जघन्य अपराधमा जनप्रतिनिधि : बलात्कारदेखि भ्रष्टाचारसम्मका आरोपी

जघन्य अपराधमा जनप्रतिनिधि : बलात्कारदेखि भ्रष्टाचारसम्मका आरोपी

घटना १
गत साउन २८ गते रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ माथि जबरजस्ती करणी आरोप लाग्यो। उजुरी परेपछि उनी पक्राउ पनि परे। ८ भदौमा रुपन्देही जिल्ला अदालतले उनलाई ५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो। धरौटी रकम बुझाएर शुक्ला रिहा भए।

घटना २
लुम्बिनी सांस्कृतिक नगरपालिका–२, लम्तिहवाका मोती मल्लाहको ३० वर्षअघि नै मृत्यु भएको थियो। तर, वडा नं. २ को वडा कार्यालयले कृषिमा दिइएको अनुदानमा मोती मल्लाहको पनि नाम राखियो। ६ कट्ठा क्षेत्रफलमा खरबुजा, लौका, घिरौँला र भाण्टा लगाउन उनलाई अनुदान दिइएको उल्लेख छ। 

३० वर्षअघि नै बितेका मोतीको नाममा वडा अध्यक्ष रमेशप्रसाद निषादको सिफारिसमा अनुदान पर्यो। मृतकका नाममा समेत अनुदान रकम सिफारिस गरेको समाचार गत साउन अन्तिम साता सार्वजनिक भएपछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा गठित छानबिन समितिले नगरपालिकाबाट अनुदान रकम दुरुपयोग भएको ठहर गरी फिर्ता गर्न निर्देशन दियो। 

यता लुम्बिनी सांस्कृतिक नगरपालिकाकाकै गरिब कोहारको वडा नम्बर १० मा रहेको १० कठ्ठा १७ धुर जग्गा उनको उपस्थिति बिनै बिक्री भयो। जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा किर्ते काम गरेर जग्गा बिक्री हुँदा गरिबले पत्तो पाएनन्। गरिब कोहारको नाममा वडा अध्यक्ष रमजान अली मियाँका ससुराले नक्कली नागरिकता बनाएर जग्गा बिक्री गरे। अहिले वडा अध्यक्ष अली फरार छन्। 

पीडित गरिब न्याय माग्न प्रहरी कार्यालयको ढोका ढोका चहारिरहेका छन्। जग्गाधनी पुर्जा हराएको र श्रेस्तामा फोटो उप्किएको कारण देखाएर वडा अध्यक्षले आफ्नो ससुराको फोटो प्रमाणित गरी सिफारिस गरेका थिए। चार किल्ला प्रमाणित पनि अध्यक्षले नै गरेका थिए। 

घटना ३
दाङको राप्ती गाउंपालिका अध्यक्ष नुमानन्द सुवेदी सहकारीको रकम हिनामिनामा मुछिए। देउखुरी बचत तथा ऋण सहकारी संस्था मर्ज हुनुअघि रहेको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख रुपैयाँ हिनामिनाको मुद्दामा उनी मुछिएका हुन। घटना गत असार १६ गतेको हो।

घटना ४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले रुपन्देहीको रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई घूस रकमसहित अघिल्लो भदौमा पक्राउ ग¥र्यो। सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको प्रमाण फेला परेपछि उनलाई अख्तियारले नियन्त्रणमा लिएको थियो।

घटना ५
२ वर्षअघि पश्चिम नवलपरासीको रामग्राम–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई पनि अख्तियार बुटवलको टोलीले नियन्त्रणमा लियो। सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिएको आरोपमा उनी पक्राउ परे। 

त्यस्तै पाल्पाको रैनादेवी छहरा–७ बल्ढेङगढिका वडाध्यक्ष देवेन्द्र पुन काठ व्यवसायीसँग घूस लिँदै गर्दा अख्तियारको फन्दामा परे। राजपुर गाउँपालिका–७ का वडाध्यक्ष भीमबहादुर खड्का किर्तेमार्फत ज्वाइँलाई छोरो बनाएर नागरिकता दिलाएको मुद्दामा जोडिए। 

दाङ–२ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा पनि यौन दुव्र्यवहार घटनामा जोडिए। पछि उनले सफाई पाए।

यी त उदाहरण मात्र हुन्। धेरै जनप्रतिनिधि विवादमा फसेका छन्। सार्वजनिक ओहोदामा रहेर जवाफदेही हुनुपर्ने जनप्रतिनिधि आफैं कानूनबाहिर गएर काम गर्न थालेका छन्। 

जनप्रतिनिधिबाटै अपराधले प्रश्रय पाउने गरेको सुशासनविद् खेमराज रेग्मीले बताए। उनले अनियमितता र बदमासीमा फसेका जनप्रतिनिधिलाई टाउको उठाउन नसक्ने गरी फौजदारी अपराधअन्तर्गत कारबाही नगर्दासम्म यस्ता घटना दोहोरिरहने बताए।

यौन दुर्व्यवहार, बलात्कार जस्ता जघन्य अपराधमा जनप्रतिनिधि मुछिदै आएका छन्। जग्गा विवाद, रकम हिनामिना, किर्ते नागरिकता, घूस लेनदेन लगायतमा पनि पछिल्लो समय जनप्रतिनिधि नै जोडिँदै आएका छन्। यसका कारण जनप्रतिनिधिबाटै अपराधले प्रश्रय पाउने चिन्ता बढेको रेग्मीले बताए। 

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल जनताले चुनेर पठाएका नेताहरू विधिको शासन गर्न छोडेर आफैं अपराधमा संलग्न हुँदा अरूले पनि यस्तै गतिविधि सिक्ने भन्दै चिन्ता व्यक्त गर्छन्। जनप्रतिनिधि कानूनविपरीतका काममा संलग्न हुनुले शासन सत्ताले कानूनको अवहेलना गरेको देखिने उनको भनाइ छ। 

‘सामाजिक न्याय, आर्थिक न्याय र विभेदरहित समाज निर्माणमा केन्द्रीत हुनुपर्ने जनप्रतिनिधि इमान्दार छैनन्। उनीहरू राष्ट्र र जनताप्रति इमान्दार नहुँदा नै यो समस्या आएको हो’, उनले भने।

नेताहरू आर्थिक लाभमा केन्द्रीत हुँदा जनतामा निरासा छाएको र जनताले व्यवस्थामाथि नै प्रश्न गर्न थालेको समेत उनले बताए।

‘जनतालाई व्यवस्था खराब कि नेता खराब हो छुट्याउन मुस्किल हुन थाल्यो। यसले लोकतान्त्रिक व्यवस्थालाई कमजोर मात्र बनाउँदैन यसले शासन व्यवस्थाविरुद्ध खेल्नेहरू पनि सक्रिय गराउँछ’, उनले भने, ‘यो व्यवस्था कमजोर बनाउन चाहने विगत र अहिलेका शक्तिहरू मौका कुरिरहेका छन्।’  

असोज १९, २०७८ मंगलबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।