कुहिएको चामल ‘रि पोलिसिङ’ गरेर बिक्री : परीक्षण गर्न नेपालगन्ज पठाइयो
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आइतबार कम्पनीको सुर्खेत स्थित प्रादेशिक कार्यालयमा रहेको एक हजार ९ सय ७५ क्विन्टल चामलको नमुना सङ्कलन गरेको थियो।
सोही चामलको नमुना आज सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज पठाइएको डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले जानकारी दिए।
खाद्य कम्पनीको काठमाडौँ स्थित थापाथली गोदाममा रहेको कुहिएको चामललाई ‘रि पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने समाचार सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले असोज ६ गते चामल बिक्री वितरणमा रोक लगाएको थियो।
‘काठमाडौँबाट कुहिएको चामल रि पोलिसिङ गरेर ल्याइएको भन्ने समाचारआएपछि हामीले संयुक्तरुपमा अनुगमन गरी चामल बिक्रीमा रोक लगाएका थियौँ,’ प्रमुख थापाले भने, ‘सुर्खेत ल्याएको चामल विभागले रोक्का राखेको हो कि होइन भनेर असोज ६ गते मैँले यहाँबाट चिठ्ठी पठाएँ। ८ गते विभागको टोलीले काठमाडौँ गोदाममा अनुगमन गरेछ। चामल नभेटिएकोले आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडी बढाउन भन्दै असोज २४ मा विभागबाट पत्र आयो। सोही अनुसार नमुना सङ्कलन गरी नेपालगन्ज पठाएका छौँ।’
खाद्य प्रविधि विभागले डिभिजन कार्यालय सुर्खेतलाई उक्त चामलको ल्याब परीक्षणका लागि नमुना सङ्कलन गर्न निर्देशन दिएपछि संयुक्त अनुगमन टोलीले नमुना नेपालगन्ज पठाएको हो।
उनका अनुसार ल्याबबाट परीक्षण नतिजा आएपछि मात्र चामल खान योग्य हो वा होइन भन्ने थाहा हुनेछ। चामलमा मिसावट भएको प्रमाणित भए खाद्य ऐन २०२३ अनुसार कम्पनीलाई कारबाही हुनेछ।
कात्तिक १, २०७८ सोमबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।