विराटनगरमा कांग्रेस अधिवेशन : इतर समूहलाई उम्मेदवार छनोटमै सकस
इटहरी : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा असोज १६ गते अधिवेशन हुँदैछ। अधिवेशनमा सभापतिका लागि चार जना प्रत्यासी खडा भएका छन्।
सभापतिका लागि कांग्रेस संस्थापन पक्षबाट एक र इतर पक्षबाट तीन जनाले दाबेदारी प्रस्तुत गरेका छन्। संस्थापन पक्षबाट सन्तोष न्यौपाने सर्वसम्मत उम्मेदवार बन्ने भएका छन्। नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी तरुण दलका महानगर अध्यक्ष हुन्।
कांग्रेसमा पुस्तान्तरको मुद्दा सहित उनी चुनावी मैदानमा होमिएका छन्। युवालाई नेतृत्वमा अवसर दिनुपर्ने भन्दै क्षेत्रीय प्रतिनिधि समक्ष भोट माग्दै छन् न्यौपाने।
मोरङ कांग्रेसका पूर्वसभापति अमृत अर्याल निकट मानिएका उनी इतर पक्षमा धेरै उम्मेदवार भएकाले विजयी हुनेमा ढुक्क छन्।
मोरङ संस्थापन इतर पक्षको बलियो पकड भएको जिल्ला हो। त्यसमा पनि विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र मानिन्छ। डाक्टर शेखर कोइरालाको गृहनगर विराटनगरमा उनकै टिमबाट तीन जनाले उम्मेदवारी दिने बताएका छन्।
कोइराला निकट अरुण न्यौपाने, दीपक चापागाईँ र कृष्ण कार्कीले उम्मेदवारी दावी गरेका हुन्। तीनै जना एउटै टिमका प्रभावशाली युवा नेता हुन्।
अरुण न्यौपानेलाई बहालवाला सभापति तथा मेयर भीम पराजुलीको साथ छ। प्रदेश १ कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पनि उनलाई सघाएका छन्। कार्की र पराजुलीको जनधारको बलमा सभापति जित्नेमा विश्वस्त छन् न्यौपाने। कोइराला निकट मानिएका पराजुली र कार्कीले टिमको उम्मेदवार न्यौपाने नै भएको दावी गर्दै आएका छन्।
सोही टिमका अर्का उम्मेदवार हुन् दीपक चापागाईँ। कोइराला निकट उनले एक वर्षदेखि सभापतिको दाबेदारी प्रस्तुत गर्दै आएका छन्। सामाजिक क्षेत्रमा पनि सक्रिय चापागाईंले डा. कोइरालाको जस्तै 'एक व्यक्ति एक पद' को मुद्दा अगाडि सारेका छन्।
युवालाई कांग्रेसभित्र आकर्षित गर्ने कार्यक्रम ल्याएर उदार लोकतन्त्रको अभ्यास गरेर देखाउने उनले बताए। मोरङबाट प्रतिनिधित्व गर्ने डा. कोइराला, डा. मिनेन्द्र रिजाल र महेश आचार्य लगायत नेताहरूले उनलाई समर्थन गरेका छन्।
महानगरको सभापतिका चौथा आकांक्षी कृष्ण कार्की नेविसंघका पूर्वकेन्द्रीय सहमहामन्त्री हुन्। विराटनगरमा लोकप्रिय छवि बनाएका उनले आफू सभापतिको उम्मेदवार हुने बताएका छन्। कार्की विराटनगरमा बाबुराजा ओझा निकट छन्। ओझा कोइराला प्यानलका शक्तिशाली नेता भएका कारण उनको प्रभाव बलियो छ।
उता लामो समयदेखि मोरङमै खटिँदै आएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सहमतिको प्रयास अगाडि बढाएका छन्। केही दिनदेखि निरन्तर वार्ता र छलफल भइरहेकोले इतर पक्षबाट एक जना मात्र उम्मेदवार हुनसक्ने उनले बताए। कसले कसलाई छाड्ने भन्ने विषयमा यकिन नभएको तर मनोनयन दर्तापछि पनि ठोस निर्णय हुनसक्ने उनको भनाइ छ। भोलि कांग्रेसलाई आवश्यक पर्ने जिम्मेवारी सहितको नेतृत्व चयन हुनेमा आफू विश्वस्त भएको उनले बताए।
असोज १६, २०७८ शनिबार ०७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।