हरिवंश आचार्यको चरित्रले चरित्र अभिनेता बनायो
कुनै पनि चरित्रमा कलाकारको निजत्वको भूमिका अहम् रहन्छ। कलाकारले आफ्नो जीवनका निजी पक्षहरू मिसाएर नै चरित्रको निर्माण गर्छन्। तर चरित्र बनाउँछु भनेर सहजै बन्ने कुरा भने होइन।
कुनै पनि चरित्र आफूमा ल्याउन चरित्र नजिक जान नै गाह्रो पर्छ। त्यो चरित्रले तँ, जे होस् त्यहीँ ठिक छस्। मेरो छेउ नआइज भनेर हान्नसम्म लात हान्छ।
थालभरिको खाना सुरुमा जसरी एक छेउबाट खान थाल्छौँ हामी। त्यस्तै कलाकारले एक छेउबाट चरित्रलाई पनि फकाउँदै, मनाउँदै नजिक हुने हो। जब चरित्र कलाकारभित्र पस्छ। फेरि सहजै छाडेर जान मान्दैन। आफूले त्यसलाई बिस्तारै छुटाउँदै जानु पर्छ।
यो प्रक्रियाबाट बनेका चरित्रहरू मलाई चाहिँ विशिष्ट किसिमको लाग्छ। र, त्यसले जनमानसमा राम्रो प्रभाव देखाउँछ भन्ने मेरो मान्यता छ।
जनमानसमा प्रभाव पार्ने त्यस्ता चरित्रहरू सुरुमा बनाइए पनि अन्ततः ती आफैँ मानक बन्ने पनि रहेछन्। त्यस्ता चरित्रलाई जसले पहिलो पटक बोक्यो, त्यो कलाकार बाहेक अरूको अनुहारमा त्यो चरित्र गर्दा कस्तो होला भनेर कल्पना गर्न नै सकिँदैन। किनकि ती चरित्रले हामीलाई यसरी पक्डेर राख्छन् कि हामी उसले जे गर्छ, जे बोल्छ हाम्रो लागि त्यही सत्य जस्तो बन्न पुग्छ। हामी चरित्रसँगै बग्दै जान्छौँ। ती चरित्रको विकल्प नै हुँदैन। त्यस्ता मानक चरित्रलाई त्यही नै रहन दिनुपर्छ, तोडमोड गर्नु पनि हुँदैन। यदि तोडमोड गरियो भने त्यो जुन चरित्र हो, त्यो नभएर अरू नै कुनै नयाँ चरित्र बन्दिन सक्छ।
०००
नेपाली सिनेमा आउनुअघि म नाटकको विद्यार्थी थिएँ। त्यसभन्दा अघि जीवनमा ठ्याक्कै यही गर्ने भन्ने नै थिएन। तर पनि म त्यति बेलादेखि नै खुब टिभी हेर्थेँ। नाटक घर आउनु पूर्व नै ममा प्रस्तोतामा हुनुपर्ने गुणको केही अंश रहेछ भन्ने लाग्छ अहिले सम्झिँदा।
हरिवंश आचार्यका हरेक हर्कतले ममा रोमाञ्चकता पैदा गराउँथ्यो र रिस पनि उठाउँथ्यो, मदनकृष्णप्रति दया जागेर।
मलाई व्यक्तिगत रुपमा धेरै चरित्र मन पर्छ। राते काइँला होस् या हाकु काले, सिनिएर रङ्गकर्मी प्रकाश घिमिरेका चरित्र हुन् वा गोफ्ले, पवन मैनालीका चरित्रहरू हुन् या मुकुन्द श्रेष्ठको खलनायकत्व वा दीपक श्रेत्रीका चरित्र नै किन नहुन्। ती सबै चरित्रलाई विशुद्ध दर्शक भएर हेरिरहँदा त्यसको विकल्पमा यस्तो भइदिएको भए भन्ने नै दिमागमा आउँदैनथ्यो।
