यातायात कार्यालय एकान्तकुनाबाट २ जना विचाैलिया पक्राउ

यातायात कार्यालय एकान्तकुनाबाट २ जना विचाैलिया पक्राउ

काठमाडाैंः महानगरीय ट्राफिक प्रहरी महाशाखाकाे टाेलीले एकान्तकुनास्थित यातायात कार्यालयबाट २ जना विचाैलियालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- १४, नख्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र वडा नम्बर १३ कुसुन्ती बस्ने २३ वर्षीय सुरज गुप्ता रहेका छन्।

लिखित परीक्षा पास गराईदिने, सुरुमै ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाईदिने भन्दै सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरिएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट उनीहरूलाई पक्राउ गरिएको एसएसपी भट्टराईले जानकारी दिए।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारबाही अभियान चलाइरहेको छ।
पक्राउ परेका व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारबाहीको लागि बुझाएको महाशाखाले जनाएको छ।

असोज १८, २०७८ सोमबार ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।