एमालेको विधान महाधिवेशन : समूहगत छलफल सकियो

एमालेको विधान महाधिवेशन : समूहगत छलफल सकियो
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : नेकपा एमालेको विधान महाधिवेशनमा सल्लाहकार कमिटी र अनुशासन आयोगको प्रतिवेदन पेस हुँदैछ।

सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल र आयोगका अध्यक्ष अमृतकुमार बोहराले प्रतिवेदन पेस गर्ने महाधिवेशन व्यवस्थापन कमिटीका सदस्य विनोद श्रेष्ठले जानकारी दिए। 

प्रतिवेदन पेस भएपछि विभिन्न १० समूहमा भएको छलफलको निष्कर्ष प्रस्तुत हुने श्रेष्ठले बताए। ‘दुई प्रतिवेदन पेस भएपछि समूह नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन्,’श्रेष्ठले उकेरासँग भने,‘आज साढे साढे ५ बजेसम्म प्रस्तुत नभएका समूहको निष्कर्ष भोलि बिहान ८ बजेदेखि प्रस्तुत हुनेछन्।’

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रस्ताव र विधान संशोधन प्रस्तावमा भएको समूहगत छलफल सकिएको उनले जानकारी दिए। 

राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए। 

समूहगत छलफलका लागि प्रदेश नं १ समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्य, प्रदेश नं २ को सत्यनारायण मण्डल र रघुवीर महासेठ, बागमती प्रदेशको अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा, गण्डकी प्रदेशको पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गरेका छन्। 

यस्तै लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शङ्कर पोखरेल, कर्णाली प्रदेशको युवराज ज्ञवाली र यामलाल कँडेल, सुदूरपश्चिम प्रदेशको भीम रावल र लेखराज भट्ट, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएका समूहको छविलाल विश्वकर्मा र राजन भट्टराईले गरेका छन्। 

जनसङ्गठनको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझी, केन्द्रीय निकाय तथा केन्द्रीय विभागको अमृत बोहरा र पुष्प कँडेलले गरेका छन्। 

केन्द्रीय सदस्य भट्टराईका अनुसार अपराह्न २ बजेसम्म समूहगत छलफल सकिएपछि समूह नेताले आजै प्रतिवेदनमाथि सुझाव पेस गर्नुहुने छ। 

समूहले दिएका सुझावका आधारमा भोलि आइतबार राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान संशोधन प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिनेछन्। 

आइतबारसम्म सञ्चालन हुने विधान महाधिवेशनले पार्टी महाधिवेशनका लागि निर्वाचन आयोग गठन गर्ने व्यवस्थापन कमिटीका सदस्य श्रेष्ठले जानकारी दिए। एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २ देखि ४ गतेसम्म हुँदैछ। 

असोज १६, २०७८ शनिबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।