यस्तो अनौठो उपाय अपनाएर सुत्केरी गराउँथे डा. श्रवणकुमार

यस्तो अनौठो उपाय अपनाएर सुत्केरी गराउँथे डा. श्रवणकुमार

रसुवा जिल्ला अस्पतालमा कार्यरत रहँदा सह-प्राध्यापक डा. श्रवणकुमार थापाले अनौठो विधि अपनाएर गर्भवतीलाई सुत्केरी गराएका छन्। करिब १६ वर्षअघि सुत्केरी गराउँदा उनले अपनाएको विधि न अध्ययनको क्रममा पढेका थिए, न त चिकित्सकीय पाठ्यक्रममा नै थियो। 

हो, उनी पाठ्यक्रममा नै नभएको विधि अपनाएर प्रसव पीडाले छटपटाएका गर्भवतीलाई सुत्केरी गराउँथे। डा. श्रवणकुमारले अपनाएको सुत्केरी गराउने उपाय थियो- प्रसव पीडाले छटपटाएका गर्भवतीलाई गाडीमा राखेर ओल्लो डाँडो र पल्लो डाँडो, तल र माथि ओहोर-दोहोर गराएर सुत्केरी गराउनु। 

सुत्केरी गराउने त्यस्तो उपाय नितान्त उनी आफैंले निकालेका थिए। डा. श्रवणले सुनाए, ‘कहिलेकाहीं टेक्स बुकमा राखेको भन्दा पनि आफैले प्रसूति गराउने उपाय निकाल्नुपर्ने हुन्थ्यो।’ 

अस्पतालमा कतिपय गर्भवतीलाई सुत्केरी गराउन कठिन हुन्थ्यो। प्रसव पीडाले छटपटाइरहेकी गर्भवतीलाई दुखाइको पीडाले हिंड्न पनि कठिन हुन्थ्यो। 

त्यो दुर्गममा न कुनै चिकित्सकीय विधि अपनाएर सुत्केरी गराउन सम्भव हुन्थ्यो, न अन्य अस्पतालमा रिफर गर्न बाटो नै सहज थियो। स्रोत-साधनको अभावले गर्दा अस्पतालमा शल्यक्रिया गरेर प्रसूति गराउन पनि सम्भव थिएन। सामान्य रुपमा बच्चा जन्माउनु (नर्मल डेलिभरी) को विकल्प थिएन।

उनले सुनाए, ‘धेरै औषधि दिँदा बच्चा खेर जान्छ। आमा र बच्चा दुवैको ज्यानको जोखिम हुन्छ। यो पनि छैन, त्यो पनि छैन भनेपछि के गर्ने भनेर आफ्नै आइडिया निकाल्ने हो।’

उनी अस्पताल पुगेको केही समयमा नै त्यस्तै समस्या पर्यो। अस्पताल पुगेकी करिब ३० वर्षकी गर्भवतीले बच्चा जन्माउन कठिन भयो। गर्भवती प्रसव वेदनाले छटपटाइरहिन्। डा. श्रवणकुमारको टिमले ती महिलालाई सुत्केरी गराउन अस्पतालमा भएसम्मको उपाए अपनाए। तर उनी सुत्केरी हुन सकिनन्। न अन्य अस्पतालमा रिफर गर्न बाटो घाटो थियो। न अस्पतालमा पर्याप्त स्रोत-साधन नै थियो।

त्यसपछि उनले जुक्ति निकाले र प्रहरीको गाडि मगाए। गर्भवतीलाई ओल्लो डाँडो र पल्लो डाँडो गर्दै कच्ची सडकमा ओहोर-दोहोर गर्न लगाए। करिब एक घण्टा यसरी ओहोर-दोहोर गर्न लगाएपछि उनको उपायले काम गर्यो। नभन्दै गर्भवतीले गाडीबाट ओर्लिएको दुई घण्टामा बच्चा जन्माइन्। त्यही बेलादेखि नै उनले गाडीमा गर्भवती राखेर ओहोर-दोहोर गराएर प्रसूति गराउन थालेका रहेछन्।

