लुम्बिनी प्रदेशमा प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट पेश गरिँदै

लुम्बिनी प्रदेशमा प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट पेश गरिँदै

बुटवलः लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट ल्याउँदै छ। आज दिउँसो बस्ने लुम्बिनी प्रदेश सभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्नेछन्।

यसअघि शंकर पोखरेल नेतृत्त्वको सरकारले चालु आर्थिक वर्ष ०७८÷०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो। प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो। 

तर, २८ साउनमा माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्त्वमा कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाही समेतको गठबन्धन सरकार बनेपछि बजेट कार्यान्वयन हुन सकेको थिएन।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काका अनुसार अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरिएको छ। स्वास्थ्य पुर्वधार, पर्यटन, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर ल्याउन लागिएको बजेटमा अरू पनि नयाँ कार्यक्रम थप गरिएको उनले बताए।

उनका अनुसार लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रर्वद्धनका लागि बहु–सांस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामाग्री उत्पादन उद्योग स्थापना लगायतका नयाँ कार्यक्रम बजेटमा समेटिने छन्।

यता प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेले भने बैठक अवरुद्ध गर्ने बताएको छ। एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दावी गर्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ। 

एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले आजको बैठक पनि अवरुद्ध पार्ने बताए।
 

असोज २०, २०७८ बुधबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।