कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

कैलालीः नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन भने सुरु पनि हुन सकेकाे छैन। क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ हुँदा कैलालीको वडा अधिवेशन अनिश्चित भएकाे हाे।

प्रदेशका ९ जिल्लामध्ये ८ जिल्लाका ७५ पालिकामा वडा अधिवेशन सकिएको छ। जिल्ला उपसभापति प्रकाश बमका अनुसार कांग्रेस कैलालीको वडा तहको अधिवेशन अब दशैंपछि मात्र हुने सम्भावना रहेको छ।

“केन्द्रबाट निर्वाचन अधिकृत नआउँदा वडा तहको अधिवेशनका लागि निर्वाचन कार्यतालिकासमेत प्रकाशित हुन सकेको छैन”, जिल्ला सभापतिका आकाङ्क्षीसमेत रहेका बमले भने, “अधिवेशनका लागि पूर्वतयारीका काम गर्न पनि बाँकी नै रहेकाले दशैंअघि अधिवेशन हुने सम्भावना छैन।”

यसअघि कैलालीकाे क्रियाशील सदस्यता विवरण प्राप्त भएकाे र कुनै विवाद नरहेकाे भन्दै गत साेमबार नै निर्वाचनकाे मिति ताेक्ने बताइएकाे थियाे। 

असोज १७, २०७८ आइतबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।