०००
सुत्केरी गराउने पहिलो उपाय सफल भएपछि उनले अस्पताल पुगेका अन्य गर्भवती पनि सुत्केरी हुन नसकेको अवस्थामा गाडीमा ओहोर-दोहोर गर्ने त्यो उपाय अपनाएर सुत्केरी गराउन थाले।

करिब दुई वर्ष रसुवा बस्दा त्यो उपाय अपनाएर १५/२० जना गर्भवतीलाई सुत्केरी गराएको उनले सुनाए। रसुवामा काम गर्दा उनले निकालेको सुत्केरी गराउने त्यो उपाय अधिकांश गर्भवतीमा सफल भए पनि २/३ जनामा भने असफल भएको उनले बताए।

अस्पताल र प्रहरी कार्यालय नजिकै थियो। जसले गर्दा प्रहरीलाई अनुरोध गरेर प्रहरीकै गाडीमा प्रसव पीडाले छट्पटाएका महिलालाई घुमाएर सुत्केरी गराउँथे उनी।

‘गाडीमा राखेर कच्ची सडकमा ओल्लो डाँडो र पल्लो डाँडो गर्दै घुमाउँदा गर्भवतीको शरीर लचिलो हुन्थ्यो। बच्चा जन्मने बाटो खुल्थ्यो,’ डा. श्रवण भन्छन, त्यसपछि भ्याकुम लगाउन सहज हुन्थ्यो।’

विशेषगरी पहिलो बच्चा जन्माउने गर्भवतीलाई बच्चा जन्माउन कठिन हुने गरेको उनले सुनाए। पहिलो बच्चा जन्मिसकेका महिलाको बच्चा जन्माउने बाटो पनि ठूलो हुने र बच्चा जन्माउने उपाय पनि हुने उनले बताए।

बच्चा जन्माउन आमाको बल पनि महत्वपूर्ण हुने उनी बताउँछन्। डा. श्रवणकुमार भन्छन्, ‘आमाले बच्चालाई राम्रोसँग पुस गरेन भने बच्चा अड्किनेदेखि अनेकथरी समस्या हुन्छ।’

चिकित्सकहरुले प्रसूति गराउँदा गर्भवतीको पेटमा हल्का किसिमले थिच्ने चलन हुन्छ। आमाले बल नगरेको अवस्थामा बच्चा जन्माउन कठिन हुने भएकाले गाडीमा हालेर घुमाउने उपाय निकालेर प्रसूति गराएको उनले सुनाए। त्यसरी गाडीमा राखेर घुमाउँदा आमामा पनि पीडा कम हुने उनी बताउँछन्। 

हिप र घुँडा खिँइएर हिंडन नसक्ने युवती हिँड्ने भइन्
चितवनको भरतपुर अस्पतालमा युवतीको घुँडाको प्रत्यारोपण गरेको प्रसंग पनि भुलेका छैनन् डा. श्रवणले। बाथले हिप खाएर अस्पतालमा पुर्याइएकी हिँडडुल नै गर्न नसक्ने एक जना युवतीलाई हिँड्न सक्ने बनाउँदाको क्षण डा. श्रवणका लागि आनन्दित क्षण हो। जुन चिकित्सकीय धर्म पनि हो।

के भएको थियो?
१२ वर्षअघिको कुरा हो। बाथको समस्याले करिब २५ वर्षकी युवतीको हिप खाएको थियो। हिप नै नचल्ने भएको थियो। उनी कुँजिएर बसेकी थिइन्। भरतपुर अस्पतालमा उनलाई बोकेर ल्याइएको थियो। स्वास्थ्य परीक्षण गर्दा हिप नै फेर्नुपर्ने डा. श्रवणकुमारको निष्कर्ष निष्कियो।

तर, त्यो बेला भरतपुर अस्पतालमा हिप फेर्ने सुविधा थिएन। न त उनले जोर्नी प्रत्यारोपण सम्बन्धी तालिम नै लिएका थिए। त्यसैले उनले महिलालाई अन्य सुविधायुक्त अस्पतालमा गएर हिप फेर्न सुझाव दिए। युवती अस्पतालबाट फर्किइन्।

