सरकारले बजेटका याेजना कटाैती गर्‍याे: एमाले नेता पाैडेल

सरकारले बजेटका याेजना कटाैती गर्‍याे: एमाले नेता पाैडेल

बुटवलः नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)का नेता विष्णु पौडेलले अहिलेको सरकारले बजेटका योजना कटौती गरेको बताएका छन्। यसअघिको सरकारले ल्याएको बजेटमा निजी क्षेत्रलाई सम्बोधन गर्नुका साथै धेरै समस्या समधान गरेको बताउँदै उनले अहिलेको सरकारले योजना कटौती गर्दा निजी क्षेत्रमा निराशा छाएको बताए।

'निजी क्षेत्रलाई रोजगारमूलक र समृद्ध बनाउनतर्फ सरकार लागोस्। अघिल्लाे सरकारले साना उद्याेगलाई कर छुटको व्यवस्था, पहुँच मार्ग निर्माणका लागि ७५ प्रतिशत सहुलियत दिने, होटललाई उद्याेगसरहको मान्यता राखेर प्रोत्साहन कार्यक्रम ल्याएको थियो', उनले भने, 'तर अहिले सबैमा सरकार मौन बसेको छ। कार्यान्वयन गर्दिन पनि भन्दैन गर्छु पनि भन्दैन।' 

रुपन्देही उद्याेग संघको २२औं अधिवेशनलाई सम्बोधन गर्दै उनले बुटवलमा निर्माणाधीन मोतिपुर औद्याेगिक क्षेत्रको अतिक्रमण रोक्न सरकारसमक्ष माग गरे। देशमा रोजगारी सृजना गर्दै समृद्ध प्रदेश बनाउने अभियानमा केही व्यक्ति स्वार्थमा लाग्दा औद्याेगिक क्षेत्रको काम प्रभावित भएको बताए।

त्यस्तै भैरहवा विमानस्थलको काममा विलम्ब नगर्न पनि उनले आग्रह गरे। एसियाली बैकसँग ऋण सम्झौता नगर्दा टर्मिनल भवनको बाँकी काम रोकिएको उनले बताए।

यसैगरि सिद्धबाबामा सुरुङ मार्गको काम पनि तुरुन्त अघि बढाउन उनले माग गरेका थिए।

असोज २३, २०७८ शनिबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।