मन दुखाउने दसैँ : अरूको घरमा मासु पाक्यो, लक्ष्मीले छिमेकीले दिएको भातमै चित्त बुझाइन्

मन दुखाउने दसैँ : अरूको घरमा मासु पाक्यो, लक्ष्मीले छिमेकीले दिएको भातमै चित्त बुझाइन्

उनी उमेरले ४८ वर्षका भए। जेलभित्रको माइकिङ सुन्दा आफू भोकै रहनुको पीडाले उनलाई झनै पिरोल्छ। कारागारभित्रका कैदीबन्दीहरुलाई त राज्यले हेरेकै छ। तर विपन्नका लागि सरकारले एक छाक खाना समेत जोहो नगरिदिँदा उनी खिन्न छन्।

पुर्ख्यौली पेसा बाजा बजाउने हो उनको। २२ वर्षको उमेरदेखि बाजा बजाउन सुरु गरेका उनीसँग आफ्नै बाध्य सामान छैन। अन्य आम्दानीको स्रोत पनि छैन। तीन छोरा अनि दुई छोरी गरी सात जनाको परिवारलाई साँझ बिहानको छाक टार्न समेत हम्मे हम्मे परेको छ उनलाई।

गाउँघरमा दसैँको चहल पहल बढे पनि उनको घरमा त्यसको प्रभाव छैन। बालबच्चाले मिठो मसिनो खान खोज्छन्। त्यहीको जोहो गर्नका लागि बिहान ७ बजे अरूसँग दमाहा मागी वीरेन्द्रनगर बजारभरि डुल्छन् त्यहीबाट ल्याएको दुई चार सयले घरमा चामल किन्छन्। 

उनको चुलोमा माछा मासु नपाकेको महिनौँ भइसक्यो।  हर्क बहादुर आफैँ फोक्सो सम्बन्धी रोगका बिरामी छन्। उनलाई यो वर्ष मात्रै होइन हरेक वर्षका दसैँले अभाव र चिन्ता मात्र थप्छ।

गत सालको  दसैँमा मासु खाने पैसा नहुँदा फर्ममा मरेका कुखुरा ल्याएर पनि केटाकेटीलाई खुवाएको पीडा उनी सुनाउँछन् ।

‘दसैँ आयो सबैका घरमा मिठो मसिनो खाने गरेका छन्। आफ्नो घरमा साँझ बिहान खाने चामल छैन। चामल खाने पैसाको जोहो गर्न अरूको दमाहा मागेर बजारभरि घुम्छु,’ उनले भने, ‘कसैले १०-२० रुपैयाँ र चामल दिन्छन्। कसैले रित्तो हात फर्काउँछन्।’

उनका जेठा छोरा १८ वर्षका भए। पावर टेलर चलाउन सिक्दै छन्। अरू सानै छन्।

आर्थिक अभाव भएकै कारण उनका बालबालिकाले विद्यालय पढ्न पाएका छैनन्। विद्यालयमा भर्ना हुने र स्कुलको पोशाक नहुँदा विद्यालयमा पठाउन सकेका छैनन्।

दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका हर्क बहादुरको परिवारले काम नपाएको पनि पाँच महिना भयो। हर्कबहादुरले ज्याला मजदुरी गर्न सक्दैनन्। उनकी श्रीमती पवित्रा नेपालीले गिट्टी कुट्ने गर्थिन। अहिले खोलामा ढुङ्गा नहुँदा त्यो पनि बन्द भयो।

‘सबैलाई दसैँ आयो भनेर खुसी लागेको छ। तर हामीसँग चामल किन्ने पैसा छैन। केटाकेटीलाई के खुवाउने भनेर चिन्ता लागेको छ,’उनले भनिन्, ‘घरमा खाने गाँस छैन, जमरा राखेर के गर्ने ? त्यसैले हामीले त जमरा पनि राखेका छैनौँ । हामीलाई त चाडपर्व आउँदा खुसी होइन पीडा मात्रै थपिन्छ।’

यस्तै सोही टोलमा बस्ने लक्ष्मी नेपालीको पीडा पनि उस्तै छ। उनको ६ जनाको परिवार छ। खोलाको छेउको ढिस्कोमा उनको सानो छाप्रो छ। पहिरोको जोखिममा रहेको त्यो छाप्रोले घाम पानी छेक्दैन।

गिट्टी  कुटेरै जहान केटाकेटी पाल्ने उनको गिट्टी नबिक्दा अहिलेको दसैँमा भोकै बस्नुपर्ने स्थित छ। दसैँमा अरूको घरमा मिठो मसिनो माछा मासु खान्छन्। तर उनले छिमेकीले दिएको भातमा चित्त बुझाइन्।

यस्तै बिपरा दमाईलाई पनि दसैँ आएकोमा कुनै खुसी छैन। दसैँमा एक छाक खानकै लागि बजारभरि डुलेर एक थाल चामल ल्याएर ७ जनाको परिवारलाई खाना खुवाइनुपर्ने बाध्यता उनले सुनाइन्। यो टोलमा २२ घरधुरी छन्। उनीहरूको अवस्था पनि उस्तै छ। कालिका टोलको सुकुम्वासी बस्तीमा १९ घर त दलित समुदायका छन्। दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्ने उनीहरूलाई दसैँ दशा बनेर आएको छ ।

असोज २८, २०७८ बिहीबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।