करिव ४ वर्षअघि ती युवती पुनः भरतपुर अस्पताल पुगिन्। तर पहिलो पटक हिँड्नै नसक्ने अवस्थामा अस्पताल पुगेकी उनी दोस्रो पटक भने लौरोको सहाराले हिंडेर अस्पताल पुगेकी थिइन्। उनले हिप फेरिछन्। डा. श्रवणकुमारले सुनाए, ‘दुवै हिप फेर्नुभएछ। हिँड्दै आउनुभएको थियो। एउटा हिप भारतको आसाममा फेर्नु भएछ। अर्को नेपालमा नै फेर्नु भएछ।’ पछिल्लो पटक युवतीले डा. श्रवणकुमारलाई भेट्दा उनले जोर्नी प्रत्यारोपण सम्बन्धी तालिम लिइसकेका थिए। 

हिप फेरे पनि ती युवतीका दुवै घुँडा काम नलाग्ने अवस्थामा थिए। बाथले खाएको थियो। घुँडा पनि फेर्नुपर्ने थियो। त्यसपछि युवतीको दुवै घुँडाको प्रत्यारोपण गरे डा. श्रवणकुमारले। घुँडाको प्रत्यारोपणपछि उनी ठमठम हिँडडुल गर्ने भइन्। 

उनले सुनाए, ‘जटिल शल्यक्रिया नै थियो। करिब चार वर्ष भयो घुँडा फेरेको। अहिले राम्रोसँग हिंड्नु हुन्छ।’ ती युवती अहिले पनि फलोअपमा आउने गरेको उनले सुनाए।

प्यारालाइसिस भएपछि श्रीमतीले छाडिछन्
टिबीको समस्याले ढाडको हड्डी खाएका व्यक्तिको पीडा पनि सुनाए डा. श्रवणकुमारले।
समस्या यस्तो थियो- भरतपुर अस्पतालमा एक जना गाडी चालक उपचारका लागि पुगे। उनलाई टिबी लागेर ढाडको हड्डी खाएछ। जसले गर्दा प्यारालाइसिस भएर खुट्टा नचल्दा उनी हिंडडुलसमेत गर्न सक्न छोडेका रहेछन्। 

प्यारालाइसिस भएपछि ती गाडी चालककी श्रीमतीले पनि उनलाई छोडिछन्। तर डा. श्रवणको टिमले उपचार गरेपछि उनको समस्या कम हुँदै गयो। गाडी समेत चलाउन सक्ने भए। डा. श्रवणकुमारले सुनाए, ‘रुँदै बस्नुहुन्थ्यो। अहिले उहाँ गाडी चलाउन सक्नुहुन्छ।’

बंगलादेशमा एमबिबिएस
श्रवणकुमार काठमाडौंको माततिर्थमा २०३१ सालमा जन्मिएका हुन्। उनले २०४६ सालमा काठमाडौंकै बालाजुस्थित ‘सिद्धार्थ वनस्थली इन्स्टिच्युट’बाट २०४६ मा एसएलसी उत्तीर्ण गरे। 

श्रवणले ललितपुरेको जावलाखेलस्थित ‘सेन्ट जेभियर्स कलेज’बाट २०४८ सालमा आइस्सी उत्तीर्ण गरेका हुन्। आइएस्सीपछि उनले करिब दुई महिना त्रिचन्द्र क्याम्पस भर्ना भएर बिएस्सी पढ्न थाले। तर, उनी एमबिबिएस अध्ययनका लागि छनोट भए। त्यसैले त्रिचन्द्रमा दुई महिना अध्ययन गरेपछि एमबिबिएस अध्ययनका लागि सन् १९९४ मा बंगलादेश पुगे। श्रवणकुमारले सन् १९९९ मा बंगलादेशको चितगाउँस्थित ‘युनिभर्सिटी अफ साइन्स एण्ड टोक्नोलोजी’ बाट एमबिबिएस अध्ययन पूरा गरेका हुन्।

