माओवादीले बसालेको ‘इखेनी गाउँ'को बाध्यता : भारतको काला पहाड नगई छाक टर्दैन

माओवादीले बसालेको ‘इखेनी गाउँ'को बाध्यता :  भारतको काला पहाड नगई छाक टर्दैन

सशस्त्र द्वन्द्वताका तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले जग्गा नभएका भूमिहीन सुकुम्वासीलाई घरजग्गा दिने अभियान अन्तर्गत जङ्गल मासेर बसालेको बस्ती हो यो।

यहाँ सुर्खेत, जाजरकोट, कालिकोट, दैलेख, प्युठान र अछाममा ८५ घरधुरीको बसोबास छ। बस्ती त बस्यो। तर आवश्यक पूर्वाधार केही भएन। भेरी नदीको किनारमा रहेको यो बस्तीले शिक्षा, स्वास्थ्य कुनै सुविधा पाएको छैन। भोकमरी, गरिबी र बेरोजगारीको अभाव झेल्दै छ बस्ती।

माछा हैन बल्छी देऊँ किन भनिएको हो त्यो प्रस्ट्याउँछ यो बस्तीले। भूमिहीनको समस्या समाधान गर्ने माध्यम जग्गा मात्रै हैन भन्ने प्रमाण हो इखेनी।

कमाउन गएको छोरो फर्किएनन्

बराहताल–६ इखेनीका ६५ वर्षीय चक्र विकको पुर्ख्यौली घर अछामको तुर्माखाँद गाउँपालिका हो। उनको तीन पुस्ताले साहुको घरमै काम गरेर बितायो। साहुले दिएको एक गडो बाहेक उनीहरूसँग अरू केही सम्पत्ति थिएन। उनले २२ वर्षसम्म साहुको घरमा काम गरेर आफ्नो परिवार पाले।

उनलाई लाग्यो आफ्नो पुस्ताले साहुकै घरमा काम गरेर पेट मात्र पाल्दा पछिल्ला पुस्ताले धेरै दुःख पायौँ। अब यसपछिका पुस्ताले यसरी अरूको घरमा काम गर्न नपरोस् भनेर उनले योजना बनाउन थाले।

यसै बेला उनले इखेनीमा माओवादीले भूमिहीन सुकुम्वासीलाई जग्गा दिएर बस्ती बसाउँदै छ भन्ने सुने। उनी जहान केटाकेटी लिएर अछामबाट २०६२ सालमा सुर्खेत आए।

उनले तीन रोपनीभन्दा बढी जग्गा पनि पाए। आफ्नो भागमा परेको जङ्गललाई फाँडेर उनले खेती लगाउने जग्गा बनाए। अछामबाट आउँदा उनका चार बालबच्चा, आफू र श्रीमती थिए। केही वर्षपछि उनका तीन सन्तानको जन्म भयो।

थोरै जग्गा, कम उत्पादन, गाउँमा रोजगारीको अभाव जस्ता कुराहरूले चक्रको परिवारलाई धेरै दुःख भयो।

अनि ठुला भएका तीन छोराहरूलाई भारतको उत्तराखण्ड काला पहाडमा गाउँकै मेटसँग पठाउन थाले। मेटले (मान्छे लिएर जाने ठेकेदार) काममा जानु पहिले घरमा ८-१० हजार रुपैयाँ बयाना दिन्थे। त्यो पैसाले घरमा केही खाद्यान्न र गाडी भाडा बनाएर तीन चार महिना घन, घैँटी, बेल्चा चलाउने र अन्य मजदुरीको काम गर्थे। पुसमा गएका उनीहरूलाई वैशाखमा आउँदा पनि लिएको बयाना तिर्न हम्मे–हम्मे पर्थ्यो।

दुईचार हजार रुपैयाँ बचाएर ल्याउँथे। त्यसैले घरपरिवारलाई लुगा फाटो र साहुलाई उधारो खाद्यान्न माग्न सहज बनाउँथ्यो।

केही वर्षपछि छोराहरूले विवाह गरेर आमा बुवाबाट अलग भए। एउटा छोराले यस्तै विभिन्न समस्याहरूका कारण आत्महत्या गरे। अनि चक्र बहादुरलाई झनै समस्या भयो। उनका कान्छो छोरा भरत विक गाउँकै जनगारण प्रावि विद्यालयमा कक्षा–५ पढ्दै थिए।

