बुवाले त्याग गरे भन्दैमा छाेराले त्याग गर्नुपर्छ भन्ने छैन: कांग्रेस नेता सिंह

बुवाले त्याग गरे भन्दैमा छाेराले त्याग गर्नुपर्छ भन्ने छैन: कांग्रेस नेता सिंह

काठमाडाैंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बुवाले राजनीतिमा नेतृत्त्व त्याग गरे भन्दैमा आफूले त्याग नगर्ने बताएका छन्। नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीको ‘बधाई तथा सम्मान’ कार्यक्रममा बोल्दै उनले आफूले कांग्रेसकाे नेतृत्त्व गर्न पाउनुपर्ने बताएका हुन्। 

'बुवा गणेशमानले राजनीतिमा त्याग गरे भनेर छोराले त्याग गर्नुपर्छ भन्ने छैन', नेता सिंहले भने।

उनले आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एक पटक कांग्रेसकाे नेतृत्त्व गर्ने अवसर पाउनुपर्ने बताए। प्रजातन्त्र जोगाउन र पार्टीलाई संस्थागत गर्नका लागि आफू सभापतिमा लड्न लागेको उनकाे भनाइ थियाे।

उनले १४औं महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने पनि बताए। नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने विचार उनले व्यक्त गरेका थिए। 

उनले राजनीतिलाई सेवाको रूपमा लिनसमेत सबैलाई आग्रह गर्दै अब कांग्रेसमा नेतृत्त्व गर्ने पालो काठमाडौंको भएको बताए।

असोज २०, २०७८ बुधबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।