जबरजस्ती माओवादी साबित गराइएका सूर्यबहादुरका दुःख : न न्याय न राहत न त सान्त्वना

जबरजस्ती माओवादी साबित गराइएका सूर्यबहादुरका दुःख : न न्याय न राहत न त सान्त्वना

सुर्खेतः चिंगाड गाउँपालिका-५ का सूर्यबहादुर रानाले खुट्टाको अप्रेसन र उपचारमा १० लाखभन्दा बढी खर्च गरिसके। तर उनी निको भएका छैनन्। यो घाउ उनलाई ०६१ सालमा द्वन्द्व र यातनाले बनाएको थियो।

उनी द्वन्द्वपीडित त हुन् तर द्वन्द्वपीडितको परिचय–पत्र पाएका छैनन्। आर्थिक हैसियत पनि ठूलो छैन। 

द्वन्द्वले विथोल्नुअघि थिए कांग्रेसका गाँउ सभापति
सूर्यबहादुर ०६१ सालमा गाउँमै होटेल व्यवसाय गर्थे। तर द्वन्द्व सुरु भयो। गाउँ नजिकैको प्रहरी चौकी पनि वीरेन्द्रनगर सर्यो। उनी पनि तत्कालीन विद्रोहीको डरले वीरेन्द्रनगर आए। 

वीरेन्द्रनगरमा उनी ससुराली घरमा बस्दै आएका थिए। २ छोरा, २ छोरी र श्रीमती गाउँमै बस्थे। 

वैशाख १३ गते बिहान ८ बजेको थियो। उनी कोठामा एक्लै सुतिरहेका थिए। एक्कासी ढोकामा ढकढक हानेको आवाज आयो। उनी उठे। हेर्न गए। ढोका खोल्दा त हतियारसहित सादा पोसाकमा तीन जना अग्ला मान्छे देखे। उनी अकमक्क परे।

तीमध्ये दुई जना केही नभनी कोठामा खानतलासी गर्न थाले। एक जनाले सूर्यबहादुरलाई सोधपुछ गर्न थाले।

‘तँ माओवादीको कुन पोष्टमा छस् रे?’

सूर्यबहादुर बोल्न सकेनन्। 

ती व्यक्तिले टाउकोमा बन्दुक ताकेर सोधेपछि सूर्यबहादुर डराए। 

उनले भने– ‘म माओवादी होएन, बरू कांग्रेसको गाउँ समितिको सभापति हुँ।’

‘ठूलै मान्छे रहेछस्’, ती व्यक्ति भने। 

त्यसपछि उनलाई दुई जनाले समाएर गाडीमा हाले। ससुरालीमा भएका सासूससूराले हेर्नु बाहेक गर्न सक्ने केही थिएन। 

माओवादी साबित गराएरै छाडे
गाडी चढेपछि थाहा पाए– ती तीन जना सेनाका मान्छे रहेछन्। 

तीमध्ये एक जना गाडी चालक थिए, अर्का जमदार पदका थिए, अर्का भने सूर्यबहादुरले चिनेनन्। 

‘यसलाई कता लाने सर?’, चालकले सोधे। 

‘तन्नेरी भए त खाल्डो खनेर हाल्ने हो, वृद्ध छ जिल्ला प्रहरी कार्यालयमा लैजा’ ती जमदारले जवाफ फर्काए। 

त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सेनाको टोली होटेलतिर गयो। दिउँसो २ बजेतिर उनीहरू फर्किए। उनीहरूले मदिरा सेवन गरेर आएका रहेछन्। 

उनीहरूले सूर्यबहादुरलाई ‘माओवादी हो की होइन’ भनेर बारम्बार सोधपुछ गरे। सूर्यबहादुरले हरेक पटक आफू माओवादी नभएको जवाफ फर्काए। 

जति पटक सोधे पनि होइन भनेपछि उनीहरूले सूर्यबहादुरलाई २५ एमएमको पाइपले पिट्न थाले। तीन जनाले नै पालै पालो पिटेपछि अन्तिममा सूर्यबहादुरले हार माने। उनलाई माओवादी सावित गराएरै छाडियो। उनलाई रजिष्टरमा हस्ताक्षर गराएर प्रहरीको जिम्मा लगाइयो।


यातनाका दाैरान (बाँया) र हालकाे आफ्नाे घाउ देखाउँदै सूर्यबहादुर  

यता ससुरालीले भने ज्वाइँलाई अपरिचित मानिसहरूले अपहरण गरेको भनेर पत्रपत्रिकामा छपाए। एक हप्तापछि उनलाई सार्वजनिक गराइयो। त्यसबीच एक हप्तासम्म दिसा पिसाबबाट रगत बगेर मरणासन्न हुँदा पनि उनलाई कुनै उपचार गराइएन।

प्रजिअको निर्देशनमा तारिखमा छाडियो
प्रहरीको जिम्मा लगाइसकेपछि भने तुलनात्मक हिसाबले अलि सुख पाए उनले। प्रमुख जिल्ला अधिकारीको निर्देशनमा उनलाई तारिखमा रिहा पनि गरियो। 

सार्वजनिक तथा रिहा गरिने बेला सूर्यबहादुरले प्रजिअसँग बिना गल्ती आफूलाई अन्याय गरिएकोले दोषीलाई कारबाही हुनुपर्ने माग राखेका थिए। 

प्रजिअले छानबिन गरेर दोषको आधारमा कारबाही गर्ने प्रतिवद्धता पनि जनाएका थिए। 

सूर्यबहादुरलाई यातना दिइनुको कारण
आफूलाई सेनाले नै यसरी यातना दिनुको कारण सूर्यबहादुले पछि थाहा पाए। 

उनले आफ्नो होटलमा माओवादीलाई खाना खुवाएको भन्दै उनको रिस गर्नेहरूले कुरा लगाएका रहेछन्। सोही आधारमा रामबहादुर भनिने कुहिरे जमदारले उनीमाथि अन्याय गरेका रहेछन्।

त्यतिबेलाको यातनाले अहिले पनि आफूलाई मानसिक तनावसँगै विभिन्न रोगले च्यापेको सूर्यबहादुरले गुनासो गर्छन्। न्यायका लागि विभिन्न निकायमा धाउँदा पनि न न्याय न राहत न त सान्तवना पाउन नसकेको उनको भनाइ छ।

‘मैले बिना कसुरमा यातना भोगें। यातनाकै कारण खट्टाका नसाहरू टुटेर अप्रेसन गरेको छु, त्यही चोटले सबै शरीर नै सेतो भएको छ,’ सूर्यबहादुरले भने, ‘न्यायका लागि जताजता धाए पनि न न्याय पाएँ न त राजयबाट कुनै सहुलियत नै।’

असोज २१, २०७८ बिहीबार १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।