दसैंको आशिषमा पुरुषभन्दा महिला शक्तिशाली
दसैंको टीका लगाउँदा पुरुष र महिलाका लागि दिने आशिष फरक-फरक छ। पुरुष र महिलाको प्रकृति, चरित्र, स्वभाव तथा जीवनशैलीको आधारमा महिला र पुरुषका लागि आशिष पनि छुट्टाछुट्टै तयार गरेको पाइन्छ। पुरुषलाई पुरुषकै स्वभाव अनुसार मिल्ने र महिलालाई महिलाकै स्वभाव अनुसारको आशिष दिइने परम्परा देखिन्छ।
दसैंको आशिषमा पुरुषको तुलनामा महिलालाई शक्तिको प्रतिकका रूपमा चित्रित गरिएको छ। महिलालाई शक्तिशाली देवीका रूपमा मानिएको छ। पुरुषलाई दिइने आशिषको श्लोक भने परम्परागत रूपमा आएको देखिन्छ। यही ग्रन्थबाट लिइएको हो भन्ने प्रष्ट तथ्य पाइँदैन।
पुरुषलाई दिइने आशिषको श्लोक र अर्थ
आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।
शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।
यो पुरुषलाई दिइने आशीर्वादको श्लोक हो। पुरुषलाई आशिष दिँदा उच्चारण गरिने शब्द आयुद्रोणसुतेको अर्थ द्रोणाचार्यका छोरा असोत्थामाको जस्तो आयु होस् भन्ने हो। आचार्य द्रोणाचार्यका छोरा असोत्थामा अष्टचिरञ्जीवीहरू मध्येका एक हुन्। त्यसैगरी श्रियो दशरथेको अर्थ रामका पिता दशरथको जस्तै श्रीले युक्त होस् भनिएको हो।
शत्रुक्षयो राघवे भनेको चाहीं राघव भनेको रघुकुल हो र रघुकुलका श्रीरामलाई राघवको नामले जानिन्छ। यसअर्थ श्लोकमा श्रीराममा जस्तै शत्रुनाश गर्ने क्षमता होस् भनिएको हो।
ऐश्वर्यं नहुषे को अर्थ नहुष राजाको जस्तै यज्ञादि गरेर स्वर्ग(ऐश्वर्य)प्राप्त गर्ने क्षमता प्राप्त होस् भन्ने हो। गतिश्च पवने को अर्थ वायुको जस्तै गति होस् भनिएको हो। गतिको क्षेत्रमा वायुलाई जित्न सक्ने कोही नभएकोले नै वायुको जस्तै गति होस् भनिएको हो। यस्तै मानं च दुर्योधने को अर्थ हुन्छ,-दुर्योधनको जस्तो मान होस्। महाभारतमा वर्णन गरिएको कथा अनुसार दुर्योधन धृतराष्ट्रका जेठा छोरा हुन्।
शौर्यं शान्तनवे को अर्थ सन्तनुका छोरा भीष्मको जस्तो शौर्यता रहोस् भन्ने हो। बलं हलधरे को अर्थ श्रीकृष्णका दाजु बलरामको जस्तो बल होस् भन्ने हुन्छ। श्रीकृष्णका दाजु बलरामको हतियार हलो भएकोले उनको अर्को नाम हलधर पनि हो। सत्यं च कुन्तीसुते को अर्थ कुन्तीका छोरा युधिष्ठिर जस्तै सत्यमा अडिग रहनु भन्ने हुन्छ।
विज्ञानं विदुरे को अर्थ ज्ञान विज्ञानको क्षेत्रमा विदुर समान हुनु भन्ने हुन्छ। भवन्तु भवतां को अर्थ तिमी (हजुर) लाई दिएको आशिष सार्थक होस् भन्ने हो। कीर्तिश्च नारायणे को अर्थ कीर्ति तथा ख्याति-प्रसिद्धिको क्षेत्रमा नारायणको जस्तो होस् भन्ने हुन्छ।
यति मात्र होइन आशिष दिने क्रममा यस्ता धेरै श्लोकहरू पनि पढिन्छ। जसको अर्थ आशिष लिनेहरु सबैको मनोरथ पूरा होऊन्, आयु पूर्णायु तथा सय वर्षको होस्, सबै कामना पूरा होऊन् जस्ता श्लोकहरूले आशीर्वाद दिने प्रचलन रहेको छ।
मन्त्रार्थाः सफला सन्तु पूर्णाः सन्तु मनोरथाः।
शत्रुणां बुद्धिनाशोऽस्तु मित्राणामुदयस्तव।।
यो श्लोकको अर्थ मैले दिएका ती मन्त्रहरूका अर्थले सफलता प्राप्त गरून्, मनोरथ पूरा होऊन्, शत्रुहरूको बुद्धि नाश होस् र मित्रहरूको वृद्धि होस् भन्ने हो।
महिलालाई दिइने आशिषको श्लोक र अर्थ
महिलालाई दिने आशिषमा भने देवीका नामहरूको उच्चारण गरिन्छ।
जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्रि, स्वाहा, स्वधा देवीका नाम हुन्। देवीका यस्ता अनेकौं नामहरू रहेका छन्। जसमध्ये यिनीहरू पनि हुन्। महिलालाई यिनै देवीहरूको नामयुक्त श्लोक उच्चारण गर्दै आशिष दिने गरिन्छ।
