एमाले विधान महाधिवेशन : शङ्कर पोखरेल प्रतिवेदन पढ्दै गए, सहभागी घट्दै गए
काठमाडौँ : शुक्रवारबाट सुरु भएको एमाले विधान अधिवेशनमा नीति भन्दा नेता नै हाबी देखिए। कार्यक्रमस्थलको सजावटदेखि वक्ताहरूको चयनसम्ममा एमालेको मूलधारका नेताहरू नै छाएका थिए।
कार्यक्रम स्थलमा नेपालको कम्युनिस्ट आन्दोलनमा सम्झिने नेताहरूका तस्बिर ओझेलमा थिए। कार्यक्रमस्थल गोदावरी जाने बाटोदेखि कार्यक्रमस्थल अनि सभा हल सबैतिर पार्टी अध्यक्ष केपी शर्मा ओली हाबी देखिए।
कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा एमाले अध्यक्ष मनमोहन अधिकारी अनि एमालेजनले जननेता भनेर सम्बोधन गरिरहने मदन भण्डारी ओझेलमा परे ओलीको कट आउटका अगाडि।
१२ बजे सुरु हुने भनिएको कार्यक्रम अध्यक्ष ओलीकै कारण एक बजे पुग्यो। ओली पुग्नु अगाडि नै नेताहरू कार्यक्रम स्थलमा पुगेर उनको प्रतीक्षा गरिरहेका थिए। त्यसमा पूर्व माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल अलि बढी नै अधैर्य देखिएका थिए।
सनराइज भवनको कम्पाउन्डमा ओली सवार गाडी प्रवेश भएसँगै पहिलो स्वागत उनै बादलले गरेका थिए। कार्यकर्ताको स्वागत थाप्दै ओली र बादल सँगसँगै कार्यक्रम हल भित्र प्रवेश गरे।
ओली कार्यक्रम हलमा पुगे लगत्तै एमालेको प्रथम विधान महाधिवेशनको औपचारिक सुरुवात भयो। ओली नेतृत्वको सरकार रहेसम्म असहयोग गर्दै आएका तर माधव नेपालले नयाँ पार्टी खोलेपछि एमालेमै फर्किएका १० नेताका लागि मञ्चको अगाडिको सिट राखिएन। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अगाडि रोहमै बसिन्।
भीम रावल लगायतका नेता सुरुमा अगाडिको कुर्सीमा बसेका थिए। तर उनी केही बेरमै पछाडिको रोहमा पुगिसकेका थिए। घनश्याम भुसाल लगायतकाहरु पनि पछाडि नै थिए। उद्घाटनका क्रममा ओली जतातता गए १० भाइमध्ये केही उतै-उतै पछि लागेको दृश्य देखिन्थ्यो। तर ओलीले उनीहरूलाई त्यति रेस्पोन्स गरेको देखिएन।
०००
उद्घाटनपछि पार्टीका उपमहासचिव विष्णु पौडेलले बाधा अड्काउ फुकाउने सम्बन्धी प्रस्ताव पेस गरे। प्रस्ताव पारित भएपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न थाले। प्रतिवेदन पढ्दै जाँदा बेलाबेलामा उनी खोक्न थाले। केही मिनेटको वाचनपछि उनले सकेनन्।
उनले वाचन रोकेर रुघाखोकी लागेकाले बोल्न असहज भयो भने। उनले वाचन गर्न नसक्दा उपाध्यक्ष वा महासचिवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी पाउनुपर्ने थियो। तर उनले सिधै शङ्कर पोख्रेललाई बाँकी राजनीतिक प्रतिवेदन प्रस्तुतिका लागि अनुरोध गरे। ओलीको आग्रहपछि पोखरेल माइक अगाडि उभिएर प्रतिवेदन प्रस्तुत गर्न थाले।
ओली केही समय मञ्चको कुर्सीमा गएर बसे। ओलीले सम्बोधन गर्दादेखि नै उनको श्रीमती भने मूल हलमा बसेकी थिइनन्।
उनी मूल मञ्चको अगाडिपट्टिको बार्दलीमा गएर कार्यक्रम हलको अवलोकन गरिरहेकी थिइन्।
ओली कुर्सीमा फर्किए पनि धेरै समय कुर्सीमा बस्न सकेनन्। केही समय बसेपछि उनी आराम गर्ने भन्दै मञ्च बाहिरको अर्को कोठामा गए।
ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहँदा मूल हलमा नेता, कार्यकर्ता खचाखच थिए। तर जब ओली बाहिरिए हल भित्रका सिट बिस्तारै खाली हुँदै गए।
हल भित्रको भन्दा पनि हल बाहिरको माहौल तातिँदै गएको थियो। कार्यक्रममा पुगेकाहरू कार्यक्रम हलबाट बाहिर निस्किएर समूह समूहमा फोटो खिच्न व्यस्त देखिन्थे। समूह–समूहमा विभाजित भएर उनीहरू अब पार्टीको अवस्था के होला भनेर समीक्षा गरिरहेका देखिन्थे।
करिब ४ बजे खाजा खाने समयका लागि कार्यक्रम स्थगित गरियो। त्यसपछि शीर्ष नेताहरू पनि हल बाहिर निस्किए।
बाहिर निस्कँदै गरेका नेता गोकर्ण विष्टलाई एक कार्यकर्ताले प्रश्न गरे,– के हुन्छ ? विष्टले उनलाई हाँस्दै जवाफ फर्काए,–खै के हो ? के हो ?'
