संसारका धनी र शक्तिशाली व्यक्तिको गोप्य 'डिल' र लुकाइएको सम्पत्तिको खुलासा

संसारका धनी र शक्तिशाली व्यक्तिको गोप्य 'डिल' र लुकाइएको सम्पत्तिको खुलासा

संसारका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको गोप्य 'डिल' र लुकाइएको सम्पत्तिको हालसम्मकै ठूलो अफशोर डेटाको खुलासा भएको छ। 

पान्डोरा पेपर्स नाम दिइएको यस खुलासामा धनी क्लाइन्टहरूले पानामा, दुबई, मोनाको, स्वीट्जरल्याण्ड र केयम्यान टापु जस्ता ट्याक्स हेभन मुलुकमा अफशोर संरचना र ट्रस्ट बनाउनका लागि नियुक्त गरेका १४ वटा कम्पनीबाट एक करोडभन्दा बढी रेकर्ड प्राप्त भएको छ। 

२.९४ टेराबाइट डेटाले २ सयभन्दा बढी क्षेत्र तथा देशका सेना प्रमुख, नेता, प्रधानमन्त्री, राष्ट्रपति तथा पूर्व विशिष्ट पदाधिकारीहरूको गोप्य अफशोर गतिविधिको खुलासा गरेको छ। यसले ९० देशका ३ सयभन्दा बढी मन्त्री, न्यायाधीश, नगरप्रमुख तथा सेनाका उच्च पदस्थ कर्मचारीको गोप्य आर्थिक गतिविधिको पनि खुलासा गरेको छ। 

पान्डोरा पेपर्समा नाम मुछिनेहरूमा ३ सय ३० राजनीतिकर्मी, एक सय ३० फोर्ब्समा सूचीकृत अरबपति तथा विभिन्न सेलिब्रेटी, लागुऔषध व्यापारी, राजपरिवारका सदस्य र विभिन्न धार्मिक संघसंस्थाका प्रमुखहरू रहेका छन्।

पान्डोरा पेपर्सले बेलायतको कन्जर्भेटिभ पार्टीको मुख्य दाताको बारेमा पनि खुलासा गरेको छ। यस्तै धेरैले शेल कम्पनीमार्फत विलासी वस्तुहरू जस्तै घरजग्गा, जहाज र गोप्य बैंक खाताहरूको प्रयोग गर्ने गरेको पनि खुलासा भएको छ। उनीहरूले कम्बोडियन प्रचीन सामग्रीदेखि पिकासोका पेन्टिङ र बैंक्सीका भित्ते चित्रहरू जस्ता लुटिएको कलाहरूको पनि सङ्ग्रह गर्ने गरेको खुलासा भएको छ। 

पान्डोरा पेपर्सले छाया आर्थिक विश्वको भित्री कामको पर्दाफास गरेको छ। यसले ग्लोबल अफशोर कम्पनीहरूको गोप्य कामकारबाहीलाई प्रकाशमा ल्याउँदै विश्वका धनाढ्यले आफ्नो धन लकाउन र कर नतिर्न कसरी खेल खेल्छन् भन्ने देखाएको छ। 

इमेल, मेमो, सेयर प्रमाणपत्र, कम्प्लायन्स रिपोर्ट, जटिल चित्रजस्ता कर्पोरेट संरचना देखाउने फाइलहरू इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस् (आइसिआइजे)बाट लिक भएको हो। यस विशाल खुलासामा ६ सयभन्दा बढी पत्रकारहरूको संलग्नता थियो। पान्डोरा पेपर्स आर्थिक डेटाको आयतनमा हालसम्मकै ठूलो खुलासा हो। 

अफशोर कम्पनीमार्फत फाइदा लिनु गैरकानूनी नभए पनि ट्याक्स हेभन मुलुकले प्रदान गर्ने गोप्यताले बेलाबखत कर छली गर्नेहरू र सम्पत्ति शुद्धीकरण गर्नहरूलाई आकर्षित गरिरहेको हुन्छ। हालको अवस्था यही हो। 

यसअघिको सबैभन्दा ठूलो खुलासा पानामा पेपर्स थियो, जसमा २.६ टेराबाइट डेटा लिक भएको थियो।  

पान्डोरा पेपर्स भियतनाम, बेलिज, सिंगापुर, बहामस, सेसेल्स लगायतका मुलुकमा रहेका कुल १४ वटा अफशोर प्रदायकबाट लिक भएको हो। धनाढ्यहरू तथा ठूला कम्पनीहरू कर छली गर्न आफ्ना सम्पत्ति अफशोरमार्फत लुकाउने गर्छन्। यसले सम्बन्धित सरकारलाई राजश्वमा खर्बौँको घाटा पुग्ने गर्छ। 

