‘इभिनिङ वक’मा हिँडेकी महिलामाथि सामूहिक बलात्कार, ५ अभियुक्त पक्राउ पर्दा ४ जना नाबालिग

‘इभिनिङ वक’मा हिँडेकी महिलामाथि सामूहिक बलात्कार, ५ अभियुक्त पक्राउ पर्दा ४ जना नाबालिग

सुनसरीः इटहरी–८ भुर्कीमा आइतबार ‘इभिनिङ वक’मा हिँडेकी एक महिलामाथि सामूहिक बलात्कार भएको थियो। ६ जना युवाको समूहले सामूहिक बलात्कार गरेका थिए। 

बलात्कारपछि पीडितको उजुरीको आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरिसकेको छ भने एकजना फरार छन्। 

पीडित महिलाले प्रहरीलाई दिएको जानकारीअनुसार ती युवाहरूले उनलाई कुटपिट गरी धानबारीमा लगेर जबरजस्ती करणी गरेका हुन्। उनीहरूले २ तोला ४ आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजार समेत लुटेर भागेको उनको भनाइ छ। 

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी अर्जुन केसीका अनुसार ३० वर्षीया महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए। पीडितको अनुहारमा शरीरका विभिन्न भागमा कुटपिट गरेको देखिएको उनको भनाइ छ।

पक्राउ परेकामध्ये ४ जना १८ वर्ष मुनिका किशोर भएको र एक जना २७ वर्षका युवा रहेको केसीले बताए। त्यसमध्ये इटहरी–१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ। बाँकी एक जनाको खोजी कार्य भइरहेको डिएसपी केसीले बताए।
 

असोज १८, २०७८ सोमबार १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।