राम्रो शिक्षा पाउने लोभमा छोराछोरीलाई जबरजस्ती बालगृहमा पठाउँछन् अभिभावक

राम्रो शिक्षा पाउने लोभमा छोराछोरीलाई जबरजस्ती बालगृहमा पठाउँछन् अभिभावक

सुर्खेत : गत पुसमा सुर्खेतको चौकुने गाउँपालिकाका १० वर्षीय एक बालकलाई लुम्बिनी पठाइयो। बौद्ध शिक्षा लिएर देश-विदेशमा पढ्न र घुम्न पाइने लोभले उनका घरपरिवारले लुम्बिनी पठाएका थिए। सामान्य सुनेको र फोनमा भनेकै भरमा बालकलाई परिवारले लुम्बिनी पुर्याएको थियो।

हिन्दु संस्कारका ती बालकलाई त्यहाँको वातावरण राम्रो लागेन। उनले त्यहाँको संस्कारमा दुई महिना पनि  हुर्कन नसकेपछि आमा-बुबालाई त्यहाँ बस्न नसक्ने भएकोले घरमा लैजान आग्रह गरे। तर बुबाआमाले भविष्यमा सुख पाइने भएकोले जस्तोसुकै दुःख काटेर भए पनि बस्न दबाब दिए।

जसोतसो फेरि दुई महिना कटाएका ती बालक अन्तत: भागेरै भए पनि गाउँ फर्किए।

यस्तै चौकुनेकै दुई जना बालिकालाई पनि उनका परिवारले राम्रो शिक्षा पाउने आशामा अध्ययनका लागि भन्दै बुटवलको गुम्बामा पठाए।

हिन्दु संस्कारकै उनीहरुलाई बौद्ध संस्कार (भिक्षु) बनाइयो। ६ महिनासम्म गुम्बामा कसेका उनीहरुलाई न विद्यालय पठाइयो, न त केही ज्ञान नै दिइयो। गुरुआमा र गुम्बाको काममा सीमित उनीहरुको अवस्थाबारे परिवारले थाहा पाएपछि घर फर्काइयो।

यसरी राम्रो शिक्षाको लोभमा विभिन्न बालगृहमा पठाइएका बालबालिका उनीहरु मात्रै होइनन्। कर्णालीका सायौं बालबालिका अवैध रुपमा बालगृहहरुमा गरेको विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको तथ्याङ्कले देखाएको छ।

अहिले पनि आमा-बुबा भएका र नभएका गरी ५७९ जना बालबालिकाले कर्णालीका १४ वटा बालगृहमा आश्रय लिइरहेको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

राम्रो शिक्षा पाउने लोभले अवैध रुपमा बालबालिकालाई बालगृहमा राख्नुको साटो स्थानीयस्तरमै आर्थिक र सामाजिक हिसाबले संरक्षण गर्नुपर्ने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री बताउँछन्।

‘पछिल्लो समय राम्रो शिक्षा पाउने लोभले आमा-बुबा भए पनि नभएको कागज बनाएर अवैध रुपमा  बालगृह वा होस्टेलमा राख्ने क्रम बढेको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘यसले बालबालिकाको बौद्धिक तथा शारीरिक विकासमा असर पुग्ने देखिन्छ। बालगृहमा राख्ने मनोविज्ञान हटाउन जरुरी छ।’ 

अनाथ बालबालिकाको संरक्षणका लागि स्थानीय तहसँग समन्वय गरी प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको उनले बताए।

राम्रो शिक्षा पाउने लोभमा कर्णालीका बालबालिकालाई अवैध ढङ्गबाट ठूला सहरहरूमा लैजाने प्रचलनले उनीहरुमा शारीरिक तथा मानसिक श्रम श्रोषण हुने गरेको प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले बताए।

देशभर सञ्चालित ४८९ बालगृहमा ११ हजार ३५० बालबालिकाले आश्रय लिइरहेको हिमाली नवीन समाज नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशक धनबहादुर लामाले बताए। उनका अनुसार तीमध्ये ८० प्रतिशतका आमा वा बाबु अभिभावक रहे पनि अवैध रुपमा राखिएका छन्।

परिवारबाटै ओसारपसारको जोखिम भएपछि बालबालिका थप असुरक्षित बनेको उनको भनाइ छ।

बेचबिखन तथा ओसारपसारको पनि जोखिम
कर्णालीका बालबालिकामा मानव बेचबिखन तथा ओसारपसारको जोखिम पनि उत्तिकै छ।

बालबालिकाको कमजोर पारिवारिक स्थितिको फाइदा उठाउँदै अनेक प्रलोभनमा पारी काठमाडौं, बुटवल, पोखरालगायतका सहरहरूमा लैजाने गरिएको छ। बालबालिकालाई यसरी गाउँबाट सहरसम्म लैजान गिरोहहरू नै संलग्न छन्। प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार चार वर्षको अवधिमा कर्णालीका २० जना बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेका छन्। आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ सम्म सुर्खेतका मात्रै ९ जना बालबालिका बेचबिखन तथा ओसारपसारमा परेका हुन्।

यस्तै, यो अवधिमा सल्यानमा चार, जुम्लामा तीन, दैलेखमा दुई र कालीकोट तथा रुकुम (पश्चिम)मा एक–एक जनाको बेचबिखन भएको छ। यो तथ्याङ्क प्रहरीमा खोजतलासका लागि अनुरोध गरिएकाहरूको मात्र हो। हराएका अधिकांश बालबालिकाको उजुरी प्रहरीसम्म पनि आइनै पुग्दैन।

असोज १६, २०७८ शनिबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।