कांग्रेस महाधिवेशनः प्रदेश १ मा संस्थापन पक्ष कमजोर 

कांग्रेस महाधिवेशनः प्रदेश १ मा संस्थापन पक्ष कमजोर 

इटहरीः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ मा संस्थापन पक्ष कमजोर देखिएको छ। प्रदेश १ को महत्त्वपूर्ण मानिने झापा, मोरङ र सुनसरीमा संस्थापन पक्ष कमजोर देखिएको हो। 

झापा
झापाका १५ वटै पालिकामा संस्थापन इतर पक्ष शक्तिशाली देखिएको छ। झापाका १५ मध्ये ११ पालिकामा निर्वाचनबाट र ४ पालिकामा सर्वसम्मत नेतृत्त्व चयन भएको छ। सर्वसम्मत चयन भएका कचनकवल गाउँपालिकाका तुलाराम अधिकारी, हल्दिबारीका गंगा प्रसाईं, झापा गाँउपालिकाका सागीरथ गणेश, बुद्धशान्ति गाउँपालिकका चक्र शेर्मा संस्थापन इतर पक्षका हुन्।

निर्वाचन प्रक्रियाबाट विर्तामोड नगरपालिकामा भोजराज सिटौला नेतृत्त्वको प्यानलै निर्वाचित भएको छ। बाह्रदशी गाउँपालिकामा इन्द्र बस्नेत र दमक नगरपालिकामा प्रकाश प्रसाईं निर्वाचित भएका छन्। 

कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५÷६५ मत ल्याएर बराबरी भएको छ। बराबरी मत पाएपछि गोलाप्रथावाट न्यौपाने विजयी भएका हुन्। कनकाई नगरपालिकामा दुर्गा प्रसाईं, गौरीगञ्ज गाउँपालिकामा आग्नीप्रसाद राजवंशी, गौरादहमा यादव सेढाई, मेचीनगरको सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन्। भद्रपुर नगर समितिको सभापतिमा रामबहादुर कँडेल र शिवसताक्षीमा अशोक बस्नेत निर्वाचित भएका छन्। 

शिवसत्ताक्षीका बस्नेत र मेचीनगरका पनेरु विश्वप्रकाश शर्मा निकट मानिए पनि पछि सिटौलाको टीमबाट सभापतिमा उम्मेदवार भएका थिए। 

मोरङ
मोरङका १७ पालिकामध्ये १५ पालिकामा इतर पक्षका उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको सभापतिमा डाक्टर शेखर कोइराला निकट दीपक चापागाई निर्वाचित भएका छन्। संस्थापन पक्षका निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतान्तरले पराजित गर्दै चापागाईं निर्वाचित भएका हुन्।

मिक्लाजुङ गाउँपालिकाको सभापतिमा बबि राई, कानेपोखरीमा योगेन्द्र दाहाल, कटहरीमा रामकुमार कामत, धनपालथानमा दीपकवीर पाण्डे, बेलबारी नगरपालिकाको नगर सभापतिमा छत्र लिम्बू, सुनवर्सीमा कमल किशोर गनगाई, पथरीशनिश्चरेमा रूपनारायण भट्टराई, रंगेली नगरपालिकाको नगर सभापतिमा जगरनाथ मण्डल निर्वाचित भएका हुन्।

सुन्दरहरैचा नगरपालिकामा भक्तिप्रसाद सिटौलाको प्यानलै विजयी भएको छ। लेटाङको नगर सभापतिमा दीपकचन्द्र राई , ग्रामथान गाउँपालिकाको सभापतिमा तुलसी विश्वास निर्वाचित भए। बूढीगंगा गाउँपालिकाका जितनारायण थापाले बाजी मारेका छन्। 

मोरङको जहदा गाउँपालिकामा महेन्द्र मण्डल, केराबारी गाउँपालिकामा प्रकाश बस्नेत, उर्लाबारी नगरपालिकामा सुरेन्द्र लिम्बू, र रतुवामाई नगरपालिकामा पोष्टबहादुर बस्नेत निर्विरोध चयन भएका छन्। त्यसमध्ये जहदा र धनपालथानमा मात्र संस्थापन पक्षले नेतृत्त्व पाएको छ। 