ती चरित्रहरू प्रभावशाली थिए र जनमानसमा पनि बस्न सफल भए। आज कलाकारकै आँखाले हेर्दा पनि ती चरित्रहरूको विकल्प दिमागमा आउँदैनन्। ती चरित्रहरू तीनै अभिनेताको लागि बनेका हुन्। उहाँहरू बाहेकले ती चरित्र गरेको भए अस्तित्वमा नै रहँदैनथे जस्तो चाहिँ लाग्छ बरु।
तर, मलाई व्यक्तिगत रूपमा हरिवंश आचार्यका चरित्रहरू ती सबै चरित्रभन्दा माथि लाग्छन्। म कलाकार बन्छु भन्ने मनको कुनै कुनामा नहुँदादेखि नै मलाई हरिवंश आचार्यका चरित्रले निकै तान्थ्यो।
मदनकृष्ण श्रेष्ठ सधैँ उज्यालो पक्षलाई बोक्नुहुन्थ्यो। हरिवंश आचार्य नकारात्मक देखिने पात्रमा देखिनुहुन्थ्यो बढी जसो। म अहिले सम्झन्छु, मदनकृष्ण श्रेष्ठको ठुलो भूमिका रहेछ हरिवंशका चरित्र बन्न। त्यसले मलाई मैले गर्ने काममा को-एक्टरको महत्त्वलाई बुझाएको रहेछ त्यति बेला नै भन्ने लाग्छ अहिले सम्झँदा।
समाजमा कालो-सेतो पक्ष हुन्छ नै। कालो देखिए न सेतो चिन्ने हो। एक कलाकारलाई सकारात्मकभन्दा बढी नकारात्मक मानिने चरित्रहरूले बढी आकर्षण गर्छ भन्ने लाग्छ। मलाई पनि हरिवंशका चरित्रले तान्नसम्म तान्थ्यो।
उहाँको त्यो चञ्चलेपन, हर्कत, काम, बोल्ने कुरा, लवाई खवाइ हरेक कुरामा विशिष्टता हुन्छ। उहाँले जे गर्दिए पनि जीवन्त देखिन्छ। त्यो उहाँको साधनाको फल रहेछ। मलाई आफ्नो कामप्रति साधना गर्न त्यो चरित्रले मनमा कतै केही बसाइदिइरहेको रहेछ। त्यसकै प्रेरणाले पनि मलाई नाटक घरमा उभिइरहँदा चरित्र अभिनेता बनिरहन आत्मबल दियो।
२०५६ सालतिरको कुरा हो। म काठमाडौँ आइसकेको थिएँ। त्यति बेला मह जोडीको ‘सुरबेसुर’ को खुब चर्चा थियो। मलाई सुरबेसुरको हरिवंशको चरित्र देखेर निकै रिस उठ्थ्यो। कति दुःख दिन सकेको त्यो चरित्रले अरूलाई भन्ने लागिरहन्थ्यो।
खासमा त्यो चरित्र मलाई मन परेको थियो। आफूलाई मन परेको चरित्रले अरूलाई दुःख दिएको देखेर रिस उठेको थियो। त्यसको कारण मदनकृष्ण श्रेष्ठले पाएको सास्ती हरिवंश आचार्यको चरित्रबाट थियो। त्यसले ममा गहिरो असर गर्यो। कलाकारको लागि सकारात्मक र नकारात्मक चरित्र भन्ने नै नहुने रहेछ भन्ने मैले त्यही सिनेमाबाट सिकेको रहेछु भन्ने काम गर्दै जाने क्रममा थाहा पाएँ।
हरिवंश आचार्यका हरेक हर्कतले ममा रोमाञ्चकता पैदा गराउँथ्यो र रिस पनि उठाउँथ्यो, मदनकृष्णप्रति दया जागेर। आज अभिनयको विद्यार्थीको हैसियतले मलाई के फिल हुन्छ भने हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको कम्बिनेसनले हरिवंशका ती चरित्रलाई विकास गरेको रहेछ। उहाँहरूको कामले चरित्र विकासका चरणगत कुराहरू पनि सिकाएको छ जस्तो लाग्छ।
