नागरिकता 'किन्न' १० हजार रुपैयाँ जुटाउँदै छिन् रेणु
इटहरीः सडकमा मकै पोलेर छाक टार्ने रेणु राउतको दिनको कमाइ ४ सय रुपैयाँ हो। त्यही पैसाले उनले कोठा भाडा तिर्नुपर्छ। त्यही पैसाले बिहान बेलुका छाक टार्नुपर्छ, ८ वर्षीय छोराको पालनपोषण गर्नुपर्छ। उसलाई पढाउनुपर्छ।
यति हुँदाहुँदै त्यही पैसाबाट थोरै थोरै जोगाएर १० हजार पुर्याउनुपर्छ– नागरिकता बनाउन।
रेणुको कथा
तगारीमा कोइला हम्किँदै मकै पोल्छिन् रेणु। मकै न हो, धेर नाफा हुँदैन। र पनि ग्राहक ‘महंगो भो’ भन्दै फर्किन्छन्। ५ रुपैयाँ कमाइ हुने मकैमा १० रुपैयाँको बार्गेनिङ चल्छ। रेणुको पनि त पेटको सवाल छ– उनी ‘हुँदैन, आउँदैन’ भन्छिन्।
दैनिक सयाैं मकै पोल्दा पनि उनको हिम्मत भने पोलिएको छैन। रेणु अनेक सङ्घर्षसँग जुध्दै छिन्।
उनी ७ वर्षको हुँदा हराएकी थिइन्। २० वर्षपछि फेला परिन्। उनलाई परिवारले लामो समय खोजी गरेको थियो। आमा बाले पनि माया मारिसकेका थिए। तर पछि एकैचोटी जवान भएर फर्किइन् रेणु।
स्थानीय परम्पराअनुसार हराएको छोरी भेटिएबापत हर्जाना तिर्नुपर्ने भयो। छाक टार्नै धौधौ पर्ने बाआमाले रेणुको लागि हर्जाना तिर्नुपर्यो। ‘कति तिरेको भन्ने यकिन भएन, ५ सय रुपैयाँ होला’, उनले स्मरण गर्दै भनिन्।
पछि उनको विवाह भयो– शंकर मण्डलसँग। शंकरले इटहरीमै घर छ भनेर रेणुलाई भित्र्याएका थिए।
एउटा सुकुम्बासी बस्तीमा घर रहेछ पनि। तर लामो समय त्यहाँ नबसेकाले स्थानीय मुसहरले घर कब्जामा लिएका रहेछन्। शंकरले रेणुलाई झुक्याएका रहेछन्।
पछि शंकरले रेणुलाई आफ्नो स्थायी घर जनकपुर लगेछन्। रेणु त्यहाँ पुग्दा त शंकरकी श्रीमती र छोराछोरी पो घरमा भेटिए। उनी छाँगाबाट खसेझैँ भइन्। तर गर्नसक्ने केही नभएपछि रेणु दोस्रो श्रीमती भएर बसिन्।
पुनः इटहरी
लामो समय उनीबाट सन्तान हुन सकेन।
उनी पुनः इटहरीनै फर्किइन्। बाआमासँग बस्दा नराम्रो हुने भएपछि एक्लै डेरामा बस्न थालिन्। श्रीमान् शंकर पनि बेलाबखत आइरहन्थे। यसबीचमा भने रेणुको गर्भ भरियो। उनले छोरालाई जन्म दिइन्। छोरा अहिले ८ वर्षका छन्।
तर छोराको अहिलेसम्म जन्मदर्ता पनि बन्न सकेको छैन।
जन्मदर्ताको के कुरा, रेणुको आफ्नै नागरिकता पनि बनेको छैन। ५० वर्ष नाघिसकेकी रेणुलाई नागरिकता बनाउने ठूलो धोको छ।
श्रीमानले नचाहँदा बनेन नागरिकता
रेणुको नागरिकता र छोराको जन्मदर्ता नबन्नुको पछाडि एउटा कारण छ– श्रीमानले नागरिकता बनाइदिन मानेका छैनन्। नागरिकता दिएपछि अंश पनि दिनुपर्ने भएकाले शंकर झस्किएको हुनसक्ने रेणुको बुझाइ छ।
रेणु अहिले छोराकै सहाराको आशमा छिन्। तर जन्मदर्ता नै नबन्दा छोराको पनि भविष्य सुनिश्चित छैन।
‘नागरिकता बनाइदिनु भन्दा ‘बिस्तारै बनाईदिउँला नि!’ भनेको छ। खर्च लिएर आईज अनि बनाईदिन्छु भन्छ। १० हजार जति भयो भने नागरिकता दिउँला भनेको छ। पैसा भए पो नागरिकता लिनु। पैसा जम्मा गर्दैछु। हेरौं कहिलेसम्म हुन्छ। भएन भने.....’ बोल्दा बोल्दै उनी रोकिइन्।
रेणुको कमाइ दिनको ४ सय रुपैयाँ हो। त्यतिले आफ्नो उपचार र खाना खर्च पनि पुग्दैन। इटहरी बसपार्क छेउको एउटा कोठाको मासिक ३ हजार भाडा तिर्छिन्।
पैसा नभएपछि नागरिकता कसरी ‘किन्ने’ रेणु बिलखबन्दमा छिन्। छोराको जन्मदर्ता कसरी ‘किन्ने’ रेणु चिन्तामा छिन्।
नागरिकता पाएरै छोड्ने इच्छा
मान्छेको अपमान र ट्राफिक प्रहरीको गाली सुन्दा सुन्दा उनी बानी परेकी छिन्। अहिले मकै पोल्दै आएको स्थान पनि ट्राफिकले खाली गर्न सूचना सुनाएको धेरै दिन बितिसक्यो। यद्यपि बसपार्कमा पार्किङको बीचमा उनले ठाउँ ओगटेकी छिन्।
इटहरी उपमहानगरपालिकाको गाडीले बेलाबेला मकै उठाएर लैजान्छ। तर पनि रेणु बाध्य भएर पुनः मकै पोल्न फर्किन्छिन्। अहिले उनी विकल्पको खोजीमा छिन्। सडक पारीको एउटा कुनामा ठाउँ सर्ने उनको योजना छ।
पहिला पेट भर्न मकै पोल्ने रेणु अहिले घामपानी सहेर नागरिकता बनाउन मकै पोल्छिन्। आफूलाई नागरिकता र छोरालाई जन्मदर्ता बनाएरै छोड्ने उनको धोको छ। उनी अहिले गाँस काटेर नागरिकता ‘किन्न’ पैसा जोहो गर्दैछिन्।
असोज १८, २०७८ सोमबार १०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।