संसद् बैठकमा सांसदको हेलचेक्र्याइँ: एकै दिन ८४ जना अनुपस्थित
काठमाडौः संघीय संसद्मा प्रतिनिधित्व गर्ने धेरैजसाे सांसदहरू बैठकमा अनुपस्थित हुने गरेका छन्। मंगलबार मात्रै संसद बैठकमा ८४ जना सांसद अनुपस्थित भए।
हिजो संसद्मा दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरिने कार्यसूची भए पनि त्यसको वेवास्ता गर्दै सांसदहरू अनुपस्थित भएका हुन्।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हिजो मंगलबार सांसदहरूको हाजिरी सङ्ख्या एक सय ८७ मात्रै छ। ‘मंगलबारको हाजिरी एक सय ८७ जनाको छ, तर कुन दलका कति सांसद अनुपस्थित भए भन्ने विवरण भने तत्काल सार्वजनिक हुँदैन’, सङ्घीय संसद् भवन नयाँबानेश्वरका एक कर्मचारीले भने।
उनका अनुसार सांसदहरू संसद् बैठकमा प्रवेश गर्नु अगाडि 'अल्फाबेट' अनुसार हाजिरी गर्छन्। त्यसो हुँदा दलीय रूपमा को अनुपस्थित भए भन्ने तत्काल जानकारी हुँदैन।
संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार हरेक महिनाको अन्तिममा सांसद सुविधा व्यवस्थापन महाशाखाले कहिले को सांसद अनुपस्थित भए भन्ने विवरण सार्वजनिक गरी लेखा शाखालाई पठाउने गर्छ। 'व्यवस्थापन महाशाखाले पठाएको विवरणको आधारमा सांसदहरूले पाउने बैठक भत्ता लगायतका सुविधा निकासा हुन्छ', उनले भने।
प्रतिनिधि सभामा अहिले २ सय ७१ सांसद कायम छन्। विभाजनयता एमालेका सांसदको सङ्ख्या ९८ जनामा झरेको छ। एमाले संसद्को ठूलो दलको रूपमा प्रतिपक्षमा छ। नेपाली कांग्रेसले अहिले सरकारको नेतृत्त्व गरिरहेको छ। माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी सत्तारुढ छन्।
संसद्मा उपस्थित सांसदमध्ये एमाले सांसदले बैठकमा अवरोध गर्दै आएका छन्। अवरोधकैबीच अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक पारित भइसकेको छ।
प्रतिनिधि सभाको चालु अधिवेशनमा मंगलबारसम्म आठ वटा बैठक बसेको छ। संसद्को प्रमुख प्रतिपक्षी नेकपा एमालेले आठ वटै बैठकमा बेल घेरेर विरोध जनाइरहेको छ।
एमाले सांसदको विरोधकै बीच मंगलबार पनि दलित आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। एमालेका सांसदले पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्ने मागमा अर्को माग थपेर नारा लगाइरहेको छ।
उनीहरूले मंगलबारको बैठकमा 'कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन' भनेर नारा लगाए। सभामुख अग्नि सापकोटाले जनप्रतिनिधिहरूको सर्वोच्च निकाय सङ्घीय संसद् एवं संसद् सदस्यले स्वीकृत विधि, पद्धति एवं प्रक्रियाको पालनामा संवेदनशील एवं प्रतिबद्ध हुनुपर्छ भन्ने कुरालाई आत्मसात् गर्दै सभाको नियमित प्रक्रियामा प्रवेश गरी आफ्ना भनाई राख्न अनुरोध गरे।
तर, एमाले सांसदहरूले नारा लगाइरहे।
संसद्को नियमित अवरोधका कारण जनमानसमा संसद् प्रति नै वितृष्णा हुन सक्ने तर्फ सबै सचेत हुन जरुरी रहेको सापकोटाले बताए। उनले संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा न्याय निरूपणमा प्रतिकुल असर पार्ने विषयमाथि दुवै सदनको संसद्मा छलफल गर्न बन्देज गरेको स्मरण पनि गराउँदै आएका छन्।
तर, एमाले सांसदले अवरोध गर्न छाडेका छैनन्।
असोज २०, २०७८ बुधबार १०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।