सुदूरपश्चिम प्रदेश: सवारी दुर्घटनामा दशैंभरमा ९ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेश: सवारी दुर्घटनामा दशैंभरमा ९ जनाको मृत्यु

कैलालीः गत असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा ९ जनाको ज्यान गएको छ। यस्तै १७ जना गम्भीर र ६ जना सामान्य घाइते भएका छन्।  

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारी साधन दुर्घटनामा परेका छन्। दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन्। कूल ११ वटा माेटरसाइकल दुर्घटनामा परेका हुन्। यस्तै जीप,कार दुई वटा, ट्रयाक्टर र बस एक/एक वटा छन्।      

चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको ट्राफिक कार्यालयले जनाएकाे छ। साथै दशैंका समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।    

साना सवारी चालकले लापरबाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण, साँघुरा सडक र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए। उनले भने, “चाडपर्वको बेला सबैलाई समयमा गन्तव्यमा पुग्न हतार हुन्छ, सडकको खराब अवस्थाले पनि दुर्घटना निम्त्याउने गर्दछ।” 

असोज ३१, २०७८ आइतबार १०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।