एमाले विधान महाधिवेशन : अधिकांशकाे टिप्पणी निर्वाचन प्रणालीमाथि ,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग
काठमाडाैंः नेकपा एमालेकाे प्रथम विधान महाधिवेशनमा अधिकांश प्रतिनिधिहरूले निर्वाचन प्रणालीमै टिप्पणी गरेका छन्। अधिकांशले निर्वाचन प्रणाली खर्चिलाे भएकाे टिप्पणी गरेका छन् भने अन्यले प्रत्यक्ष निर्वाचित कार्यकारीकाे विषयमा सुझाव पेश गरेका छन्।
विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल र सुझावका लागि दश वटा समूह बनाइएको थियो। गण्डकी प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय र प्रवास, प्रदेश नं २, प्रदेश नं १ र जनवर्गीय संगठन समूहहरूबाट सुझाव प्रस्तुत गरिएकोमा गण्डकी प्रदेश समूहको तर्फबाट केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष जगत विश्वकर्माले निर्वाचन बढी खर्चिलो भएकाले निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने धारणा राखेका थिए।
यस्तै उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास कमिटीका प्रतिनिधिहरूको समूहका तर्फबाट केन्द्रीय सदस्य, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यले पनि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने धारणा राखेकी थिइन्। उनले पार्टी र राज्यसत्ताका विभिन्न निकायमा श्रमजीवी वर्गको १० प्रतिशत सहभागिता गराउनुपर्ने सुझाव राखेकी थिइन्।
प्रदेश २ समूहको तर्फबाट केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष ज्वाला साहले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीमा पार्टीले जोड दिनुपर्ने सुझाव प्रस्तुत गरेका थिए। साहले जस्तै जनवर्गीय संगठनहरूको समूहबाट अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनुपर्ने सुझाव राखेकी थिइन्।
यता प्रदेश १ समूहका तर्फबाट समूह नेता केन्द्रीय कमिटी सदस्य तथा प्रदेश अध्यक्ष देवराज घिमिरेले निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले यसमा सुधार गरी सर्वसाधारणले समेत निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन सुझाव दिएका थिए। उनले राजकीय पदमा नियुक्त हुने व्यक्तिको सिफारिस पार्टीको संस्थागत निर्णयअनुसार हुनुपर्ने सुझाव राखेका थिए।
१० वटै समूहले आआफ्ना सुझाव प्रस्तुत गरिसकेकाले त्यसक्रममा उठेका सुझाव र जिज्ञासामाथि अब पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव बिष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यक्रम रहेको छ। अन्त्यमा समसामयिक प्रस्तावहरू परित गर्दै एमालेकाे विधान महाधिवेशन आजै समापन हुने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख याेगेश भट्टराईले जानकारी दिए।
असोज १७, २०७८ आइतबार १३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।