घरमा बिहान बेलुकाको छाक टर्नै मुस्किल भएपछि चक्रले दुई वर्ष पहिले उनलाई पढाई छुटाएर गाउँका मेटसँग काला पहाड पठाए। पहिलो पटक गएका भरतले ५ हजार रुपैयाँ नेपाली बोकेर घर फर्के। फेरि अर्को (गत साल) सिजनमा कमाउन भनेर गएका भरतले १७ वर्षको कलिलो उमेरमै ज्यान गुमाए। ढुङ्गा खानीमा पत्थर निकाल्दै गर्दा  च्यापिएर उनको मृत्यु भयो।

‘अछाममा मेरा पुर्खादेखि साहुको घरमा बसी काम गर्ने र जहान केटाकेटी पाल्ने चलन थियो, मैँले यसको अन्त्य गरी आफ्ना सन्तानको भविष्य राम्रो बनाउँला भनेर यहाँ आए,’उनले भने ‘जग्गा त पाइयो तर, रोजगारी र अन्य आवश्यकता परिपूर्ति गर्न पाइएन, कमाउन गएको छोरो पनि फर्किएन।’

यस्तै ७० वर्षीय कवि विकका छोरा किशोर विकको पनि पीडा उस्तै छ। ४ वर्ष पहिले भारत उत्तराखण्डको गौरीकण्टमा २५ वर्षीय छोरा किशोर विकलाई गुमाउन पर्यो।

किशोरको पनि काला पहाडमा काम गर्दागर्दै  भिर माथिबाट आएको ढुङ्गाले टाउकोमा लगेर मृत्यु भयो। उनका तीन जना बालबच्चा छन्।  गाउँघरमा खेतीपाती गरेर छोटो समयको सिजनमा नै केही पैसा कमाउन सकिने भएकोले पनि यहाँका नागरिकहरूको काला पहाडप्रति रुचि जागेको हो।

यहाँका ८५ घरधुरी मध्ये ७० घरधुरी दलित समुदायका छन् भने १५ घरधुरी जनजाति, क्षेत्री र ब्राह्मण समुदायका रहेका छन्।

भारतको काला पहाडमा काम खुल्ने सिजनमा इखेनी बस्तीमा रहेका ४६३ जनसङ्ख्यामध्ये ९५ प्रतिशत भारत जाने गरेको स्थानीय युवा श्याम विकले बताए।

‘गाउँमा कक्षा ५ सम्म मात्रै विद्यालय छ, कक्षा ६ देखि माथि पढ्नका लागि गाउँदेखि घण्टौँ हिँडेर टाढा जानुपर्छ,’ उनले भने, ‘ काला पहाड त वर्षमा दुई सिजन काम पाइन्छ। त्यसैले यहाँका मानिसहरूलाई बिहान साँझको छाक टार्न काला पहाडकै भर पर्नु पर्छ।’

 यहाँका परिवारले छोराछोरीलाई समेत लिएर भारत जाने गरेका छन्।

आफूहरूलाई बसाल्दा अलिअलि जग्गा दिइए पनि सिचाइको सुविधा र खेतीयोग्य नभएकोले बाँझै रहने गरेको स्थानीय मनकला विकले बताइन् ।

माओवादीले बस्ती बसालेको बेला सुरुसुरुमा भने उनीहरूले नै खाद्यान्न जोहो गरिदिएका थिए। भर्खरै बस्तीमा खानेपानी समस्या टरेको छ। सुरुदेखि नै भेरी नदीबाट पानी बोकेर खाने गरेका स्थानीयलाई अब भने त्यो झन्झट छैन।

एक महिना अघिदेखि भेरीबाट लिफ्टिङ गरेर बस्तीका प्रत्येक घरमा खानेपानीको धारा पुगेको छ। गैरसरकारी संस्था रिनुएवल वर्ल्ड र बराहताल गाउँपालिकाको सहकार्य तथा सुन्दर नेपाल संस्थाको सहजिकरणमा गाउँमा ८६ वटा धारा निर्माण गरिएका छन्। ६६ लाख १५ हजारको लागतमा सोलार पम्पिङ मार्फत आयोजनाको काम सम्पन्न गरिएको हो ।

गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा आफ्नो बाटोमै बच्चा जन्मिएको स्थानीय गङ्गा सुनारले बताइन्।

‘यहाँबाट स्वास्थ्य केन्द्र पुग्न तीन घण्टा पैदल हिँड्नपर्छ, बर्खामा गाडी पनि पुग्दैन,’गङ्गाले भनिन्, ‘भदौमा म सुत्केरी हुने थिएँ, व्यथाले च्यापेपछि स्टेचरमा लिँदै गर्दा बाटोमै बच्चा जन्मियो । स्वास्थ्य चौकी नजिक नहुँदा पनि नियमित चेकजाँच गर्न समेत पाइँदैन।’

कात्तिक १, २०७८ सोमबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।