सात वर्षदेखि बाढीले विस्थापित, भन्छन्- ‘हरेक दशैं, दशा बनेर आउँछ’ 

सात वर्षदेखि बाढीले विस्थापित, भन्छन्- ‘हरेक दशैं, दशा बनेर आउँछ’ 

सुर्खेतः २०७१ साल साउन २८ र २९ गतेको बाढीबाट सुर्खेतमा एक सय १५ जनाको बगेर मृत्यु भयो। सोही बाढीबाट दुई हजार तीन सय २९ परिवार विस्थापित पनि भए। 

७ वर्षअघिको बाढीबाट विस्थापित भएका करिब ८ सय परिवार अझै पुनस्र्थापित हुन सकेका छैनन्। दशैंलगायतका चाडपर्व नजिकिएसँगै उनीहरू थप पीरमा परेका छन्।  

छोराको रोजगारी गुम्यो, आफूले कुटेको गिट्टी बिक्री भएन
घटस्थापना आउन चार दिन बाँकी छ। दशैं मुखैमा आउन लाग्दा बजारमा चहलपहल पनि बढेको छ। तर वीरेन्द्रनगर–६ स्थित महिला प्रशिक्षण केन्द्रको अस्थाई शिविरमा बस्दै आएकी ४० वर्षीया लक्षिमा दमाइलाई भने पीर बढ्दै गएको छ। 

उनको घर छैन। बसपार्क नजिकै पालमा बस्छिन्। दशैं मनाउनलाई घर फर्किएकाहरूको भीड पनि बसपार्कमा ठूलै देखिन्छ। यो भीडले लक्षिमालाई भावुक बनाउँछ।

उनका श्रीमान छैनन्। भएको छोराको पनि आम्दानीमा भर पर्ने अवस्था छैन। 

७ जनाको परिवारलाई उनी र उनका जेठा छोराले दैनिक ज्याला मजदुरी गरेर जसोतसो पालेका छन्। छोरा २० वर्षका छन्। 
छोराले भाडामा अटो चलाउँथे, लक्षिमा गिट्टी कुटेर बेच्थिन्। तर, कोरोना संक्रमण बढेपछि छोराले अटो चलाउन पाएनन्। लक्षिमाले कुटेको गिट्टी पनि बिक्री भएको छैन। यस्तो हालतमा लक्षिमालाई दशैंले के छुओस्!

अरू त अरू घटस्थापनामा जमारा र जौ÷मकै किन्ने पैसा पनि नहुँदा आफू चिन्तित हुने गरेको लक्षिमाले बताइन्।

‘जमारा राख्ने जौ र मकै किन्ने पैसा नभएका बेला बालबच्चाले दशैंमा लुगा कपडा किन्न सताइरहेका छन्। सबैलाई दशैं आएको छ तर मलाई दशा आए जस्तो लागेको छ,’ लक्षिमाले भनिन्, ‘छोराले भाडामा अटो चलाएर दुई चार सय रुपैयाँ ल्याउँथ्यो, त्यो पनि छुट्यो, मैले अलिअलि गिट्टी कुटेकी थिएँ, बिक्री भएको छैन। केटाकेटीलाई के खुवाउने?के लगाउने।’

यो लक्षिमाको मात्र समस्या होइन, सुर्खेतका बाढी पीडित सबैको समस्या हो। 

पवित्रा नेपाली पनि दशैं लागेकामा खुशी हुन सकेकी छैनन्। ‘बिहान बेलुका के खाउँ भन्ने चिन्ता छ। काम गरेर पैसा भएपछि केटाकेटीलाई टीका टालो गर्नुपर्ला नत्र यस्तै हो,’ पवित्राले भनिन्, ‘दशैं नजिकिँदै छ हामीसँग न मनाउने खर्च छ, न त दशैं आएको हर्ष छ, एक गाँस खान पाए र एकटालो लाएर सुरक्षित बस्न पाए हाम्रा लागि त्यो दिन नै दशैं हुनेछ।’

शिविरमै श्रीमतीको निधन भएपछि एक्लै परेका नर बहादुर रोकायाको व्यथा पनि कम छैन। ह्विल चेयरको सहारामा बस्छन् उनी। १९ वर्षीय छोराले ज्याला मजदुरी गरेर ल्याएको पैसाले उनको दैनिकी चल्दै आएको छ।

‘हामीलाई त कहिलेको दशैंमा पो खुशी छ र? यही पालमा बसेर दशैं मनाउन थालेको पनि ७ वर्ष भयो,’ नर बहादुरले भने, ‘साँझ बिहान खानलाई त मुस्किल हुने हामीलाई यस्ता चाडपर्वले झनै पीडा थप्छ। गुमाएका आफन्त र पुरानो घरबारलाई सम्झाउँछ।’

लक्षिमा, पवित्रा र नर बहादुरलाई मात्र होइन, सुर्खेतको चौकुने, पञ्चपुरी, बराहताल, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशीका विभिन्न ठाउँमा अस्थायी बसोबास गरिरहेका बाढी पीडितहरूलाई दशैं आएको कुनै महसुस भएको छैन।

नगरपालिकाले दिएको पाँच किलो चामल बाहेक अरू कुनै पनि राहत नपाएको उनीहरूको गुनासो छ। सुर्खेतका विभिन्न शिविरमा ७ वर्षयता विस्थापितहरू कष्टकर जीवन बिताइरहेका छन्। 

यीमध्ये जग्गा या घर एक भएकालाई प्रदेश सरकारले पुर्नस्थापना गरेको छ भने घर र जग्गा दुवै नभएकाहरू भने पुर्नस्थापनाको पर्खाइमा छन्। वीरेन्द्रनगर नरपालिकामा तीन सय २२, पञ्चपुरी नगरपालिकामा दुई सय १४, बराहताल गाउँपालिकामा दुई सय ५९, चौकुनेमा ६, भेरीगंगामा एक सय ९८, गुर्भाकोटमा ३४ र लेकवेशीमा १२ परिवारहरु विभिन्न अस्थायी शिविरहरूमा बसिरहेका छन्। 

प्रदेश तथा स्थानीय सरकारले दशैं राहत प्याकेज नल्याउँदा बाढीपीडितहरू अप्ठारोमा परेका छन्।
 

असोज १७, २०७८ आइतबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।