महिलालाई आशिष दिदा दुर्गासप्तशतीको श्लोक उच्चारण गर्ने गरिन्छ। जुन यस्तो छ-
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते।।
आशिषको यो श्लोकको अर्थ महिलालाई शक्तिका प्रतिकका रूपमा चित्रित गर्नु हो। देवी भागवतका अनुसार देवीले विभिन्न रूप धारण गरेर पृथ्वीको भारको रूपमा रहेका दैत्य, दानव तथा राक्षसहरूको संहार गरेका यस्ता धेरै प्रसङ्गहरू रहेका छन् ।
देवी दुर्गामा अपार शक्ति रहेको पौराणिक अध्ययनबाट स्पस्ट हुन्छ। देवता, मानव लगायतले गर्न नसकेको काम शक्ति स्वरूप देवीले सम्पन्न गरेका प्रसङ्गहरू देवी भागवत आदि पुराणहरूमा उल्लेख गरिएको छ।
धर्मशास्त्रीय ग्रन्थमा अनुसार महिलालाई सर्वशक्तिमान तथा शक्तिका प्रतिकका रूपमा चित्रित गरेको देखिन्छ।
मनुस्मृतिको तीन अध्यायको ५६ औं श्लोकमा जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू रमण गर्दछन्। जहाँ नारी पूजित हुँदैनन् त्यहाँका सबै धार्मिक क्रियाहरू निष्फल हुन्छन् भनिएको छ। जसलाई श्लोकमा यसरी व्याख्या गरिएको छ-
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः।।
०००
यस्तै ५७औं श्लोकको प्रसङ्गमा मनुस्मृतिमा भनिएको छ, जहाँ बहिनी, छोरी, बुहारी, स्त्री, भान्जी आदि शोकग्रस्त हुन्छन् त्यो कुल छिट्टै नष्ट हुन्छ तर जहाँ यी सबै दुःखी हुँदैनन् निश्चय पनि त्यो कुलले सदैव समृद्धि प्राप्त गर्दछ।
शोचन्ति जामयो यत्र विनश्यत्याशु तत्कुलम्।
न शोचन्ति तु यत्रैता वर्धते तद्धि सर्वदा।। ३.५७ ।
यसरी परिवारमा रहेका सबै नारीरूलाई सदा प्रसन्न राख्नका लागि धर्मशास्त्रीय ग्रन्थहरूमा निर्देश गरिएको छ। देवीका प्रतिकको रूपमा रहेका नारीहरूलाई वैदिक सनातन धर्ममा सदा सम्मानका दृष्टिले हेर्ने गरिएको देखिन्छ। त्यसैले दशैं जस्तो महान् चाडमा नारीलाई आशीर्वाद दिदा देवीका विभिन्न नाम लिएर देवीमा रहेको अपार शक्ति नारीमा प्राप्त होस् भन्ने नारीलाई दिने आशिषका यी श्लोकहरूको आशय देखिन्छ।
नवदुर्गाको शक्ति
आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने नवदुर्गामा देवीका विभिन्न रूपको पूजा तथा आरधना गर्ने गरिन्छ। विभिन्न शक्तिपीठहरूमा विधिपूर्वक देवी दुर्गाको पूजा तथा आराधना गर्ने गरिन्छ। नवदुर्गाको प्रत्येक दिनमा देवीका विभिन्न स्वरूप तथा नामले पूजा गर्ने गरिन्छ। देवी भागवतका अनुसार सम्पूर्ण देवताहरूको तेजपुञ्जबाट देवीको उत्पति भएको हो। जसले गर्दा देवीमा अनन्त शक्ति रहेको मानिन्छ र देवीलाई अथाह शक्तिको प्रतिकका रूपमा पनि लिइन्छ।
यस्ता छन्, नौ दिनका नवदुर्गाका नाम-
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिता।
नवदुर्गाको पहिलो दिनकी देवीको नाम शैलपुत्री हो। दोस्रो दिनकी देवीको नाम ब्रह्मचारिणी हो भने तेस्रो दिनकी देवीको नाम चन्द्रघण्टा हो। यस्तै चौथो दिनकी देवीको नाम कूष्माण्डा हो भने पाँचौ दिनकी दुर्गादेवीको नाम स्कन्दमाता हो। छैटौ दिनकी देवीको नाम कात्यायनी हो भने सातौं दिनकी देवीको नाम कालरात्रि हो। यस्तै आठौ दिनकी देवीको नाम महागौरी हो भने नवौं दिनकी दुर्गाको नाम सिद्धिदात्री हो। यसरी पहिलो दिनदेखि नौ दिनसम्मका देवीलाई छुट्टाछुट्टै नामले पुकारिन्छ र पूजा गरिन्छ।
(वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह-प्राध्यापक डा. खनालसँग उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)
असोज २९, २०७८ शुक्रबार २१:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।