पान्डोरा पेपर्समार्फत खुलासा भएकाहरूको सूचीमा जोर्डनका शाषक राजा अब्दुल्लाह दोस्रो पनि रहेका छन्। उनको १० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति मालिबु, वासिङटनदेखि लण्डनसम्म रहेको छ। जोर्डनका राजाले यसबारेमा ठोस जवाफ नदिए पनि उनले अफशोरमार्फत सम्पत्ति उपभोग गर्नु गलत नभएको बताएका छन्। जोर्डनले आइतबारै पान्डोरा पेपर्ससम्बन्धी खुलासा हुनुपूर्व आइसिआइजेको वेबसाइटमा प्रतिबन्ध लगाएको छ। 

यस्तै अजरबैजानका शासक परिवार अलियेवले पनि ४ सय मिलियन पाउण्डको बेलायती सम्पत्तिको खरिद तथा बिक्री गरेको खुलासा भएको छ। तीमध्ये केही सम्पत्ति बेलायती महारानीको मातहतमा रहनेमा पनि बेचिएको थियो। अजरबैजानका शाषक परिवारले यस विषयमा मुख खोलेका छैनन्। 

पान्डोरा पेपर्सले दुई युरोपियन युनियनका नेताहरूलाई पनि समेटेको छ। यसले ठूलै राजनीतिक उथलपुथल ल्याउने अनुमान गरिएको छ। चेक रिपब्लिकका प्रधानमन्त्री आन्द्रेज बेबिच, जो यसै साता चुनावी माहोलमा उत्रिने छन्, उनले अफशोरमार्फत कसरी र किन २ करोड अमेरिकी डलर बराबरको सम्पत्ति प्राप्त गरे भन्ने प्रश्नको सामना गरिरहेका छन्। उनले पनि यसबारेमा जवाफ दिएका छैनन्। 

साइप्रस, जो आफैंमा अफशोरको सेन्टर पनि हो, त्यहाँका राष्ट्रपति निकोस एनासतासिआदेसले पनि प्रश्नको सामना गर्न सक्ने भएका छन्। उनले स्थापना गरेका 'ल फर्म' ले रुसका विवादास्पद खरबपतिको सम्पत्ति लुकाएको आरोप लागेको छ। सो फर्मले आफूले गलत केही पनि नगरेको बताएको छ भने साइप्रसका राष्ट्रपतिले भने आफू १९९७ मा प्रतिपक्षी पार्टीको नेता भएयता सो फर्मसँग प्रत्यक्ष संलग्न नभएको बताएका छन्।

उसो त पान्डोरा पेपर्समा उल्लेखित सबैलाई गलत कामको आरोप लगाइएको छैन। 

पूर्वप्रधानमन्त्री टोनी र उनकी श्रीमती चेरी ब्लेरले लण्डनको एक भवन खरिद गर्दा ३ लाख १२ हजार पाउण्ड बराबरको सम्पत्ति कर जोगाएको खुलासा भएको छ। उनीहरूले सो भवन बहराइनका प्रभावशाली मन्त्रीबाट खरीद गरेका थिए। उनीहरूले मेरिलेबोनमा ६.५ मिलियन पाउण्डको अफिस पनि खरिद गरेका थिए, ब्रिटिस भर्जिन आइल्याण्ड अफशोर कम्पनीमार्फत। यो कार्य गैरकानुनी नभए तापनि यसले धनाढ्यहरूलाई कर तिर्न नपर्ने घुमाउरो बाटो देखाएको छ।  

यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जो सन् २०१९ मा देशको भ्रष्टाचार र कुलिन वर्ग प्रभावित अर्थतन्त्रको सफाया गर्ने भनेर निर्वाचित भएका थिए, उनी पनि पान्डोरा पेपर्समा समेटिएका छन्। जेलेन्स्कीले २५ प्रतिशत शेयर एक अफशोर कम्पनीमा पठाएको खुलेको छ। र, उनले जसलाई सो सेयर प्रदान गरेका थिए, उनी हाल राष्ट्रपतिको सल्लाहकारको रूपमा कार्यरत छन्। जेलेन्स्कीले पनि यसबारे मुख खोलेनन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति अमेरिकाको सधैं शंकाको नजर छ। उनले गोप्य रूपमा सम्पत्ति भोग गरेको अमेरिकाको शंका छ। तर पुटिन पान्डोरा पेपर्सको सूचीमा छैनन्। यद्यपि उनका थुप्रै नजिकका मान्छे यसमा मुछिएका छन्। उनको बाल्यकालको साथी दिवंगत पिटर कोल्बिन, जसलाई जानकारहरू पुटिनको 'पर्स' भन्छन्, यसमा संलग्न रहेको भेटिएको छ। यस्तै रुसी एक महिला जोसँग पुटिन एक समय 'रोमान्टिक' सम्बन्धमा थिए, उनी पनि यसमा संलग्न छिन्। उनीहरू कसैले यसबारे मुख खोलेका छैनन्। 

