बादी महिलाको पीडा : सरकारी कार्ड टोक्नु न बोक्नु
कार्ड बनेपछि सरकारले भत्ता दिन्छ , बच्चालाई निःशुल्क पढाई दिन्छ भन्ने सुनेकी उनले कार्ड बनाउन जाँदा लाग्ने खर्च जोहो गर्न तामाका गाग्री बेचेकी थिइन्। ११ वर्ष भयो उनको कार्ड बनेको पनि। तर न भक्ता पाएकी छिन् न बालबच्चाले निःशुल्क पढ्न नै पाएका छन्।
नगरपालिकाबाट महिलाहरूका लागि सञ्चालन गरिने स्वरोजगार र आयआर्जनका कार्यक्रममा समेत प्राथमिकता नपाएको गुनासो गरिन् उनले। पुर्ख्यौली पेसा पनि अर्कैले खोसिदियो।
‘सरकारले परिचय पत्र दिँदा हाम्रा दिन पनि आउने भए भन्ने सोचेको त हैन रहेछ,’ उनले उकेरासँग भनिन्‘ मादल बनाउँथ्यौ, त्यो पनि अर्काले लिए, नाच्थ्यौँ त्यो पनि अकैले लिए। पुर्ख्यौली पेसा खोसियो। सरकारले नि केही दिएन।’
सरकारले सो समुदायकालाई घर बनाइदिएको थियो। उनी त्यही घरमा बस्छिन्। बासको व्यवस्था भए पनि गाँसको व्यवस्था नहुँदा समस्या परेको उनको दुखेसो थियो।
सरकारले घर बनाइदिने भयो। तर त्यो घर पनि ऋण निकालेर बनाउनु परेको निर्मला बादीले गुनासो गरिन्। सिपमूलक तालिमसम्म पाउन सके पनि केही काम गर्न सकिने आसमा देखिइन् उनी।
‘कति दिन हात थाप्नु। हामीलाई पनि सिप सिकाइदिए त काम गरेर ज्यान पाल्न सक्थ्यौँ’ उनले भनिन्।
३६ वर्षीय गोपी वादीलाई सिलाई–कटाईको तालिम लिने इच्छा रहेछ। तर सिक्न कहाँ जाने पत्तो छैन उनलाई। आफूहरू सिप सिक्न चाहने तर समाजले भने उही पुरानै सोचले हेर्ने गरेकोमा चित्त दुखाउँदै उनले भनिन्‘समाजमा बादी समुदायका महिलाहरूलाई पुरानै रूपको सोच राख्दा समस्या छ। हामी सिपको खोजीमा छौँ। तर समाजले भने उही देहव्यापार गर्ने जातिका महिलाकै रूपमा हेर्छ।’
स्थानीय निर्मला बादी दलित उत्थान भनेर आउने बजेट पनि टाठा बाठाले सक्काउने गरेको बताइन्। दलित भनेर एकमुष्ट आउने रकम बादी समुदायसम्म पुग्नु अगाडि नै सकिने गरेको उनले बताइन्।
‘दलितका लागि यति लाख भनेर एकमुष्ट बजेट छुट्टाइन्छ, त्यो बजेट दलितभित्रकै टाठा बाठाले चलाएर खाइदिन्छन्,’निर्मलाले भनिन्,‘झारा टार्ने काम गर्नुभन्दा समुदाय नै छुट्ट्याएर बजेट दिए केही काम त हुन्थ्यो।’
असोज १८, २०७८ सोमबार २०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।