श्रीमान् सशस्त्र प्रहरीका इन्स्पेक्टर, श्रीमती न्यायको लागि कहिले प्रधानमन्त्री कार्यालय कहिले सशस्त्र हेडक्वार्टर 

श्रीमान् सशस्त्र प्रहरीका इन्स्पेक्टर, श्रीमती न्यायको लागि कहिले प्रधानमन्त्री कार्यालय कहिले सशस्त्र हेडक्वार्टर 

विजयाको दाबीअनुसार उनलाई अर्ध सैनिक बलमा कार्यरत उनका श्रीमानले विचल्लीमा पारे। यादव अहिले पकलीमा कार्यरत छन्।

विजयाका अनुसार ०६८ यता उनीहरूको सम्बन्धमा खटपट सुरु भयो। त्यहीबेलादेखि रामचरणको घरमा आउजाउ कम हुन थाल्यो। घरमा हुँदा विजयामाथि कुटपिट गर्ने र यातना दिने उनको दाबी छ।

‘मलाई कपालमा समातेर घरबाट निकालेका थिए। कान नै च्याती दिएका थिए। हात भाँचिदिएर भर्खरै निको भयो। कुटपिट गरेर झ्याल ढोका थुनेर राखेका थिए’, उनले भनिन्, ‘त्यो बेला छिमेकीले प्रहरी बोलाएर घर खोले। एक पटक त केटाहरू बोलाएर कुट्न पनि खोजेका थिए। सासू ससूराले बचाएका हुन्।’ 


विजयाका श्रीमान् रामचरण

दुवै छोरालाई रामचरणले आफैँसँग राखेका छन्। माइतिकै सहारामा हुर्काएको छोराहरू आमासँग सम्पर्कमा छैनन्। विजया हाल एक्लै बस्दै आएकी छिन्। 

उनी श्रीमानसँग सम्बन्धविच्छेद गरिहाल्न पनि नसक्ने अवस्थामा उनी बताउँछिन्। त्यसको कारण सम्बन्धविच्छेदपछि बदलिने समाजको सोच। ‘मधेसी समुदायमा सम्बन्धविच्छेद गर्ने महिलालाई अछुत जस्तै व्यवहार गरिन्छ’, उनले दुःख पोखिन्। 

०६९ मा विजयालाई श्रीमानले घरबाट निकालेपछि उनले महिला आयोगमा उजुरी दिइन्। उनको मुद्दाको सुनुवाइ सुरु भयो। प्रधानमन्त्री कार्यलयमै छलफल भएर उनलाई न्याय दिलाउने सहमति भएको थियो।

तत्कालीन सशस्त्रका आइजीपी कोषराज वन्त र मुख्यसचिव लिलामणी पौडेलको उपस्थितीमा रामचरणको आधा तलब उनलाई दिलाउने सहमति भएको उनको भनाइ छ। विजयादेवीका अनुसार त्यसबेला रामचरणको तलब १६ हजार थियो। सोअनुसार उनको खातामा मासिक ८ हजार जम्मा हुन थाल्यो। श्रीमान् नआए पनि पैसा आइरहेको थियो। जीवनयापन सामान्य चलिरहेको थियो। 

तर पहिलो चरणको लकडाउनयता उनको खातामा पैसा आउन छाड्यो। पैसा नआएपछि उनी पुनः कानूनी प्रक्रियामा लागिन्। सशस्त्रको प्रधान कार्यालयसम्म पुगेर गुनासो पोखिन्। आईजीपी शैलेन्द्र खनालले फोनमा कुरा गर्दै खातामा पैसा आउँछ भनेर आश्वासन दिएको उनले बताइन्। तर खातामा पैसा आएन।

उनले ०७७ माघ ३ मा प्रदेश सरकारसमक्ष निर्णय कार्यान्वयन गराई पाउँ भन्दै निवेदन दिइन्। सशस्त्र प्रहरीको प्रधान कार्यलय हल्चोकमा पनि निवेदन दिइन्। ०६९ भदौ ८ गते सशस्त्र प्रहरी महानिरीक्षक वन्तको सचिवालयमा भएको सहमति कार्यान्वयन हुनुपर्ने उनको माग छ।

तत्कालीन राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँद तारा र सदस्य मोहना अन्सारीसहित मुख्यसचिव लिलामणी पौडेल, महानिरीक्षक वन्त, महिला शाखाका डिएसपी छवे पाण्डे र सशस्त्र प्रहरी निरीक्षक झुपाकुमारी पाण्डेसमेतको उपस्थितीमा बसेको बैठकले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने उनको निवेदनमा उल्लेख छ।


 विजयाले दिएकी विभिन्न निवेदनहरूकाे प्रतिलिपि 

खर्च नुहँदा दैनिक जीवन चलाउनै समस्या परेको उनको दाबी छ। श्रीमानले, ‘जता जान मन लाग्छ जानू, तर पैसा पठाउँदिन’ भन्दै धम्की दिने गरेको उनले उकेरासँग बताइन्। उनले बताए अनुसार लामो समययता श्रीमानसँग उनको सम्पर्क भएको छैन। श्रीमानले दोश्रो विवाह गरेको विजयादेवीको दाबी छ। तर उनी बहुविवाहको मुद्दा हाल्ने तयारीमा भने छैनन्।

उनी मानाचामल भराउने पक्षमा छिन्। यसका लागि नगरपालिकामा पनि निवेदन दिएकी छिन्। महिला विकास र मानवअधिकारमा पनि उजुरी दिएको उनले सुनाइन्। तर हालसम्म उनको निवेदनको कतैबाट सुनुवाइ भएको छैन।

उनले १२ धुर जग्गा छोराको नाममा ल्याउने प्रयास गरेकी थिइन्। तर श्रीमानले मानेनन्। त्यसपछि उनले सासूको नाममा रहेको १२ धुर जग्गा रोक्का गराएकी छिन्। जेठाजू सत्रहन यादवले रोक्का फिर्ता गर्न मुद्दा हाले पनि फिर्ता भने भएको छैन।

जेठाजूले पनि त्यही विषयलाई लिएर बारम्बार कुटपिट गर्ने गरेको उनको दाबी छ। जग्गा फुकुवा गरे आफू घर न घाटको हुने भएपछि निवेदन दिएको उनले बताइन्।

यस विषयमा जानकारी लिन उनको श्रीमान् रामचरणसँग बारम्बार सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन सकेन।

असोज २२, २०७८ शुक्रबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।