दशैंंका लागि पहाडबाट तराई झार्न थालियो खसी बोका

दशैंंका लागि पहाडबाट तराई झार्न थालियो खसी बोका

बुटवलः पाल्पा कचलका कूल बहादुर सुनार यस वर्षको दशैंमा ३० वटा खसी बोका बिक्री गर्ने योजनामा छन्। सोह्र श्राद्ध सकिएसँगै उनी खसी बोका बिक्रीका लागि बुटवल झरेका छन्।

अघिल्लो दशैंंमा खासै चहल पहल थिएन– उनले ९ वटा मात्र खसी बोका बिक्री गरे। यस पटक अलि धेरै बिक्री हुने उनले आश गरेका छन्। ‘दशैंको खर्च जोहोमा लागेको छु। ११ जनाको संयुक्त परिवार भएकाले खर्च बढी हुन्छ। खसी बोका वर्षभरि पाल्ने अनि दशैंं मनाउने हो’, बुटवलको हाटबजारमा खसी बोका बिक्री गर्न आएका सुनारले भने।

हाटबजारमा खसी बोका बिक्री गर्न अबको एक सातासम्म उनी निरन्तर आउने छन्। एक पटकमा ५ देखि ७ वटा मात्र खसी बोका बिक्री हुने उनले बताए। 

‘एकै पटक सबै बिक्री हुँदैनन्। पटक पटक आएर बिक्री गर्नु पर्दछ’, उनले भने, ‘बजारमा किसानले मूल्य समेत पाउँदैनन्। विचौलियाले सस्तो खरिद गरेर फेरि व्यापारीलाई बिक्री गर्छन्।’ 

सुनारले यस पटक १२ देखि ७० किलोसम्मका खसी बोका बिक्री गर्न लागेका छन्। 

पाल्पा मस्यामकै अर्जुन राना पनि खसी बोका बिक्री गरेरै दशैं मनाउने योजनामा छन्। गत वर्ष १५ वटा खसी बोका बिक्री गरेका उनले यस पटक २५ वटा बिक्री गर्ने योजना बनाएका छन्। ‘अरू आयस्रोत छैन। यिनै पाठा पाल्ने हुर्काउने अनि बिक्री गरेर चाडपर्व मान्ने हो’, उनले भने।

सुनार र राना जस्तै दशैं खर्चका लागि किसानहरू खसी बोका डोहोर्याउँदै बुटवल झर्न थालेका छन्। बुटवलको हाटबजारमा अहिले दैनिक जसो खसी बोका हाट लाग्न थालेको छ। 

नवपञ्चमीमा यस पटक धेरै स्थानमा बलि समेत हुने भएकाले यस वर्र्ष खसी बोकाको व्यापार राम्रो भएको व्यापारीहरू बताउँछन्।
बिहान ७ बजेदेखि दिउँसोसम्म नै अहिले हाटबजारमा खसी बोकाको बिक्री भइरहेको छ।

मासु व्यावसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलले दशैंंलक्षित गरी किसानहरूले पहाडबाट खसी बोका बुटवलमा ल्याएर बिक्री सुरु गर्न थालेको बताए। भारतबाट आउन छाडेपछि घटस्थापना अघिबाटै बजारमा पहाडी क्षेत्रबाट ल्याइएको खसी बोकाको बिक्री हुने गरेको उनले बताए।

‘नेपालको मागअनुसार पूर्ति हुन अलि गाह्रो पर्छ। चाडपर्वको समयमा पछि बिक्री गर्दा मूल्य कम पर्ने भएकाले पनि अहिले किसानहरूले छिटो बिक्री सुरु गरेका छन्। यो क्रम नवमीसम्म जारी रहन्छ’, उनले भने।

उनका अनुसार हाल बुटवलमा दैनिक जिउँदो खसी बोका एक सयभन्दा बढी बिक्री भइरहेका छन्।

असोज २०, २०७८ बुधबार १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।