बंगलादेशबाट नेपाल आएर उनले वीर, प्रसूति गृह, कान्ति, टेकु, मानसिक लगायतका अस्पतालमा एक वर्ष ‘इन्टर्नसिप’ गरे। इन्टर्नसिपपछि उनी वीर अस्पतालमा नै करार जागिरे भए। मेडिकल अधिकृत तहको चिकित्सकका रुपमा करिब ९ महिना उनले वीर अस्पतालको अकस्मिक कक्षमा काम गरे। 

तर, वीर अस्पतालमा थोरै तलब थियो। त्यहाँ अस्पतालमा ‘सिफ्ट ड्युटी’ हुन्थ्यो। त्यसैले वीरमा ड्युटी नपरेको समयमा उनी अन्य निजी अस्पतालमा ‘पार्ट टाइम’ काम गर्थे।

सरकारी मेडिकल अधिकृतको रुपमा जागिर सुरु
वीर अस्पतालको करार जागिरपछि उनले २०५८ सालमा लोकसेवाको परीक्षा दिए। नतिजा राम्रो आयो। उनी सातौं तहको मेडिकल अधिकृतको रुपमा सरकारी स्थायी जागिरे भए।

सरकारी जागिरे भएपछि श्रवणकुमारको पहिलो पोस्टिङ वीरगञ्जको ‘नारायणी उपक्षेत्रीय अस्पताल’मा भयो। तर त्यतिबेला उनकी श्रीमती गर्भवती थिइन्। त्यसैले उनलाई नारायणी अस्पताल गएर काम गर्न असहज भयो। ललितपुरको ‘बाँडेगाउँ प्राथमिक स्वास्थ्य  केन्द्र’मा करिब आठ महिना काजमा काम गरे। त्यो समयमा उनको बच्चा जन्मियो।

त्यसपछि भने उनको रसुवाको ‘रसुवा जिल्ला अस्पताल’ सरुवा भयो। उनी २०६० देखि २०६१ सम्म करिब दुई वर्ष उनले रसुवामा काम गरे। रसुवापछि उनी कान्ति बाल अस्पताल सुरुवा भएर करिब दुई महिना काम गरे।

छात्रवृत्तिमा एमएस अध्ययन
२०६२ मा उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा भर्ना भएर स्नातकोत्तर तहको ‘एमएस अर्थोपेडिक्स सरर्जरी’ विषयको अध्ययन थाले। श्रवणकुमारले २०६४ मा ‘एमएस अर्थोपेडिक्स सरर्जरी’ विषयको अध्ययन पूरा गरे। उनले यो विषय छात्रवृत्तिमा अध्ययन गरेका हुन्। 

‘एमएस अर्थोपेडिक्स सर्जरी’ पूरा भएपछि उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा मा नै पोस्टिङ भएर रजिष्ट्रार र लेक्चरका रुपमा करिव दश महिना काम गरे।

वीर अस्पतालपछि उनको सरुवा २०६५ मा चितवनको भरतपुरस्थित ‘भरतपुर अस्पताल’मा भयो। डा. श्रवणकुमार अहिले पनि भरतपुर अस्पतालमा नै कार्यरत छन्। उनी प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ हुन्।
 
तालिमपछि जोर्नी प्रत्यारोपण
भरतपुर सरुवा भएको करिब दुई वर्षपछि उनले भारतको दिल्लीस्थित एपोलो अस्पताल पुगेर तीन महिनाको ‘जोर्नी प्रत्यारोपण’ सम्बन्धी तालिम लिए। त्यसपछि पनि उनले पटक–पटक भारतको विभिन्न ठाउँमा पुगेर जोर्नी प्रत्यारोपणसम्बन्धी तालिम लिएका छन्।

६ वर्षअघि पनि उनले बैंलोर पुगेर जोर्नी प्रत्यारोपण सम्बन्धी तालिम लिए। विभिन्न तालिम लिएपछि उनले जोर्नी प्रत्यारोपण गर्न थालेको करिब ६ वर्ष भयो। उनी ‘नेपाल अर्थोपेडिक एसोसियन, चितवन’को उपाध्यक्षको भूमिकामा रहेर समेत काम गरिरहेका छन्।

असोज २३, २०७८ शनिबार १३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।