एक कलाकारमा हुनुपर्ने महत्त्वपूर्ण गुण भनेको चरित्र चिन्न सक्नु हो। बिस्तारै म हरिवंशकै जस्तो नक्कल गरेर साथीभाइमा रमाइलो पनि गर्न थालेँ। तर त्यस बेला म नाटकसम्म आइपुगेको थिइनँ।
चरित्र बाँचिरहेको हो कि बचाउन खोजिएको हो। वा, कसैबाट प्रभावित भएर नक्कल गरेको हो भन्ने चेत ममा सुरबेसुरको दर्शक बनिसक्दा नै आइसकेको रहेछ भन्ने लाग्छ अहिले सम्झँदा।
जब म नाटकमा आएँ तब चरित्रहरूको बारेमा बुझ्न थालियो। मलाई हरिवंशको सुरबेसुरको चरित्रले चरित्र भनेको जीवन्त हर्नुपर्छ, दर्शकमा छाप छाड्न सक्ने हुनुपर्छ भन्ने लाग्थ्यो मनमा कताकता। त्यसले काम गर्यो र मेरा नाटकका चरित्रहरू दर्शकका मनमा बस्न सफल पनि बने।
चलचित्रमा आइसकेपछि मैले गरेका केही चरित्रहरूले मलाई चिनाए। जस्तै: भष्मे डन, फणीन्द्र प्रसादको चरित्र। रङ्गमञ्चमा जस्तै सिनेमामा पनि मेरा चरित्रले दर्शकको माया पाइरहेको छ। त्यसको कारण चरित्रको इमानदारिता नै हो। मैले यो कुरा पनि हरिवंश आचार्यबाट सिकेको हुँ।
चरित्रको सीमा निर्धारण गर्ने कला पनि हामीले मह जोडीको कामबाट सिक्न सक्छौँ जस्तो मलाई लाग्छ।
मलाई चरित्रको सुरुवाती चेतना हरिवंश आचार्यको सुरबेसुरबाट प्राप्त भएको थियो। बिस्तारै मममा चरित्रप्रतिको बुझाइ फराकिलो हुँदै जाँदा आफ्नै एक किसिमको तरिका पनि विकास भयो। तर मेरो तरिकाको जग तिनै हरिवंश आचार्यका चरित्रहरू हुन्। कालान्तरमा म अभिनेतामा मात्र सीमित नभई चरित्र अभिनेता बन्न सकेँ।
तर, नेपालमा चरित्र अभिनेता भएर बाँच्न भने समस्या छ। पैसा जति हिरोलाई पेल्छन् मेकरहरु। चरित्र अभिनेताहरूको जिम्मेवारी पनि बढी नै रहन्छ समाजमा, परिवारमा। दुःखको कुरा तिनै चरित्र अभिनेताहरू आर्थिक रूपले समस्या छन्। त्यही कारणले धेरै राम्रा कलाकार पलाएन हुनुपर्ने अवस्था आएको छ।
राम्रा चरित्र विना राम्रा सिनेमा बन्दैनन्। राम्रा सिनेमा बन्न राम्रा अभिनेता, चरित्र अभिनेता चाहिन्छ। अभिनेता बन्न पनि चरित्र अभिनेता नभई हुँदैन। त्यसैले चरित्रमा काम गर्ने कलाकर्मीलाई संरक्षण गरी नेपाली सिनेमा प्रवर्द्धनमा लाग्नुपर्छ जस्तो लाग्छ मलाई।
(‘मलाई मन पर्छ’ कोलमका लागि उकेराकर्मी इश्वरकुमार मैनालीले विपिन कार्कीसँग गरेको कुराकानीमा आधारित।)
असोज १६, २०७८ शनिबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।