कोइलाबासका ५ सयभन्दा धेरै नागरिकता पाउनबाट वञ्चित

कोइलाबासका ५ सयभन्दा धेरै नागरिकता पाउनबाट वञ्चित

कशवलाई २०४४ साल चैतमा टोली प्रमुखले कोइलाबासका बासिन्दा भएको प्रमाणित कागज बनाइदिए। २०६३ सालमा नागरिकताको घुम्ती टोली आउँदा उनको सिफारिस बन्यो। 

तर, उनले अहिलेसम्म नेपाली नागरिकताको प्रमाणपत्र पाएका छैनन्। ‘२०६३ सालमा टोली नागरिकता वितरण गर्न यहाँ आयो, दिउँसोसम्म धेरैले नागरिकता पाए, साँझ झगडा भएपछि नागरिकता टोली रातारात भाग्यो,’ कशव भन्छन्, ‘त्यसपछि पनि नागरिकता बनाउन गएँ तर विभिन्न बहानामा टारेर मात्र पठाउँछन्।’

१ हजार ३ सय जनसङ्ख्या रहेको कोइलाबासका ५ सय बढी नागरिकले नागरिकता पाउन सकेका छैनन्। 

गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अद्धिम सिद्धिकी भने स्थानीय तहको निर्वाचनपछि पनि नागरिकता दिन वडा तहले पहल गरेको बताउँछन्। वडा अध्यक्ष सिद्धिकी भन्छन्, ‘पुस्तौँ कोइलाबासमै बिताएकाहरूको पनि नागरिकता छैन, हामी निरीह मात्र भएका छौँ।’

सुनसान नाका  

कुनै बेला ‘नसुत्ने सहर’का रूपमा चिनिने कोइलाबास नाका अहिले सुनसान छ।  व्यापारीहरूले कोइलाबास छोडेर देउखुरी, घोराही, लमही र भारतमा व्यापार गर्न लागेपछि नाका सुनसान बनेको हो। 

वि.सं. २०२५ सालमा कोइलाबास–देउखुरी लमही कच्ची सडकले जोडिएको थियो। कच्ची सडकले जोडिएको भए पनि व्यापारीहरू राँगा, घोडा, खच्चडमा व्यापार गर्न कोइलाबास पुग्थे। त्यही अवस्थामा कपिलवस्तुको कृष्णनगर नाका खुल्यो। त्यो नाका सहज हुन थालेपछि व्यापारीहरूले कृष्णनगर भन्सार प्रयोग गर्न थाले। कृष्णनगर खुलेपछि कोइलाबास शून्य जस्तै बनेको महेन्द्र निमाविका पूर्व प्राचार्य मधुरी ठाकुरले बताए।

‘पैसा भएकाहरू देउखुरी, घोराही र भारतमा गए,’ उनले भने, ‘पैसा नभएका मात्र कोईलाबासमा बसे।’ 

कुनै बेला गुलजार सहर बनेको कोइलाबासका भवनहरू भग्नावशेष अवस्थामा छन्। घरहरू रुखले ढाकिएका छन्। गढवा गाउँपालिका वडा नं. ८ मा पर्ने कोइलाबासका जनता अहिले पनि आधारभूत सेवा सुविधाबाट वञ्चित छन्। खानेपानी, स्वास्थ्य, शिक्षामा धेरैको पहुँच पुगेको छैन। बल्लतल्ल हुलाकी राजमार्ग कालोपत्रे भएसँगै कोईलाबास र लमही यात्राको समय भने केही घटेको छ। 

कुनै समयमा रुकुम, सल्यान, प्युठान, दाङ, देउखुरी लगाएका ठाउँबाट नुनदेखि सुन खरिद बिक्री गर्न व्यापारीहरू कोइलाबास नाकामा जान्थे। तर अहिले यही कोईलाबास नाकाका जनता बजार गर्न भारतको तुलसीपुर जान्छन्। 

२०३० साल भदौ ४ गते कोइलाबास आएका महेन्द्र निमावि विद्यालयका पूर्व प्राचार्य ठाकुर कुनै बेला २० हजार भन्दा धेरै जनसङ्ख्या रहेको कोइलाबासमा अहिले  मुस्किलले १ हजार ३ सय मात्र जनसङ्ख्या रहेको बताउँछन्। ०७४ सालको स्थानीय निर्वाचनमा मतदाता सङ्ख्या ३ सय ५० मात्र रहेको उनले बताए। 

नेपाल बैङ्क, नेपाल राष्ट्र बैङ्क, भन्सार, प्रहरी चौकी, सशस्त्र प्रहरी बल, सिडिओ कार्यालयको शाखा कार्यालय रहेको कोईलाबासमा अहिले प्रहरी चौकी, भन्सार र सशस्त्र प्रहरी बलको क्याम्प मात्र छ। 

तत्कालीन गाउँपञ्चायत र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादीले बम पड्काएर ध्वस्त पारेको सशस्त्र प्रहरी बलको भवन पनि जीर्ण अवस्थामा छ। साना उद्योगका संरचना, तोरी मिल भएका संरचना पनि अहिले जीर्ण अवस्थामै छन्। 

स्थानीय तहका केही प्रयास

माओवादीले थालेको सशस्त्र द्वन्द्वको तारो बनेको कोइलाबासमा स्थानीय तहमा नेतृत्व आएपछि विद्युत्, सडक, खानेपानी, शिक्षा, रोजगारका क्षेत्रमा काम भइरहेको वडा अध्यक्ष सद्धाम सिद्धिकी बताउँछन्। खानेपानीको समस्या समाधानका लागि डिप बोरिङ तथा विद्युत् विस्तारको काम भइरहेको उनले बताए। वडा कार्यालय जोड्ने ३ वटा कच्ची सडक निर्माण र मुसी नाका जोड्ने ट्र्याक खोलिएको उनले बताए।

उनका अनुसार गाउँपालिकाले कोईलाबास स्वास्थ्य चौकी निर्माण र ल्याब सञ्चालन, खब्री, मुसी र कोइलाबासमा गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको छ।

कात्तिक १, २०७८ सोमबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।