सुनसरी माओवादीमा प्रचण्ड र नारायणकाजी समूहबीच विवाद चर्कियो
प्रदेश कमिटीले गरेको कार्यविभाजनमा असन्तुष्टि जनाएको समूहले असोज १७ गते पार्टीको प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ।
नेकपामा हुँदा सुनसरी जिल्ला अध्यक्ष रहेका योगेन्द्र मण्डल (पम्पु) लाई प्रदेश कमिटीले सुनसरीको सहइन्चार्ज मात्र बनाएपछि विवाद बढेको छ। प्रदेश कमिटीले हस्तक्षेप गरी जुनियर इन्चार्ज भएको बेला सिनियरलाई सहइन्चार्ज बनाएको विषयबाट विवाद सुरु भएको हो।
केन्द्रीय कमिटीले सुनसरी जिल्ला इन्चार्जमा एकचन्द्र बराल (निर्मल) र सह-इन्चार्जमा मुक्सामहाङ मेन्याङ्बो (मुकेश) र शिव डाँगीलाई जिम्मेवारी दिएर पठाएको थियो। बरालभन्दा सिनियर केन्द्रीय सदस्यहरू रामकुमारी चौधरी र किरणकुमार राई भएको बेला विना आधार बराललाई इन्चार्ज बनाइएको भन्दै विवाद बढ्दै गएको हो।
पछिल्लो समय बराललाई इन्चार्ज मान्ने/नमान्ने भन्ने विषयमा माओवादी केन्द्र ध्रुवीकृत हुँदै गएको बेला प्रदेश कमिटीले मण्डललाई सहइन्चार्जको जिम्मेवारी दिएको छ।
नेकपा हुनुपूर्व मुकेश माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र बराल जिल्ला अध्यक्ष थिए। बराल नारायणकाजी श्रेष्ठ निकट र मुकेश प्रचण्ड पक्षका नेता हुन्। मण्डल मातृका यादव निकट छन्। उनी नेकपामा हुँदा सुनसरी अध्यक्ष भइसकेका छन्।
केन्द्रले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेर गलत गरेको भन्दै पुनर्विचारको माग राख्दै मण्डल नेतृत्वको समूहले प्रदेश कमिटीमा ज्ञापन पत्र बुझाएको छ। मण्डललाई साथ दिनेहरूमा स्वयं मुकेश, पूर्वराज्यमन्त्री रामकुमारी चौधरी, सन्तोष थारु (विश्व) लगायत छन्। उनीहरूले बराललाई इन्चार्ज स्वीकार गरेका छैनन्।
उता बरालको समूहले पार्टीमा अराजकता मच्चाएको भन्दै कारबाही गर्ने धम्की दिएको छ। पार्टीमा अराजक गतिविधि गरेको भन्दै उनीहरूले विज्ञप्ति नै जारी गरेका छन्।
नवनियुक्त इन्चार्ज बरालसहित सहइन्चार्ज शिव डाँगी, प्रदेश कमिटी सदस्यहरू आइन्द्रविक्रम बेघा, अनिता परियार, उमिता बराइली, नरेन्द्र बस्नेत र सुरेन्द्र महतोले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
डाँगीलाई सहइन्चार्ज बनाएकोमा मुकेश लगायतको समूह असन्तुष्ट छ। डाँगी यसअघि नै बरालसँग अध्यक्षमा पराजित भएका नेता हुन्। त्यससँगै जनयुद्ध लडेका र नलडेका बीचमा पनि विवाद बढेको हो। बराल जनयुद्ध नलडेको र जनयुद्धको व्याज खान आएको भन्दै मुकेश र मण्डल समूहले असन्तुष्टि जनाएको छ।
जिल्ला कमिटी जिल्ला समन्वय समितिको रूपमा रूपान्तरण भएपछि समन्वय समितिको संयोजक भने नेकपा हुँदा अध्यक्ष भएका योगेन्द्र मण्डल पप्पु छन्। उनी मातृका यादव निकट मानिन्छन्।
जनयुद्धमा सामेल भएका अध्यक्ष प्रचण्ड निकट नेताहरूलाई माइनस गराउन खोजेको भन्दै मुकेश, रामकुमारी चौधरी, सन्तोष थारु विश्व लगायतले निर्मल बराललाई इन्चार्ज मान्न अस्वीकार गरेका छन्। त्यसमा आन्दोलनको मोर्चा पप्पुले सम्हालेका छन्। बाँकी नेताहरूले उनलाई साथ दिने वचन दिएका छन्।
सुनसरी माओवादी केन्द्रलाई व्यवस्थापन गर्न प्रदेश कमिटीलाई समस्या परेको छ। आइतबार समस्या समाधान गर्न इटहरीमा सहइन्चार्जहरू सुरेश किराँती (हिमाल), अजम्बर काङमाङ्ग र सावित्रीकुमारी काफ्लेले दुवै पक्षका नेताहरूलाई भेटेर समस्या समाधान गर्न खोजे पनि सफल हुन सकेनन्।
उल्टै इन्चार्जको सहमतिबिनै जिल्ला समन्वय समितिले जिम्मेवारी तोकेको छ। योगेन्द्र मण्डलको नेतृत्वमा बसेको बैठकले इन्चार्ज र सहइन्चार्जबिनै जिम्मेवारी तोकेको हो।
६२ सदस्यीय समितिमा ४२ जना मण्डल र मुकेशको पक्षमा देखिएका छन्। बहुमत सदस्यले मुकेशलाई केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज बनाउन सिफारिस गरेको छ। त्यससँगै अनेरास्ववियु क्रान्तिकारीको सुनसरी अध्यक्ष बनाउने विषयमा पनि विवाद भएको थियो।
मुकेश र मण्डल समूहले अर्जुन पौडेललाई अध्यक्ष चयन गरेका छन् भने बराल समूहले सिएम पौडेललाई अध्यक्ष बनाउने तयारी थालेको छ।
जिल्ला इन्चार्ज निर्मल बरालले भने पार्टी लामो समय नेतृत्वमा रहेर पनि माओवादीको सङ्गठन बनाउन नसकेको दोष ढाकछोप गर्न अराजकता मच्चाएको आरोप लगाएका छन्। यसअघि मुकेश र रामकुमारी चौधरीले १०/१० वर्ष नेतृत्व गरेकाले अहिले पार्टीमा अराजकता मच्चाउन खोजेको उनले बताए।
नेतृत्वमा रहँदा केही गर्न नसक्ने र पछि दोष ढाकछोप गर्न अराजक गतिविधिमा सामेल भएको उनको आरोप छ। विधि र विधान विपरीत गठन भएको समन्वय समितिको निर्णयलाई वैधानिक मान्न नसकिने उनले बताए।
असोज १८, २०७८ सोमबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।