेकाले अब बच्चा पाउन पनि सक्दैनौँ। बाँझो हुने भइस्। झन् कोठीमा काम गर्न सहज हुने भयो भने।
पाठेघर झिकेपछि डाक्टरले ६ महिनासम्म श्रीमानसँग यौन सम्पर्क नगर्नू भनेका थिए। तर उनलाई एक महिनामै फेरि कोठीमा पुर्याएर धन्दा गर्न लगाइयो। खाना र कपडा बाहेक उनलाई एक रुपैयाँ पनि दिन्थेनन्। ग्राहकबाट बाहिर नै पैसा मागिन्थ्यो।
बारम्बार घर पठाइदिन आग्रह गरे पनि उनीहरूले उल्टै यस्तो काम गर्छे भनेर गाउँ भरी फैलाइदिन्छौँ भनेर धम्काउँथे।
ममता र ताराले सञ्चालन गरेको कोठीको ५६ नम्बर कोठामा आफूलाई राखिएको पहाडले बताइन्। उनका अनुसार उक्त कोठीमा धेरै नेपाली केटी अझै छन्।
उनले त्यही कोठीमा १६ महिना नारकीय जीवन बिताइन्। एक दिन पहाड खाटबाट लडेर घाइते भइन्। ताराले स्कुटरमा राखेर उपचारका लागि भन्दै अस्पताल लाँदै थिइन्। उनले बिचैमा रोक्न आग्रह गरिन्। धेरैचोटी आग्रह गर्दा पनि स्कुटर रोक्न नमानेपछि हाम फाल्छु भनेर धम्क्याइन्। उनले स्कुटी रोकिन्। उनी त्यही मौकामा भाग्न सफल भइन्।
दुई दिनपछि उनी मुम्बई बसपार्कमा पुगेर अलपत्र परिन्। उनलाई त्यहाँका एक स्थानीय महिलाले धर्म छोरी बनाएर राखिन्। उनले आफ्ना दाइको नाम फेसबुकमा खोजिन्। तर भेट्टाइनन्। नेपाल आउन चाहन्थिन् उनी तर, धर्म आमाले उनलाई नेपाल कहिल्यै पनि जान नपाइने सुनाएपछि त्यहाँ पनि उनलाई पीडा भयो।
त्यहाँबाट भागेर उनी मुम्बइकै एक अस्पतालमा काम गर्न थालिन्। त्यो अस्पतालमा उनले बिरामीको स्याहारसुसार गर्थिन्। उनको तलब ३० हजार रुपैयाँ भए पनि उनको हातमा १५ हजार रुपैयाँ मात्रै पर्थ्यो। १५ हजार रुपैयाँ उनलाई काम लगाउने एजेन्टले लिने गर्थे।
६ महिना जति त्यो हस्पिटलमा काम गरेपछि नेपाल जाने गाडीको खोजी गरिन्। उनलाई गाउँको नाम, आमा र दाइको नाम मात्रै कण्ठ थियो। सोधिखोजी गर्दै दिल्लीबाट नेपाल आउने गाडी चढिन्। गाडी चढ्दा समेत उनलाई डरले छोडेको थिए। गाडीको तीन वटा सिट बुक गरेर आफू सिट तल बसेर भए पनि जन्मभूमिमा आइन्।
भदौको महिना तिजको चहलपहल सुरु भएको थियो। सात वर्षपछि भदौ २९ गते उनी गाउँ आइपुगिन्। बजारमा सोधेपछि गाउँलेले उनलाई घर देखाइदिए। पहिलो पटक आमालाई देखेपछि पहाड धेरै खुसी भइन्। घरमा आमा र उनको रुवाबासी चल्यो। १३ वर्षको उमेरमा गएकी उनी सात वर्षपछि २० वर्षकी भएर घर फर्किन्।
‘त्यो कोठीमा १६ महिना मेरा लागि १६ वर्षजस्ता भए, त्यहाँबाट फुत्किन धेरै सङ्घर्ष गरेँ तर फुत्किन सकिन,’पहाडले भनिन्, ‘आमा जिउँदै हुनुहुँदो रहेछ, आमालाई देखेपछि बहुत खुसी लाग्यो। घर पुग्दा स्वर्गमा आइपुगेजस्तो अनुभूति भयो।’
उनको खोजीका लागि उनकी अमाले सात वर्ष सङ्घर्ष गर्नु पर्यो। पटक–पटक प्रहरी कार्यालय धाइन्। दिल्ली पुर्याउने नस्पतीसँग छोरी ल्याइदिन हारगुहार गरिन्। नस्पती र उनकी छोरीहरूले अर्कै व्यक्तिसँग बिहे गरेर गएको झुटो कुरा सुनाएका थिए।
६ वर्षको निरन्तर सङ्घर्षपछि प्रहरीले अघिल्लो वर्ष माघ १८ गते मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा दर्ता गर्यो। असोजमा नस्पतीलाई पक्राउ गरे पनि तार र ममता भने भारतमै भएका कारण प्रहरी पक्राउ गर्न सकेको छैन।
‘गत वर्ष नै मुद्दा दर्ता भए पनि हामीसँग बालिका बेचिएको प्रमाण केही थिएन। मुद्दा दर्ता भए पनि कसैलाई पक्राउ गरेका थिएनौँ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घतीले भने, ‘बेचिएकी बालिका स्वयं दिल्ली–मुम्बई हुँदै नेपाल आएपछि एक महिलालाई पक्राउ गरेर अदालतबाट पुर्पक्षका लागि जेल चलान भएकी छिन्। अन्य दुई जना भारततिर छन् भन्ने जानकारी आएकाले विस्तृत अनुसन्धान प्रक्रिया सुरु गरेका छौँ।’
कोठीमा बेचिएको भन्ने गाउँमा हल्ला चलेपछि पहाडलाई आफन्त र समाजबाटै डर लाग्ने गरेको छ। उनलाई अहिले पनि राम्ररी नेपाली बोल्न आउँदैन। आफन्त र समाजका व्यक्तिहरूले उनलाई नकारात्मक व्यवहार गर्न थालेपछि अहिले दिदीको छोरीहरूसँग बस्दै आएकी छन्। उनकी ७० वर्षीय आमा जङ्गलको छेउमा गाउँलेले बनाइदिएको छाप्रोमा बस्दै आएकी छन् भने दाइ अरूको घरमा भाडामा बसेका छन्।
गाउँमा आउँदा जुन खुसी थियो आफन्त र गाउँलेको व्यवहारका कारण दुखी बनाएको उनको गुनासो छ।
‘मैँले सात वर्षको नारकीय जीवनबाट फुत्किएर गाउँमा आएँ, मलाई गाउँ पुग्दा स्वर्ग पुगेजस्तो लाग्थ्यो, तर अहिले आफन्त र गाउँलेबाटै तिरस्कृत भएपछि चिन्ता लाग्ने गरेको छ। किन बाँचेको छु जस्तो लाग्छ,’पहाडले भनिन्’ ‘गाउँमा बस्न नसक्ने अवस्था आएपछि म दिदीको छोरीहरूसँग बस्दै आएकी छु। कसैको सहयोग र साथ भए पढ्ने धोको छ।’
कात्तिक २, २०७८ मंगलबार १५:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।