एमालेले पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने 

एमालेले पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने 

काठमाडौँ : नेकपा एमालेले पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव गरेको छ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव गरेका हुन्।

महाधिवेशनमा पेस गरिएको विधानमा दुई उपमहासचिवको व्यवस्थालाई हटाउँदै एक सचिव थप गर्ने प्रस्ताव गरिएको छ। एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ सचिवको विधान संशोधन प्रस्तावमा व्यवस्था गरिएको छ।

यस्तै प्रदेश कमिटीका अध्यक्ष केन्द्रीय कमिटीको पदेन सदस्य रहने प्रस्ताव गरिएको छ। निर्वाचितको १० प्रतिशत र अन्य पार्टीबाट एमालेमा समाहित हुनेलाई १० प्रतिशतसम्म केन्द्रीय कमिटीमा मनोनयन गर्ने व्यवस्था गरिएको छ।

पार्टी अध्यक्षको नेतृत्वमा सचिवालय र महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय रहने प्रस्ताव विधानमा गरिएको छ। यसैगरी अनुशासन आयोग, निर्वाचन आयोग र लेखा परीक्षण आयोगमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र १२ सदस्य रहने व्यवस्था गरिएको छ।

असोज १५, २०७८ शुक्रबार १९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।