ओली ब्राण्डिङ महाधिवेशन : प्रशंसामा डकुमेन्ट्रीदेखि पानीको बोतलमा अभिवादनको तस्बिरसम्म
ललितपुर : गोदावरीमा भइरहेको नेकपा एमालेको विधान महाधिवेशनस्थलको संरचनादेखि सामाग्रीसम्ममा पार्टी अध्यक्ष केपी शर्मा ओली हाबी देखिए। कार्यक्रमको हल बाहिर केही स्थानमा पार्टीका पूर्व महासचिव मदन भण्डारीले स्थान पाएका छन्। संस्थापक महासचिव पुष्पलाल श्रेष्ठदेखि प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीसम्म गायब छन् महाधिवेशनको मुख्य मञ्चमा।
पार्टीले कार्यक्रमहरूमा मञ्चमै आफ्ना नेताहरूको तस्बिर राख्दै आएको थियो। विधान महाधिवेशनको मुख्य मञ्चमा पार्टीका पुराना नेताहरूको तस्बिर गायब थियो। भण्डारीको जनताको बहुदलीय जनवादको एकल स्वामित्वको दाबी गर्ने गरेको छ एमालेले। तर कार्यक्रम स्थलको सजावट हेर्दा भण्डारीको स्थानमा ओलीवाद हाबी देखिए।
कार्यक्रम स्थल बाहिर होस् या भित्र ओलीलाई ब्रान्डिङ गर्ने प्रयास कतै छाडिएको छैन। कार्यक्रमको हल बाहिर विभिन्न स्थानमा ओलीको कट आउट राखिएको छ। कार्यक्रमको उद्घाटन सत्र पछि ओली गाथाले भरिएको भिडियो डकुमेन्ट्री प्रदर्शन भएको थियो। सो भिडियोलाई मुख्य प्रचार सामाग्री बनाउन महाधिवेशनमा सहभागी सबैको मोबाइलमा पठाउने कार्यक्रमका सञ्चालक प्रदीप ज्ञवालीले कार्यक्रम हलमै जानकारी गराएका थिए।
कार्यक्रममा सहभागीहरूलाई दिने पानीको बोतलसमेत छाडेनन् कार्यक्रम आयोजकले ओलीलाई ब्रान्डिङ गर्न।
असोज १५, २०७८ शुक्रबार १६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।