पान्डोरा पेपर्सले अफशोर प्रणालीमाथि नै प्रश्न खडा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन, जसले विश्वव्यापी वित्तीय प्रणालीमा पारदर्शीता ल्याउने प्रतिवद्धता गरेका थिए, उनका लागि पान्डोरा पेपर्सको खुलासाले लज्जावोध गराउने सम्भावना रहेको छ। अमेरिका ट्याक्स हेभनको रूपमा नेतृत्त्वदायी मुलुक भएको खुलेको छ। फाइलका अनुसार साउथ डाकोटा राज्य एक्लैले गम्भीर वित्तीय अपराधमा संलग्न व्यक्तिको खर्बौँ अमेरिकी डलरलाई आश्रय दिइरहेको छ। 

अफशोर ट्रेल अफ्रिकाबाट दक्षिण अमेरिका र एसियासम्मै फैलिएको छ। यसले हाल विश्वका थुप्रै राजनीतिज्ञका सामु गम्भीर प्रश्न खडा गरेको छ। 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारमा रहेका एक प्रभावशाली मन्त्री मुनिस इलाहीले सिंगापुरमा रहेको एक अफशोर प्रदायकलाई सम्पर्क गरी ३३.७ मिलियन अमेरिकी डलर लगानी गर्नेबारे बताएका थिए। 

केन्याका राष्ट्रपति उहुरु केन्याटाले आफूलाई भ्रष्टाचारको दुश्मन भनी चिनाउने गरेका थिए। तर अब उनी पनि व्याख्या गर्नुपर्ने अवस्थामा छन्। उनी र उनका नजिकका आफन्तले ३० मिलियन अमेरिकी डलरभन्दा बढीको सम्पत्ति जम्मा गरेका छन्। तीमध्ये एक सम्पत्ति लण्डनमा समेत रहेको छ। केन्याटाले यसबारेमा केही बताएका छैनन्। 

पान्डोरा पेपर्सले अघिल्लो पटकको अफशोर लिकको पनि केही सकारात्मक नतिजा देखाएको छ। अघिल्लो अफशोर लिकपछि ब्रिटिस भर्जिन आइल्याण्डलगायत विश्वका केही भागमा सामान्य वित्तीय सुधार भएको छ। हाल ब्रिटिस भर्जिन आइल्याण्डमा त्यहाँ दर्ता भएका कम्पनीहरूको सक्कली सञ्चालकहरूको विवरण राखिने गरिएको छ। यद्यपि हालै लिक भएको डेटाअनुसार भने अफशोरका विभिन्न गन्तव्यमा पैसा आदानप्रदान हुने देखाउँछ। 

आइसिआइजेका निर्देशक जेरार्ड रायलका अनुसार ट्याक्स हेभनमार्फत् वित्त संकलन गर्ने राजनीतिकर्मीहरूका कारण अफशोर अर्थतन्त्र सुधारमा समस्या खडा भएको हुने गरेको छ। 'जब यस्ता नेतृत्त्व, यस्ता राजनीतिकर्मी, यस्ता कर्मचारीले गोप्य रूपमा संसारलाई प्रयोग गर्छन्, मलाई लाग्दैन हामीले यसको अन्त्य देख्नेछौं,' उनले भने। 

उनले पान्डोरा पेपर्स अघिल्ला लिकहरूभन्दा महत्त्वपूर्ण भएको बताए। किनभने यो महामारीको बीचमा असमानता बढ्दै गएको खुलासा भएको छ। सरकारलाई अभूतपूर्व ऋण लिन बाध्य बनाएर आम करदाताको काँधमा थोपरेको बेला खुलासा भएको छ। उनले भने, 'यो सारमा पानामा पेपर्स नै हो तर वृहत् र अधिक विवरणसहित।'

सन् २०२० मा अर्गेनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलप्मेन्ट (ओइसिडी) ले गरेको एक अध्ययनअनुसार अफशोरमा कम्तीमा ११.३ ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ। 'यो त्यही पैसा हो जुन विश्वभरका कोषहरूबाट हराएको छ र त्यही पैसा जसलाई कोभिडबाट छुटकारा पाउन प्रयोग गर्न सकिन्थ्यो,' रायलले भने, 'हामी हारिरहेका छौं किनकी कोही यस हारबाट लाभान्वित हुन्छन्। यो सरल छ। यहाँ एकदमै सहज कारोबार चलिरहेको छ।'

- दी गार्जियनबाट साभार

असोज १८, २०७८ सोमबार १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।