मूल हलमा बस्दा निकै सिरियस देखिएका विष्टले उकेरासँगको कुराकानीमा एमालेलाई विचार र सङ्गठनात्मक क्षेत्रमा समृद्ध गर्दै देश र जनताको हितका लागि अगाडि बढ्नु आवश्यक रहेको बताए। उनले भने,‘त्यही सन्दर्भमा हामीले हाम्रा प्रयत्नहरूलाई केन्द्रित गरिरहेका छौँ।’
नेता विष्णु पौडेल र सुवास नेम्वाङ पनि खाजा खान हल बाहिर गफिरहेको देखिन्थे। नेता लेखराज भट्ट पृथ्वी सुब्बा गुरुङसँग गफिँदै हल बाहिर निस्किए।
शीर्ष नेता बाहिर आएपछि महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताहरू तस्बिर लिने हानथापमा लागे। नेताहरू पनि मक्ख थिए तस्बिर लिने हानथाप देखेर।
माओवादीसँगको एकीकरण ठिक कि बेठिक ?
पार्टी अध्यक्ष ओलीको प्रतिवेदनमा केको आधारमा एमाले र माओवादी केन्द्रको एकीकरण भएको थियो र किन एकीकरण असफल भयो भन्ने विश्लेषण उल्लेखै छ। प्रतिवेदनमा दोष पुष्पकमल दाहाल प्रचण्डको अति महत्त्वाकाङ्क्षाले पाएको छ। वस्तुगत समीक्षा छैन।
हल बाहिर केही कार्यकर्ताहरू माओवादीसँग एकीकरण र एकीकरण विघटनको समीक्षा गरिरहेका थिए। गुजमुज्ज आफ्नो समूह बनाएर छलफल गरिरहेको एक समूहका महाधिवेशन प्रतिनिधिहरू माओवादी अध्यक्ष ‘प्रचण्ड’को नाम लिँदै भन्दै थिए, ‘बन साङ्लोले घर साङ्लो खाए जस्तै भयो। प्रचण्डसँग एकीकरण गरेर के हुन्थ्यो!’
माधव नेपाल लगायतकाहरु नयाँ पार्टीमा गए पनि त्यसले एमालेलाई कुनै प्रभाव नपार्ने शीर्ष नेताहरूले दाबी गरे पनि महाधिवेशन प्रतिनिधि भने चिन्तित देखिन्थे। करिब ४५ वर्षका कर्णाली प्रदेशका प्रतिनिधि भन्दै थिए,‘कर्णालीमा त हामीलाई जित्न गाह्रो छ।’
करिब ४५ मिनेट खाजा खाने समय सकिएपछि कार्यक्रम सुरु भयो। महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरिरहँदा हलका आधाभन्दा बढी कुर्सी खाली भइसकेका थिए।
उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो। शुक्रवार तीन वटै प्रतिवेदन प्रस्तुत भए। शनिवार ती प्रतिवेदनमाथि समूहगत छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले हलबाटै जानकारी दिए।
एमाले विधान महाधिवेशन
असोज १५, २०७८ शुक्रबार २२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।