दसैँको सहारा वृद्ध भत्ता

दसैँको सहारा वृद्ध भत्ता

गत शुक्रवार इटहरीको गुडबिल फाइनान्समा वृद्ध भत्ता लिन आएका खड्का निक्कै हतारमा देखिन्थे। पाको उमेरका भए पनि पैसा आउने विश्वासले निक्कै उत्साहित थिए उनी।

दशैको मुखैमा आउन लागेको भत्ताले गर्जो टार्ने उनी सुनाइरहेका थिए। छोरालाई थोरै दिएर बाँकी आफै राख्ने उनको योजना सुनाए।

'बुढेसकालमा दबाई मुलो खानुपर्छ बाबु। सबै पैसा दिएर पनि भएन। आफूलाई पनि यसो जोहो गर्नु परो नि !,' उनले भने,'थोरै खुजुरा गरेर लान्छु। नातिनातिनालाई टिका लगाएर दक्षिणा दिने पैसा लान्छु।'

खड्काको नजिकै बसेकी इटहरी १७ कि भिमकुमारी सापकोटालाई पनि भत्ताले दसैँमा ठुलो टेवा पुर्याएको छ। खेती किसान गर्न छाडेपछि चामल किन्ने पैसा वृद्ध भत्ताबाटै जोहो गर्ने गरेको उनले सुनाइन्।

'छोराहरूलाई पनि दियो भने पो आफ्नो स्याहार चाकर गर्छन्। दिएन भने कसरी माया गर्छन् त ? सबैलाई बाँडेर दिन्छु नि,'उनले भनिन्, 'जे होस भत्ता आएपछि ३ वर्षदेखि मलाई धेरै राम्रो भएको छ।'

भिमकुमारीकै छिमेकी चमरु चौधरी लौरो ओछ्याएर सडकमा बसेका छन्। घामबाट छेलिएर छिमेकी सँगै गफिँदै छन् उनी। भत्ताको आधा जति छोराहरूलाई दिने र आधा आफू राख्ने गरेको उनले सुनाए। चौधरी समुदायमा दशैभन्दा पनि तिहार महत्त्वपूर्ण मानिन्छ। तिहार सम्मकै लागी खर्च जोगाउने उनको योजना छ। ७५ वर्षका उनी भत्ताले ठुलो सहयोग पुर्याएको उनी बताउँछन्। 

वृद्ध भत्ताको भरमा बाचेकी छिन् सुमित्रा हलुवाई। पैसा आउने पालो कुरेर सडक पेटीमा बसेकी उनी १ घण्टा लगाएर बजार आएको बताउँछिन्। राम्रोसँग कान पनि सुन्न नसक्ने उनी ४ छोराकी आमा हुन्। अहिले कसैले पनि वास्ता गर्न छाडेपछि भत्ताकै भरमा जीवन चलाइरहेकी छिन् उनी। श्रीमानको मृत्युपछि एक्लै भएकी उनी ३ महिनासम्म १२ हजारले पुर्याउँछीन्।

'छोरा छोरी भएर पनि केही हुँदैन। खान पनि दिँदैन। अलिअलि माया गरेजस्तो गर्छ,' उनले भनिन्'मलाई दसैँ तिहार केही छैन। दालभात खान्छु बस्छु।'

सुमित्राको छेवैमा टुक्रुक्क बसेकी छिन् जित्नी चौधरी। सेतै कपाल फुलेकी उनी उमेरले ८० पुग्न लागेको बताउँछिन्।  उनी गाउँबाट एक्लै भत्ता लिन बजार पुगेकी हुन्। ३ छोरीकी आमा जित्नी अहिले एक्लै बस्दै आएको बताउँछिन्। छोरीहरूले माया नगरेपछि भत्ताको पैसा झुप्रो हालेर बसेको उनले बताइन्। अहिले छोरीको भन्दा भत्ताको भरमा उनको जीवन चलेको छ।

बैङ्कमा धाएर लिनुपर्ने वृद्ध भत्ता वडाबाट लिने व्यवस्था मिलाए धन्य हुने उनले भनाई छ। उनीसँगै आएका अधिकांश वृद्धवृद्धाहरु घरैमा वृद्ध भत्ता आए खुसी हुने देखिन्छन्।

यसअघि इटहरी उपमहानगरपालिकाका मेयर द्धवारीकलाल चौधरीले सामाजिक सुरक्षा भत्ता घरैमा पुराइने बताएका थिए। जनतालाई घरैमा सेवा दिने बाचा गरेका उनले त्यसपछि कुनै प्रक्रिया अगाडी बढाएनन्। नेकपा एमालेको घोषणापत्रमा पनि घरैमा वृद्ध भत्ता पुर्याउने उल्लेख गरिएको छ।

उता इटहरी १७ का वडाध्यक्ष भगवानलाल शाह अहिले घरैमा पुर्याउने कुनै योजना नरहेको सुनाउँछन्। त्यसको लागी धेरै जनशक्तिको आवश्यक पर्ने भएकोले वडाले मात्र त्यसको व्यवस्थापन गर्न नसक्ने उनको भनाई छ।तँ

यसअघि वडामा कुनै बैङ्क नभएको कारण समस्या भएको उनले सुनाए। अब वडा नजिकै प्राइम बैङ्क खुलेको कारण आगामी वर्षदेखि सोही बैङ्क बाट सेवा दिने गरी काम भइरहेको उनको भनाई छ।

असोज २८, २०७८ बिहीबार १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।