माओवादी केन्द्रकाे बैठक: पुस दाेश्राे साता राष्ट्रिय सम्मेलन तय, अन्यकाे कार्यतालिका हेरफेर

बैठकले टोल सम्मेलन अगामी कात्तिक २७ गतेसम्म, वडा सम्मेलन आगामी मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
यसअघि टोल सम्मेलन ६ कात्तिक, वडा सम्मेलन १३ कात्तिक, पालिका सम्मेलन ४ मङ्सिरमा सम्पन्न गर्ने तालिका बनाइएको थियो। तोकिएको समयभित्र सम्बन्धित निकायका सम्मेलन सम्पन्न गर्न समयाभाव भएपछि माओवादीले कार्यतालिका हेरफेर गरेको हो।
यस्तै बैठकले पार्टी सदस्यता नवीकरणको म्याद यही कात्तिक २७ सम्म थप गरेको छ। यसअघि पार्टी सदस्यता नवीकरणको म्याद असोज मसान्तसम्म तोकिएको थियो। राष्ट्रिय सम्मेलनको कार्यतालिकामा भने कुनै हेरफेर नभएको महराले बताए।
यस्तै आगामी पुसको दोस्रो साता माओवादीको राष्ट्रिय सम्मेलन तय भएको छ।
कात्तिक २, २०७८ मंगलबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।