विशेषज्ञ चिकित्सक उत्पादन गर्न हरेक वर्ष ५० जनालाई छात्रवृत्ति दिइने

उनीहरूले पढाइ सकेर कर्णालीमै सेवा गर्नुपर्ने निर्णय भएको सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए। कर्णालीका १० जिल्लाबाट ५-५ जनाका दरले डाक्टर उत्पादन गर्ने गरी कार्यविधि बनाइने मन्त्री बुढाक्षेत्रीले बताए।
‘बाहिरबाट आउने चिकित्सकहरू कर्णालीमा बस्न नमान्ने समस्या पहिलेदेखि नै छ। यहाँका दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवाको पहुँच पुर्याउन प्रदेश सरकारले आफैँ जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘यही आर्थिक वर्षदेखि १० वटै जिल्लाबाट ५-५ जनालाई छात्रवृत्ति दिएर डाक्टर पढाउने निर्णय गरेका छौँ।’
ऐनका अनुसार प्रदेश सरकारको छात्रवृत्तिबाट पढेका चिकित्सकहरूले कम्तिमा पाँच वर्ष कर्णालीमै बसेर सेवा गर्नुपर्ने छ। संघीय सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरू कर्णालीमा आउन नमान्ने र आए पनि तोकिएको अवधिसम्म नबस्ने भएकाले प्रदेश सरकारले डाक्टर पढ्न छात्रवृत्तिको व्यवस्था गरेको मन्त्री बुढाक्षेत्रीको भनाइ छ।
‘जहाँको जनशक्ति, त्यहीँ सेवा भन्ने उद्देश्य यो कार्यक्रमको हो,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘यो कार्यक्रममार्फत केही वर्षभित्रै नागरिकको घर–घरमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने प्रदेश सरकारको लक्ष्य पूरा हुन्छ।’
विशेषज्ञ चिकित्सक उत्पादनका लागि छात्रवृत्ति दिन कार्यविधि निर्माणको काम भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीलले बताए। ‘चिकित्सक पढाउन कति खर्च लाग्छ, प्रदेश सरकारले कति छात्रवृत्ति दिनेलगायतका विषयमा अहिले छलफल गरिरहेका छौँ,’ उनले भने, ‘दशैंलगत्तै कार्यविधि बनाएर कार्यान्वयनमा लैजान्छौँ।’
असोज २२, २०७८ शुक्रबार ०८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।