पँहेलपुर बनेर झुलेको धान लगातारको वर्षाले डुब्यो 

पँहेलपुर बनेर झुलेको धान लगातारको वर्षाले डुब्यो 

धान उत्पादनको पकेट क्षेत्र रुपन्देहीका ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानको धानबाली वर्षाले डुबेको छ। तिलोत्तमा, सैनामैना, कञ्चन गाउँपालिका, देवदह लगायतका किसानले पनि वर्षाका कारण क्षति व्यहोर्नु परेको छ। रुपन्देहीमा ८२ हजार हेक्टर जमिनमध्ये यो वर्ष ६५ हजार भन्दा बढी हेक्टरमा धान खेती गरिएको छ।

अविरल वर्षाका कारण ७ कठ्ठा खेतमा लगाएको धान भिजेर नष्ट भएको देवदह–५, का किसान डोलबहादुर मल्लले बताए। दशैं सकिए लगत्तै धान काट्न सुरु गरिएको र काटेर राखेको धान स्याहार्न नपाउँदै अविरल वर्षाले भिजेर क्षति पुगेको मल्लले बताए।

७ कठ्ठा खेतमा करिब ३० मुरी धान फल्ने उनले बताए। ‘बेमौसमी वर्षाका कारण किसानले लगाएको धानमा क्षति पुर्याएको छ,’उनले भने,‘यस्तो अवस्थामा स्थानीय तहले किसानलाई सहयोग गर्नु पर्छ।’

वर्षाका कारण किसानले लगाएको धानवालीमा क्षति पुगेको कोलुवा कृषि सहकारी संस्थाका अध्यक्ष चक्रपानी न्यौपानेले बताए। 

जिल्लाभित्र अगौते अन्तर्गत राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केही भारतीय उन्नत जातका धान किसानले लगाएका छन्। त्यस बाहेक मध्यम जातमा गोरखनाथ, लोकनाथ, मकवानपुर १, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको खेती गरिएको छ।

लुम्बिनी प्रदेश सरकार कृषि विकास निर्देशनालयले भने हालसम्म क्षतिको विवरण नआएको जनाएको छ। जिल्लाहरूबाट क्षति भए नभएको विवरण आउन बाँकी रहेको निर्देशनालयका सहायक सूचना अधिकारी अनिल कुमार कानु बानियाले बताए।

कात्तिक १, २०७८ सोमबार १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।