मोरङ् संस्थापन इतर समुहका नेताहरूको बलियो उपस्थिती भएको जिल्ला हो। केन्द्रीय सभापति दाबी गर्दै आएका डा. कोइरालादेखि डा. मिनेन्द्र रिजाल, महेश आचार्य, गुरुराज घिमिरे, सुजता कोइरालाको प्रभाव क्षेत्र हो मोरङ। 

त्यही प्रभावका बीच संस्थापन पक्षका अमृत अर्याल, रमेशजंग रायमाझी, दिलीप गच्छदार छायामा परेका छन्। 

सुनसरी
संस्थापन पक्षको बलियो उपस्थिती रहेको सुनसरी पनि इतर समुहको प्रभावमा परेको छ। 

संस्थापन पक्षका प्रभावशाली नेताहरू कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, विजय कुमार गच्छदार, मीन विश्वकर्मा, सिताराम मेहेता र नेबिसंघका केन्द्रीय सभापति राजीव ढुङ्गानाको जिल्लामा इतर पक्ष बलियो देखिएको हो। 

संस्थापन पक्षले १२ मध्ये २ पालिकामा मात्र नेतृत्त्व पाएको छ। एक पालिकाको अधिवेशन बाँकी रहेकोले त्यहाँ पनि इतर समुहकै प्रभाव देखिएको छ। 

प्रदेश १ का दुई उपमहानगरपालिका धरान र इटहरीमा इतर पक्षले नेतृत्त्व पाएको छ। 

पहाडमा पनि संस्थापन कमजोर 
संखुवासभामा इतर पक्षका दीपक खड्का सभापति विजयी भएका छन्। संस्थापन पक्ष कमजोर देखिएपछि देउवाले पनि उनैलाई समर्थन गरेका थिए। 

ताप्लेजुङको जिल्ला सभापतिमा भने संस्थापन पक्षका गजेन्द्र प्रसाद तुम्याहाङ निर्वाचित भएका छन्। 

धनकुटा साँगुरीगढी गाउँपालिकामा धन राई र छथर जोरपाटी गाउँपालिकामा सर्वसम्मत निर्वाचित छत्र सुब्बा इतर पक्षका हुन्। निर्वाचनबाट विजयी भएका महालक्ष्मी नगरपालिका ध्रुबराज राया र चौविसे गाउँपालिकाका गुणराज राई पनि इतरपक्षकै छन्। 

सर्वसम्मतबाट विजयी हुने पाख्रिवास नगरपालिकाका प्रेम भण्डारी र शहीदभूमि गाउँपालिकाका दिपेश राई मात्र संस्थापन समुहबाट आएका हुन्। 

सहमतिमा नेतृत्त्व चयन गर्ने भन्दै पटक पटक निर्वाचन कार्यतालिका परिर्वतन गरिएको धनकुटा नगरपालिकामा अनिश्चितकालिन निर्वाचन प्रक्रिया स्थगित भएको छ।

इलाममा पनि इतर पक्षको वर्चश्व देखिएको छ। १० वटा पालिकामध्ये ७ वटा पालिकामा इतर पक्ष नेतृत्त्वमा आयो।  

उदयपुरमा भने संस्थापन पक्ष बलियो देखिएको छ। उदयपुरका ८ वटा पालिका मध्ये ५ वटामा संस्थापन पक्षका सभापतिहरू निर्वाचित भएका छन्। ३ वटामा भने इतर पक्षले नेतृत्त्व पाएको छ। 

पाँचथरका १० पालिकामध्ये एउटामा मात्र इतर पक्ष पराजित भएको छ। बाँकी ९ पालिकामा संस्थापन पक्षले पराजय भोगेको छ। 
बाँकी खोटाङ र सोलुखुम्बु बाहेक अन्य जिल्लामा इतर पक्ष बलियो देखिएको छ। 

असोज १९, २०७८ मंगलबार १०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।