बेनी–बगरफाँट–बरङ्जा कृषि सडकको स्तरोन्नति सुरु

बेनी–बगरफाँट–बरङ्जा कृषि सडकको स्तरोन्नति सुरु

म्याग्दीः जिल्लाको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरु भएको छ। ट्रयाक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको  ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट चार लाख ९५ हजार गरी  ५३ लाखको लागतमा स्तरोन्नतिको काम सुरु भएको हो।

विसं २०६३ मा सडकको ट्रयाक खुलेको थियो। त्यसैगरी हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्नका लागि बाटो विस्तार र स्तरोन्नतिको काम पनि भइरहेको छ। जिसी निर्माण सेवाले निर्माणको जिम्मा लिएको सो सडकको स्तरोन्नति कार्य ढिला भएको भनेर स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए।

सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्रयाक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए। उनका अनुसार सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मी र थामडाँडामा सय मिटर नयाँ ट्रयाक खोलिएको छ।

सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयले बताएका छन्। यो सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए।

असोज ३१, २०७८ आइतबार ०८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।